आज यहाँ विशेष चर्चा मच्छिन्द्रनाथको गर्ने जमर्को छ । काठमाडौं उपत्यका भन्नासाथ सबैलाई थाहा भएको कुरा हो उहिलेको तीन शहर कान्तिपुर, भक्तपुर र ललितपुर । मच्छिन्द्रनाथको जात्रा यी तीन शहरमा मात्रै हुन्छ भनेर विभिन्न मिडिया र पत्रकारहरूले सम्प्रेषण गरेको देखिंदा अति नै तपाई हामी संस्कृती प्रेमीलाई दुःख लाग्छ ।
केही समाचारमा ललितपुरको रातो मच्छिन्द्रनाथको मूर्ति र रथयात्रा अन्यत्र हुनुहुँदैन, राख्न मिल्दैन भनेर किंवदन्ती नै जोडेर राखेको देखिन्छ । जसको सन्दर्भ यसैमा जोडेका छौँ । प्राचिन शहर दोलखामा नेपाल सम्वत ५८० नै दोलखामा रातो मच्छिन्द्रनाथको रथयात्रा चलि आएको छर्लङ्गै छ तथापि यहाँ संस्कृती अर्थात रातो मच्छिन्द्रनाथको बारेमा कलम चलाउने महानुभावहरुले प्राचिन शहर दोलखामा रातो मच्छिन्द्रनाथको जात्रा हुन्छ भनेर लेख्नलाई कञ्जुस्याइँ गरेको पाइन्छ । यसमा हाम्रो ध्यान केन्द्रीत भएको छ ।
अब लागौँ उपत्यकामा :
जात्रैजात्राको उपत्यका काठमाडौंमा हरेक पर्व र जात्रैपिच्छे रोचक किंवदन्ती र कथाहरु छन् । यिनै कथाहरूमा आधारित दुई मूर्ति र प्रतिमूर्ति स्थापनाका कारण अहिले उपत्यकाका दुई शहरबीच विवाद सुरु भएको छ । यो विवादले एकअर्कामा वैमनस्यता शुरु हुने त हौइन ? प्रश्न त छ, तर उत्तर यसैमा खोज्न जरुरी छ ।
कीर्तिपुर नगरपालिकाको उमामहेश्वर फेदी प्यागंःथामा सुखी गँछे समाजले याकःमिसाको मुर्ति र रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति स्थापना गरेपछि उपत्यकाका दुई नगरबीच साँस्कृतिक किचलो हुने खतरा बढेको देखिन्छ ।
प्यंगःथामा मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकः मिसाको मूर्ति बनाएर प्रतिस्थापना गरेको विरोधमा ह्यगृब भैरबनाथ तथा ३२ पानेजु संघले लिखित असहमति जनाउँदै प्रसाद नै नलैजाने घोषणा गरेका हुन् । कीर्तिपुरका सुखी गःछें समाजले १५ मंसिर, २०७९ मा मूर्ति स्थापना गरेको थियो ।
मूर्ति स्थापना गर्न परम्परा विपरीत भएकोले ह्यगृब भैरबनाथ तथा ३२ पानेजु संघले विरोध गर्दै आएका छन् । विरोधको बाबजुद पनि सुखी गःछें समाजले मूर्ति नहटाएपछि प्रसाद नलैजाने घोषणा गरेको पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले बताए ।
मूर्ति स्थापनाको विवादले सयौ वर्ष पुरानो प्रसाद पु¥याउने परम्परा अन्त हुने खतरा देखिएको भन्दै संस्कृतिप्रेमीहरू अहिले चिन्तित भएका छन् ।
सांस्कृतिक रूपमा मात्रै नभई उपत्यकाकै दुई नगरहरू बीच असमञ्जस्य पैदा हुन लागेकामा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी चिन्तित छन् । “जति प्रयास गर्दा पनि कुरो मिलेको छैन, दुई सांस्कृतिक नगरीबीच फाटो ल्याउने काम नहोस्,” उनी भन्छन् ।
सुखी गँःछे समाजलाई मूर्ति हटाउन औपचारिक आग्रह गरे पनि नमानेको उनले बताए । गँःछे समाजलाई कीर्तिपुर नगरपालिकाले मूर्ति हटाउन निर्देशन दिएपनि समाजले पानेजु संघकै सल्लाहमा याकःमिसा र मच्छिन्द्रनाथको प्रतिमूर्ति बनाएकाले नहटाउने अडान राख्दै आएको मेयर नकर्मीले बताए ।
मूर्ति स्थापना गर्ने कीर्तिपुरको सुखी गँःछे प्रसाद ल्याउने परम्पराको निरन्तरताको लागि हदैसम्म लचकता अपनाउने तयारी गरेको छ । पानेजु संघले प्रसाद नलैजाने घोषणा गरेपछि परम्परा कुनै पनि हालतमा नरोक्न आफूहरुले प्रयास गरिरहेका गँःछेका महासचिव नारायण महर्जनको भनाइ अनुसार उनीहरूले सयौं वर्ष पहिर्लेदेखि चलाइआएको परम्परा, संस्कृति रोक्ने पक्षमा उनीहरू देखिंदैन बरु पानेजु संघले उनीहरूसँग वार्ता गरेर निष्कर्षमा पुगेर प्रसाद लाने विषयमा महर्जन भन्छन्, “याकः मिसा र रातो मच्छिन्द्रनाथको मूर्ति हटाउने, वा अन्य केही विकल्पबारे हामी सोच्छौं तर त्यसको लागि वार्ता हुनुपर्छ, धम्कीको भाषा प्रयोग गर्ने होइन ।”
महर्जनका अनुसार प्यांगंःथामा मूर्ति स्थापना गर्दा पुरातत्व विभाग, नगरपालिका र पानेजु संघसँग पनि छलफल गरिएको थियो ।
“मूर्ति राख्ने बेला तामाझाम गर्दा कसैले विरोध गरेन, अहिले आएर विरोध हुँदैछ । अब त्यत्रो बाजागाजा, जात्रा जसरी स्थापना भएको मूर्ति तुरुन्तै निकाल भन्दा हाम्रो चैं इज्जत के हुन्छ ? कीर्तिपुरबासीको पनि कदर हुुनपरेन ?” महर्जनले भने । मच्छिन्द्र नाथको जात्रा, सम्पदाको संरक्षण र प्रसाद प्रचलनको लागि सुखी गँःछे समाज लचक हुन तयार भएको भन्दै नगरपालिकाहरूले उक्त वातावरण मिलाउनुपर्ने बताए ।
पानेजु संघले कीर्तिपुरमा निर्माण भएको प्रतिमूर्ति कतैपनि राख्न नहुने बताउँदै आएको छ । ३२ पानेजु संघको अध्यक्ष यज्ञरत्न शाक्य भन्छन् “मच्छिन्द्रनाथको मूर्ति ललितपुरमा बाहेक अन्य स्थानमा स्थापना हुनै सक्दैन, मच्छिन्द्रनाथको मूर्ति दुईवटा बनाउनै मिल्दैन भने याकःमिसाको मूर्ति नै हुदैन, यो माग सम्वोधन नभएसम्म हामी कीर्तिपुरमा प्रसाद नै लैजाँदैनौं”, मूर्ति स्थापना गरेलगत्तै ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघले १९ मंसिरमा असहमति जनाउँदै विज्ञप्ति निकालेको थियो ।
त्यसैगरी संघले २१ मंसिरमा गुठी संस्थानको कार्यालयमा ध्यानाकर्षण पत्र दिएको थियो । विरोधका बेवास्ता गरेको भन्दै ३ पुसमा अर्को विज्ञप्ति निकाल्दै संघले मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति नहटेसम्म प्रसाद ग्रहण नगर्ने घोषणा गरेको थियो । त्यसपछि संघले विरोधलाई निरन्तरता दिइरहेको छ ।
सोमबार पनि पानेजु संघले मूर्ति नहटेकोले प्रसाद लैजान नसक्ने भन्दै विज्ञप्ति जारी गरेको छ । “प्यांगःथामा स्थित पौराणिक शिलाको उत्तरपट्टीको भित्तामा दक्षिण फर्काएर प्रतिस्थापना गरिएको मािछन्द्रनाथ करुणामयको प्रतिमूर्ति र याकःमिसाको मूर्ति उक्त स्थानबाट नहटाएसम्म प्रसाद ग्रहण गराउने कार्य हुँदैन”, शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पानेजु संघको लिखित सहमति विना नै हजारौं वर्षदेखि कुनै मूर्ति नभएको मात्र मच्छिन्द्रनाथको प्रतिनिधिपात्र जलपानेजुले प्रत्येक वर्ष थतिटोलदेखि नाङ्गो खुट्टाले हिंडेर याकःमिसालाई प्रसाद ग्रहण गराउनुपर्ने जीवित परम्पराको विरुद्ध मूर्ति स्थापना भएपछि प्रसाद नलैजाने संघका अध्यक्ष यज्ञरत्न शाक्यले बताए ।
इतिहासमा देखिए अनुसार करिब १६०० वर्ष अघिदेखि कुनै मूर्ति नभएको ऐतिहासिक तथा धार्मिक स्थलमा करुणामय, मािछन्द्रनाथको प्रतिमूर्ति र शान्ति स्वरुपा कन्या याकःमिसाको मूर्ति स्थापनाले जनतामा भ्रम सिर्जना हुनेछ भन्ने एकथरीको भनाइ रहेको छ ।
मािछन्द्रनाथको जात्रा अगाडि मंगलबजारको सोह्रखुट्टे पाटीमा बसी साइत हेरेपछि निस्केको उपयुक्त साइतको ४ दिन अगाडि करुणामयको प्रतिनिधि स्वरूप जलः पानेजुले नाङ्गो खुट्टाले हिँडेर कीर्तिपुरमा रहेको याकःमिसालाई प्रसाद ग्रहण गराउनुपर्ने जीवित परम्परा रही आएको छ । रातो मच्छिन्द्रनाथको प्रत्येक वर्ष पाटनमा गरिने जात्रा र १२ बर्षको १ पटक बुंगमतीबाट पाटनमा लामो रथ यात्रा हुने गरेको छ ।
रथयात्रासँग जोडिएकी याकः मिसा
एकताका नेपाल देशमा खडेरी परेर सबैतिर हाहाकार भएको थियो । मानव प्राणी लगायत जनावर, बालीनाली सखाप भएर महामारी रोगले व्याप्त हुँदा के गर्ने कसो गर्ने कसैको जोड चलेको थिएन । खोलानाला, पँधेरो, कुवामा पानी नहुँदा वनजङ्गल समेत सुकेर भयावह स्थिति भएको देखेपछि प्रजापालक भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक आचार्य बन्धुदत्त, ललितपुरका किसान रथचक्र ज्यापू र टौदहका कर्कोटक नागराज मिलेर सल्लाह गरे ।
देशमा भएको त्यो दुर्दशा हटाउन अनेकां उपाय सोचिरहेको अवस्थामा भारतको आसामस्थित कामरुप कामाख्या पीठमा रहेको मच्छिन्द्रनाथलाई गुहार मागे मात्र त्यो दर्दनाक अवस्थाबाट पार लाग्ने कुरा थाहा पाए । यसको लागि ती चारैजनाबाट सरसल्लाह भई मािछन्द्रनाथलाई ल्याएर ललितपुरको बुँगमतीमा गहिरो खाल्डो खनेर त्यसमा पूजाआजा गरेर सो देवीलाई सँगै स्थापना गरेका थिए ।
मच्छिन्द्रनाथको स्थापनापछि काठमाडौं उपत्यकामा भारीवर्षा सुरु भयो । बुँगमतीमा खनिएको खाल्डोबाट पनि मूल फुटेर पानी निस्कन थाले । त्यही गहिरो खाल्डोबाट पानी निस्कने ठाउँलाई कुवा भनिन थालियो । नेपाल भाषामा कुवालाई ‘बुंगा’ भन्ने गरिन्छ । यसै ‘बुंगा’ शब्दबाट नै त्यो ठाउँको नाम ‘बुंगमती’ भनिएको हुनसक्छ ।
त्यसपछि खेतमा धानका पोटिला बाला लहलहाउन थाले । वनजङ्गल पनि हरियाली छाउन थाल्यो । बाह्र वर्षदेखिको अघोर अनिकाल सकियो, सहकालको नयाँ युग सुरु भयो । रातो मच्छिन्द्रनाथलाई आसामबाट लिएर आएपछि भएको परिवर्तनकै कारणले सारा मानवजन हर्षविभोर भए । यस्तो चमत्कारी देवीको सम्मानमा काठमाडौं, भक्तपुर, कीर्तिपुर र ललितपुरले आ–आफ्नो नाममा रथयात्रा चलाए ।
यस्तै दुर्दशा काठमाडौं उपत्यका पछि पूर्वी नेपाल अर्थात् दोलखा रामेछापतिर पनि भएको थियो पछि सोही कुरा थाहा पाएर पाटनकै तान्त्रिक गुरु बन्धुदत्तकै सल्लाहमा दोलखामा पनि बुंगमतीको मच्छिन्द्रनाथ सँग पूकार प्रार्थना गरेर सोही देवीको प्रतिमूर्ति बनाइ लगेर दोलखाको डोकुलुङा (ड्वाल्ङा) मा स्थापना गरेपछि सो अनिकाल हटेको कुरा इतिहासमा उल्लेख छ । यसैले उपत्यकामा जस्तै दोलखामा पनि मच्छिन्द्रनाथको रथयात्रा वर्षेनी भैरहेको छ । जुन हालसम्म निरन्तर संचालनमा रहेको छ ।
यहाँनेर एउटा कुरा थप्नै जरुरी लाग्यो । काठमाडौं उपत्यकांको इतिहास लेखेर विभिन्न किंवदन्ती र लोकोक्ति बताउने इतिहासविदहरूले दोलखाको प्रसङ्ग नै नउठाउनुको कारण बुझ्न कठिन भएको छ । किनकी यो मच्छिन्द्रनाथको जात्रा दोलखामा पनि विशेष रूपले मनाइन्छ । अझ भन्नुपर्दा दोलखाको जात्रामा चलेको रीतिरिवाज सायद अन्यत्र नहोला पनि । यस अर्थमा इतिहास कोर्नेहरूले दोलखालाई ओझेलमा राख्न खोज्नुमा के रहस्य छ ? बुझ्न बाँकी नै छ ।
अब उपत्यकातिर फर्केर हेरौँ,
लगनखेलदेखि जाउलाखेलसम्मको यात्रालाई कीर्तिपुरको रथयात्रा भनिन्छ, जुन कीर्तिपुरकी याकःमिसाको नाममा समर्पित छ । काठमाडौं उपत्यकाको तीनवटै शहरमा मच्छिन्द्रनाथको रथयात्रा भएपनि भक्तपुरमा त्यसरी रथ तैयार गरेर तान्ने चलन रहेको पाइँदैन । तर ललितपुर र कान्तिपुरमा भने पाङ्ग्रा सहितको रथ बनाएर डोरीले तान्ने गरेको चलन अद्यपि छँदैछ । तर त्यति बेला एक जनाको नाममा भने जात्रा चलाइएको थिएन ।
यसबारे एउटा तथ्यपरक किंवदन्ती के छ त ? हेरौँ ।
उनी थिए टौदहका कर्कोटक नागराज, जो मच्छिन्द्रनाथ लिन सँगसँगै आसाम गएका थिए । जसले बाटोमा ठाउँ–ठाउँ बाढी आउँदा पुल बनेर बाँकीलाई नदी तारेका थिए । उनी बिना मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यका ल्याउन असम्भव जस्तै थियो ।
यही बुझेर नै आचार्य बन्धुदत्तले उनलाई टोलीमा सामेल गराएका थिए । यति हुँदाहुँदै बाँकी तीन जनाको नाममा जात्रा चलाउने तर आफ्नो भागमा केही नपरेको देखेर कर्कोटक नागराज रूष्ट थिए । उनले त जसोतसो आफूलाई सम्हाले तर नागरानीले आफ्नो क्रोध दबाएर राख्न सकिनन् । उनी जात्रा चलिरहेकै बेला मान्छेको रूप धारण गरेर मािछन्द्रनाथलाई लिन लगनखेलको थति टोल पुगिन् ।
रथबाट नरिवल खसालेको भोलिपल्ट नागरानीले आफ्नो शक्तिको बलमा मािछन्द्रनाथको रथ तानेर टौदह लैजान खोजिन् । नागरानीको बललाई चुनौती दिने ताकत त्यहाँ कसैसँग थिएन । त्यसपछि आचार्य बन्धुदत्तले आफ्नो तान्त्रिक शक्तिको बलमा रथलाई गुड्नबाट रोके । नागरानीले जति तान्दा पनि बन्धुदत्तको तन्त्रमा बाािधएको रथका पांग्राहरू डेग चलेनन् । केही सीप नलागेपछि नागरानी बन्धुदत्तको आँखा छलेर मच्छिन्द्रनाथका बत्तीस लक्षणमध्ये एउटा लक्षण लिएर कुलेलम ठोकिन् ।
नागरानी त्यहाँबाट सिधै टौदह गएर अलप हुन चाहन्थिन् । त्यसो भइदिएको भए उनलाई खोजेर मच्छिन्द्रनाथको एउटा लक्षण फिर्ता ल्याउन असम्भव हुन्थ्यो । त्यही भएर आचार्य बन्धुदत्तले फेरि तन्त्र गरेर नागरानीलाई टौदह होइन, कीर्तिपुरको डाँडो चढाइदिए । नागरानी हस्याङफस्याङ गर्दै कीर्तिपुरको प्यंगःथामा पुगिन् । आचार्य बन्धुदत्त पनि पछिपछि गए । उनले नागरानीसँग अनुनय विनय गरे, “हे नागरानी, एउटा लक्षण भएन भने पनि मच्छिन्द्रनाथको प्रताप पूरा हुँदैन । त्यसैले तपाईं यो फिर्ता गर्दिनू” उनले भने । नागरानी मान्दै मानिनन् ।
बन्धुदत्तले फेरि बिन्ती गर्दै भने,– “हे नागरानी, तपाईं त्यो लक्षण फिर्ता गर्न तयार हुनुभयो भने म बाचा गर्छु, हरेक वर्ष लगनखेलबाट जावलाखेलसम्मको यात्रा कीर्तिपुरको नाममा हुनेछ ”। उनले अर्को बाचा पनि गरे, “हरेक वर्ष आजकै दिन मच्छिन्द्रनाथको फूल र प्रसाद लिएर म यहाँ प्यंगःथाँमा आउँछु र कुनै कुमारी कन्यालाई प्रसाद चढाउँछु ।” तर त्यो के लक्षण हो भन्ने कुरा खुलाइएको छैन ।
यति दुई वटा बाचा गरेपछि बल्ल नागरानी मच्छिन्द्रनाथको एउटा लक्षण फिर्ता गर्न राजी भइन् । यसरी उपत्यकाको दुई शहरमा मच्छिन्द्रनाथकोे जात्रा भैरहेको छ । काठमाडौंको सेतो मच्छिन्द्र नाथ र ललितपुरको रातो मच्छिन्द्रनाथ हो भने प्राचीन शहर दोलखामा रातो मच्छिन्द्रनाथको रथयात्रा भैरहेको छ ।
आजसम्म पनि लगनखेलको थति टोलदेखि जावलाखेलसम्मको रथयात्रालाई कीर्तिपुरको जात्राका रूपमा लिइन्छ । यो बेला कीर्तिपुर, पांगा, नगाउँ, सतुंगल, बलम्बु, मच्छेगाउँ र थानकोट गरी सात गाउँका मानिस धीमे बाजा बजाउँदै रथ तान्न आउने चलन छ ।
अब अन्तमा, संस्कृति, सम्पदा, परम्परा र संस्कार सबैको साझा हो । यसलाई परम्पराकै रूपमा साझेदारी बनाएर निरन्तर गर्नु राम्रो हो । परम्परागत शैलीलाई परिमार्जन गरेर एकल नीति अपनाउन खोज्नु त्यत्ति उपयुक्त नहोला । आर्थिक दृष्टिकोणले भरिभराउ गर्न नसके पनि सामाजिक सद्भाव राखेर मेलमिलाप मार्गबाट परम्परा जोगाउन तर्पm सबैको ध्यान जावस् । अस्तु !
लेख संयोजन : बालकृष्ण श्रेष्ठ, “पासा”