Search

दोलखाको वज्रतारा (धर) मूर्ति हराएको २८ वर्षपछि फिर्ता आउने सन्देश

दोलखाको वज्रतारा (धर) मूर्ति हराएको २८ वर्षपछि फिर्ता आउने सन्देश

बालकृष्ण श्रेष्ठ, दोलखा ।
२३ बैशाख, बाँपीझ्याला, दोलखा । २५६७ औँ बुद्ध जयन्ती मनाइ रहँदा विक्रम सम्वत् २०५२ साल भदौ १४ गते अपत्यारिलो र रहस्यमय तरिकाले हराएको दोलखाको ऐतिहासिक वज्रतारा (धर) बुद्ध मूर्ति फिर्ता आउने कुराले सम्पूर्ण दोलखालीहरू उत्साहित भएका छन् । दोलखाको अधिकांश शुभचिन्तकले कोर्छेँको राजाको मूर्ति भनेर पहिचान भएपनि केही बुद्धिजीवीले भने यसलाई वज्रतारा भन्ने गरेका छन् भने केहीले वज्रधर भन्ने गर्दछन् । यो मूर्ति कसरी हारायो ? कसले चोर्यो भन्ने कुरा रहस्यको गर्भमै लुकेको छ । कति पक्राउ परे कति छुटे भन्ने चर्चा पहिले नै भैसकेको छ ।

जे जस्तो अवस्थामा भएपनि वास्तविक पहिचान खुलिसकेपछि हङकङमा रहेको सो मूर्तिलाई सम्पदा शोधकर्ता युके निवासी डा.एमिलिन स्मिथको विशेष पहलमा सरकारी तवरबाट नै स्वीकृति दिइ हङकङ स्थित नेपाली राजदूतावासलाई हस्तान्तरण गरेको खबर तस्बिर सहित आउँदा सबैमा खुसी छाउनु स्वभाविक बनेको छ । यसको प्रचार प्रसार राष्ट्रिय पत्रपत्रिका कान्तीपुर दैनिक, न्यूज २४ टेलिभिजनले समेत समाचार दिइसकेको छ ।

दोलखाबाट चोरिएको ‘बज्रधारा’ हङकङबाट घर फिर्दै, कान्तिपुर समाचार दाता
काठमाडौँ, सन् ९० को दशकमा दोलखाको कोर्छँें स्थित एक गुठी परिवारबाट चोरिएको सोह्रौं शताब्दीको ‘बज्रधारा’ हङकङ स्थित नेपाली महावाणिज्यदूत कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
गत वर्ष भदौमा यो सम्पदा हङकङस्थित अर्न्तराष्ट्रिय आर्ट डिलर रोस्सी एन्ड रोस्सीसँग संकलनमा रहेको भनेर सम्पदा खोजको अभियान ‘लस्ट आर्टस् अफ नेपाल’ले सूचना बाहिर ल्याएको थियो ।

हङकङस्थित महावाणिज्यदूत उदयबहादुर रानालाई सम्पदा हस्तान्तरण गरिएको थियो । नक्छे ंस्थित श्रेष्ठ परिवारको गुठीबाट चोरिएको सम्पदा हङकङबाट छिट्टै नेपाल फर्काइने महावाणिज्यदूतावास कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो सम्पदा फर्काउने पहल गर्दै आएकी प्राध्यापक डा.एमिलिन स्मिथले सम्पदाको ‘उत्पति पहिचान’मा प्रामाणिकता भेटिएपछि संकलकले स्वेच्छिक रूपमा नेपाल फर्काउन चाहेको बताइन् । सम्पदा हस्तान्तरण समारोहमा डा.स्मिथ पनि सहभागी थिइन् ।)

यो समाचार हो २०८० साल बैशाख २२ गतेको कान्तिपुरमा सम्प्रेषण भएको छ । समाचारको शीर्षकमा जे भनिएको छ त्यो अलिक नमिल्दो भएपनि हराएर माया मारिसकेको मूर्ति आफ्नै निवासमा फर्केर आउन लागेकोमा प्रसन्नता प्रकट हुनु स्वभाविकै हो । यसलाई फर्काउनमा जसले जे जति प्रयास गरेको छ त्यो व्यक्तिप्रति असंख्य नमन छ । विशेष गरी ‘लस्ट आर्टस् अफ नेपाल’ समूह प्रति हार्दिक आभार छ । जसले यो मूर्तिको बारेमा लेखिएको लेख र यही मूर्तिको तस्बिर बाँपिझ्याला अनलाइनमा समाचार देखेर तुरुन्तै मसँग मेसेन्जर मार्फत सम्पर्क गरेर यसको वास्तविक पहिचान खुल्ने आधारहरू खोजतलास गर्ने काम गरेको थियो । सो समूहले यो हराएको मूर्तिसँग मिल्दोजुल्दो तस्बिर पठाएर धेरै कुराको आदान प्रदान भएको थियो ।

पहिले त सो मूर्तिसँग त्यो समूहले पठाएको तस्बिरमा केही केही फरक देखिएकोले त्यत्ति पत्यार लागेको थिएन । जब उक्त समूहसँग आबद्ध भएको व्यक्तिले यसमा मुकुट नभएको र पछाडिको चाँदतोडा समेत नभएको अनि यताउता ओसारपसार गर्दा गर्धन केही अगाडि झुकेको हुनसक्ने सम्भाव्यता जताए पछि र हातको नाडीको भागमा कुच्चिएको ठाउँ पनि हुबहु मिलेको भन्ने जानकारी भएपछि त्यस मूर्तिको खुलेको स्पष्ट चिनिने तस्बिर चाहियो भनेपछि यस्तै तस्बिरहरू संकलन गरेर राख्ने भाइ अनिलचन्द्रसँग सम्पर्क गराएपछि यो कुरा गहनरूपले अगाडि बढेको थियो ।

अनिल चन्द्र श्रेष्ठसँग ‘लस्ट आर्ट अफ नेपाल’ समूहले सम्पर्क गरेर उनीहरू सँग भएको तस्बिर अनिलले पनि भेट्टाएर तुरुन्तै फेसबुकमा ‘हराएको बज्रधर’ (राजा) को मूर्ति “अनि यो पनि ‘दोलखासम्पदा’ ” शीर्षकमा सेप्टेम्बर १६, २०२२ मा पोष्ट गरेको थियो । जसमा “यो मूर्ति खासमा बज्रधरको मूर्ति हो (तर स्थानीयहरू राजाको मूर्ति भन्थे).. ” लेखिएको थियो । यसपछि अनिलचन्द्र र म बीचमा यस बारेमा कुराकानी पनि भएको थियो । नामको बारेमा र हराउनुको सम्भाव्यता बारे कुराकानी पनि भएको थियो । सो मूर्ति पत्ता लगाउन अभ्यास गर्ने ‘लष्टआर्टस् अफ नेपाल’ समूहले यसको वास्तविक पहिचानको लागि निकै जोडतोडका साथ लागिपर्दा सो मूर्ति लण्डन/ हङकङमा रहेका हराएका मूर्ति सोधखोज संकलन कर्ताले हङकङमा रहेको र यो ऐतिहासिक र पुरातात्विक मान्यता प्राप्त मूर्ति लिलाम हुन लागेको छ । यसलाई लिलाम हुन नदिन नेपाल सरकारको स्थानीय निकायमा निवेदन दिएर पुरातत्व, संस्कृति मन्त्रालय र राष्ट्रिय अभिलेखालय समेतलाई पत्राचार गर्न आवश्यक देखिएको कुरा सोही लस्टआर्टस् अफ नेपाल सँग सम्बद्ध व्यक्तिले बाँपीझ्याला मिडियाका सम्पादक उपेन्द्र प्रधान र मलाई नेपाल सम्वत् ११४३ को ¥यालीको बेलामा बसन्तपुरमा सूचना दिएको हो ।

यसबारेमा तुरुन्तै भी.न.पा–२ वडा कार्यपालिका दोलखाका वडा अध्यक्षलाई उपेन्द्र प्रधानले फोन गरेर जिज्ञासा राख्दा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइ पुरातत्व र संस्कृति मन्त्रालयमा पत्राचार गर्न अनुरोध गरेका थियौँ । सो मूर्तिमा पहिले कस्तो अवस्थामा थियो र कहाँकहाँ के के भएको चिन्ह (संकेत) खुलाउनका लागि भने अनिलचन्द्र श्रेष्ठ लागि परेको हो । पछि सो कागजपत्र तैयार गर्न वडाध्यक्ष लगायत सोही घरका (मूर्ति राखिएको घरधनी मध्ये एक) कृष्णकुमार श्रेष्ठ उहाँका छोरा सुनिल श्रेष्ठ समेत भएर कागजपत्र तैयार गराएको भन्ने जानकारी पाएका थियौँ ।

यसपछि उनै ‘लस्टआर्ट अफ नेपाल’ समूहले कोर्छे टोलको कृष्णकुमार श्रेष्ठका छोरी अनिसा श्रेष्ठसँग सम्पर्क भएर यही र यस्तै खालका अन्य हराएका मूर्तिहरू खोजीनीति गरी फिर्ता पठाउने कार्यमा लागेकी यूके निवासी डा.इमिलेन स्मिथसँग सम्पर्कमा आएपछि यो खुसीको कुरा मिलेको हो ।

कसको हो त मूर्ति ? बज्रधर बुद्ध ? बज्रधारी इन्द्र वा राजा इन्द्रसिंह देव ? या बज्र तारा ?
सो मूर्तिको इतिहासको बारेमा धेरै पत्रपत्रिकामा कसैले बज्रधर बुद्धको रूपमा लिए पनि कसैले इन्द्र सिंह देव राजाको रूपमा लिए पनि इतिहास लेखकद्वय धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठले सो मूर्तिलाई इन्द्रको मूर्तिको रूपमा लिइएको अभिलेख दोलखाको ऐतिहासिक रूपरेखाको ऐतिहासिक सामग्रीको (२) भागमा खएको पृष्ठ ८२ मा देखाइएको छ । यो तर्कलाई हेर्दा देवताका राजा इन्द्रको स्वरूपमा बनाइएको हो कि भन्ने आंकलन गर्न सकिन्छ । किनभने देवताका राजा इन्द्रको हतियार पनि बज्र नै हो । मुकुट पनि लगाएको हुन्छ र पछाडिको भागमा चाँद तोडा पनि हुन्छ ।
बुद्धको मूर्तिमा प्रायशः श्रीपेच वा मुकुट हुँदैन । सिद्वार्थ गौतमले दर्बारको सारा सुखसयल र परिवार जन नै त्यागेर हिँड्दा त्यो मुकुट एउटा बोकेर जाने कुरा सम्भव देखिंदैन । त्यसैले यो मूर्ति राजा इन्द्रसिंह देवको नभैकन देवराज इन्द्रको हुनसक्ने प्रबल सम्भावना छ । मूर्ति निर्माण गर्नु एउटा कलकारिताको नमूना हो । बौद्ध धर्मालम्बीहरूले बुद्धका अनेकौं अवतारको विश्लेषण गरेर चित्रण गरेका छन् । हरेक आकृतिलाई बेग्लाबेग्लै नामांकरण गरिए पनि बुद्ध भनेको बुद्ध नै हो भगवान होइन । ज्ञानका प्रतिमूर्ति हुन् । जुन ज्ञान हासिल गर्न कठोर तपस्या र एकचित्त ध्यान चाहिन्छ । मूर्तिको नाम बदले पनि ज्ञानको मार्ग बदल्नु हुन्न भन्ने कुरालाई ख्याल गर्नुपर्छ ।

फेरि यसमा लेखिएकोमिति नेपाल सम्वत् ५९० भनिएको छ । तर विक्रम सम्वत् २०३४–३५ सालताका सो मूर्ति सफा गर्ने क्रममा त्यसको भित्री भागमा एउटा महत्वपूर्ण कागजपत्र फेला परेको थियो जसको अन्तिम पानामा नेपाल सम्वत् ०००१ कछलाथ्व ५ शुभम् लेखिएको थियो । जुनकुरा म स्वयम्ले पढेको थिएँ । त्यतिबेला दोलखाको इतिहास प्रति त्यत्ति ज्ञान र ध्यान नभएकोले खासै रुचि जागेन जतिबेला म ७ कक्षामा पढ्दै थिएँ । त्यो कागजपत्रमा नेपाल भाषाको प्रचलित रञ्जना लिपिमा लेखिएकोले सो अङ्क र केही अक्षर पढ्न सकिएको थियो ।

यसको अर्थ के हो भने त्यो मूर्ति अहिलेको हिसाबले ११४२ वर्ष पुरानो हो । इतिहास लेखकद्वय धनबज्र बज्रचार्य र टेकबहादुर श्रेष्ठले लेख्नुभएको अभिलेख कुनबाट निकालिएको हो भन्ने कुरा पनि जान्न पाए दोलखाको इतिहासले अझै टेवा पाउने थियो कि ? त्यो ००१ नेपाल सम्वतको हिसाब गर्दा विक्रम सम्वत ९३६ को कुरा आउँछ । जतिबेला नेपालको राष्ट्रिय विभूति नेपाल सम्वतका जन्मदाता शंखधर साख्वाले ऋणमा डुबेको र ऋण तिर्न नसकेर सारा किसानहरूले मालिकको काम गरेर पेट कस्नु परेको अवस्थालाई देखेर सबैको ऋण चुक्ता गरेकोले सो दिनको स्मरण गर्न नेपाल सम्वत् शुरुआत गरेको थियो । हो त्यही बेला दोलखामा पनि कुनै त्यस्तो समाज स्धारक र प्रजा प्रसन्न भएको अवसर पारेर त्यतिबेलाको नेपालको कुनै राजाले उपहार दिइएको हो या दोलखाकै कुनै वंशीय अधिपतिले बनाउन लगाएका हुन् भन्ने कुरा खोजको विषय हो । यो मूर्ति हराएको घरमा पछिमात्र सारिएको । किनकि निकै वर्ष पहिले सो मूर्ति तत्कालीन गाउँ पञ्चायतका वडा नं. ६ का सदस्य नारायण बहादुर श्रेष्ठ (हाम्रो पूmपाजू) को घर (थातकोर्छेँ) को कोठामा राखिएको थियो जस्तो लाग्छ ।

यो मूर्ति विक्रम सम्वत् २०५२ साल भदौ १४ गते हराएको भन्ने प्रमाणित भएको थियो । त्यतिबेला इन्द्र जात्रा शुरुआत बेला थियो । जतिबेला टोल टोलमा भैरवको मूर्ति (हाथ्वँ) प्रदर्शन गरिन्थ्यो गरिन्छ पनि । भाद्र शुक्ल द्वादशीको दिन लिङ्गो ठड्याउने र भैरवको मूर्ति बाहिर खुल्ला ठाउँमा राखेर प्रदर्शन गर्ने चलन अनुसार सो मूर्तिलाई पनि कोर्छेँको घरको पिंढीमा राखेर प्रदशृन गरिन्थ्यो पछि ओसार्न उकाल्न कठिन भएकोले झ्यालमै राखेर प्रदर्शन गर्ने गरिन्थ्यो । ठीक त्यहीबेला यो मूर्ति रहस्यमय तरिकाले हराएको थियो ।

हङकङमा रहेको सो मूर्तिको वास्तविक पहिचान कसरी भयो त ?
हङकङमा रहेको रोसी एण्ड रोसी ग्यालरीमा यो मूर्ति रहेको कुरा नेपालमा रहेको ‘लस्ट आर्टस् अफ नेपाल’ समूहले यो कुरा बाहिर ल्याएको थियो । त्यो भन्दा पहिले यो मूर्तिको बारेमा इतिहासलाई कोट्याउँदै बाँपिझ्याला डटकममा यसको पुरानो तस्बिर सहितको लेख सम्प्रेषण भएको थियो । त्यही तस्बिरको माध्यमबाट सो समूहसँग आबद्ध भएपछि सो मूर्तिको वास्तविकताको बाटो खोज्दै अनिलचन्द्र श्रेष्ठले कृष्णकुमार श्रेष्ठ र उहाँका छोरा विनोद श्रेष्ठ, सुनिल र हाल अष्ट्रेलियामा रहेकी छोरी अनिसा श्रेष्ठसँग सम्पर्क गरेर फिर्ता ल्याउनका लागि पहल गरिएको थियो सोही क्रममा उनीहरूले ‘लस्ट आर्टस् अफ नेपाल’ सँग सम्पर्क बढाउँदै जाँदा स्कटल्याण्डकी नागरिक डा.एमिलिन स्मिथसँग सोही समूहबाट सम्पर्कमा आएपछि सो मूर्ति फेला पर्ने सम्भावना झन् तीव्र हुँदै गयो ।

डा.स्मिथ यस्तै चोरी अपराधहरूको अनुसन्धानमा पि.एच.डि गरेकी हुन् । यसै सन्दर्भमा अनिसा श्रेष्ठले उनीसँग सम्पर्क गरेर हङकङमा रहेको मूर्तिको तस्बिर र दोलखामा रहेको तस्बिर हुबहु मिलाउनका लागि हङकङमा रहेका श्यामकुमार श्रेष्ठ र भेषमणि श्रेष्ठसँग सहयोग मागेर तस्बिर मगाइ प्रमाण जुटाए पछि यो मूर्ति नेपाल ल्याउने पहल सफलतामा पुगेको हो भनेर सुनिल श्रेष्ठले हामीलाई बताएको छ ।

संयोजन : बालकृष्ण श्रेष्ठ
जन्मघरः दोलखा, हाल जोरपाटी काठमाडौं

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!