सामाजिक दायरामा म छोरा,
टोलबासीले नाता गाँसेको पुत्र,
जन्मजात ‘बा’ भन्न पाइएन,
आँखाले पहिचान दिलायो,
जिब्रो चलायमान भएन,
काखमा लडीबुडी गर्न पाइन,
दस्तावेजमा नाता कहलियो,
स्नेह र ममता दृष्टिमै अलमलियो,
बामे सरुन्जेल अनभिज्ञ,
माथिल्ला र तल्लामा विभाजित,
न्वारान अौपचारिकतामा
सन्तानको उपमा,
कसैले अपुताली सम्झे,
कसैले ज्यूँदै टुहुरा भने,
अलिक मन हुनेले ‘बिचरा…’भने,
केही मुटु दुख्नेले ‘बवूरो’सम्झे,
अंशभागीहरूले अाँखा तरे,
वंशजहरू अलमलमा परे ।
जन्मजात मानव पुत्र,
क्षणिक वासनामा रंगिए
जुनी मानवमा तरंगिए
रासलीला भित्रको सूत्र,
ममता स्नेहबाट वञ्चित अबोध।
भन्नेले भन्दाहुन् पिठ्यूँ पश्चिममा,
के फूइँ लाको भनेर,
तर थाहा छ,
खुल्ला अाकाशलाई,
दिशाहिन् बतासलाई,
समाजको इतिहासलाई,
तर ती उछृङ्खल स्खलन,
चोट ती अन्तस्करणमा,
शक्ति खर्च वीजारोपणमा,
नहोस् पीडा जायजन्म पश्चात्,
बुझेनन् ती अवसरले ।
गल्ती अाक्रमणको पनि छ,
गल्ती समर्पणको पनि,
लालाबालालाई दोष किन ?
यिनी त महान छ बा,
कहिल्यै अपवाद ठानेन,
कहिल्यै बर्बाद मानेन,
मात्र यति हो,
रगतको छिटा नपरे नि,
‘तँ छोरा होस्’
भनेर भन्न जानेन ।
तिमी स्वर्गमा छौ,
तिम्रो अात्माले शान्ति पावस्,
तिमीलाई यी शब्दबाट ,
श्रद्धासुमन !!
बालकृष्ण श्रेष्ठ “पासा”