३१ बैशाख, बाँपीझ्याला, दोलखा । दोलखाका स्थानीय सरकारले आगामी आर्थिक वर्षमा बागमती प्रदेश सरकारबाट सवारी साधन कर वापत २१ करोड ६९ लाख भन्दा बढी बजेट पाउने भएका छन् ।
आगामी आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका ९ वटा स्थानीय तहले प्रदेश सरकारबाट सवारी साधन कर बाँडफाँडबाट कुल २१ करोड ६९ लाख ८१ हजार ८ सय ९ रुपैँया पाउने भएका हुन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष स्थानीय तहले सवारी साधन करवापत पाउने अनुमानित बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेश सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्राप्त सिफारिसका आधारमा प्रदेशबाट संकलन हुने सवारी साधन करको ४० प्रतिशतको हिस्सा स्थानीय सरकारलाई हस्तान्तरण गर्ने बताएको छ ।
दोलखाको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा बागमती प्रदेश सरकारबाट सवैभन्दा बढी ४ करोड ७ लाख ९८ हजार १ सय ३८ रुपैँया पाउनेछ भने मेलुङ गाउँपालिकाले सवैभन्दा कम १ करोड ७५ लाख ५७ हजार १ सय ५८ रुपैँया पाउनेछ । यस्तै विगु गाउँपालिकाले ३ करोड १२ लाख ३१ हजार ४ सय ३८ रुपैँया, गौरीशंकर गाउँपालिकाले २ करोड ६८ लाख ११ हजार ४ सय ९९ रुपैँया, शैलुङले २ करोड ३२ लाख ८१ हजार ६ सय ३९ रुपैँया तथा जिरी नगरपालिकाले २ करोड ७ लाख ८७ हजार ६ सय ७१ रुपैँया पाउनेछ ।
यसैगरी कालिञ्चोक गाउँपालिकाले १ करोड ९९ लाख ९८ हजार ३ सय ११ रुपैँया, वैतेश्वरले १ करोड ८४ लाख ४५ हजार र तामाकोशीले १ करोड ८० लाख ७० हजार ९ सय १० रुपैँया पाउनेछ । बागमती प्रदेश सरकारबाट संकलन हुने करको ४० प्रतिशत हिस्सा स्थानीय तहले पाउनेछन् भने ६० प्रतिशत हिस्सा प्रदेश सरकार आफैंले राख्ने गरेको छ ।