१८ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । शुक्रबारबाट बहुप्रतिक्षित फिल्म ‘नाईं नभन्नु ल ६’ देशभर प्रदर्शनमा आएको छ। वैशाख १ गतेबाट प्रदर्शनमा आउने भनिएतापनि विविध कारणबस फिल्म वैशाख १५ बाट प्रदर्शनमा आएको हो। निर्माण टिमले रिलिजको दिन नै विशेष शो राखेको थियो। जहाँ विभिन्न कलाकर्मीसँगै मिडियाकर्मीहरु विशेष शो हेर्न गएका थिए।
विशेष शो हेरिसकेपछि आँचलले आफ्नो चलचित्र हेरेर आफै भावुक बनेको बताएकी छिन्। मिडियाकर्मीहरुसँगको कुराकानीमा आफ्नो दृश्यले आफैलाई भावुक बनाएको आँचलले बताइन्। ‘सबै कथा थाहा भैसकेको थियो’ आँचलले भनिन् ‘समग्रमा फिल्म कस्तो बनेको छ भन्ने पनि थाहा थियो। भावुक भइएला जस्तो लागेको थिएन। तर केही केही सिनहरुले निकै भावुक बनायो। बेलाबेला उदिपजी पनि भावुक हुनुभएको थियो। जसले गर्दा म पनि भावुक भएँ। रुन चाहिँ रोइन मेरा आँखामा हल्का टिलपिल आँसु चाहिँ आएको थियो।’
साथै आँचलले आफ्ना श्रीमान उदिपलाई वास्तविक समिक्षक ठान्ने बताइन्। उनले भनिन् , ‘मेरा हरेक कामहरुलाई नियालेर उहाँले जस्ताको तस्तै प्रतिक्रिया दिनुहुन्छ। जसले गर्दा म एकदम ढुक्क हुन्छु। मेरो नराम्रो कामलाई नराम्रो नै भन्नू हुन्छ। राम्रो कामलाई तारिफ गर्नुहुन्छ।’
यता उदिपले पनि आँचल र आशिर्वादको निकै तारिफ गरे। फिल्ममा आँचल गर्भवती बनेको सिन देख्दा एकदम भावुक र माया लागेको उदिपले बताए। फिल्ममा आँचल र आशिर्वादको केमिस्ट्री गजब रहेको भन्दै आँचल र आशीर्वादकै अगाडि एकदम तारिफ गरे। आशीर्वादको काम नयाँ कलाकारको जस्तो नभएर निखारिएको कलाकारको जस्तो रहेको उदिपको प्रतिक्रिया थियो।
जब फिल्ममा आँचलको गर्भवती वाला सिन आयो तब आफुले पनि भविस्यमा यस्तै अवस्था देख्न पाउने कल्पना गरेको उदिपले बताए। अरु दृश्यले भावुक बनाए पनि गर्भवती भएर हस्पिटल गएको सिनले चाहिँ बेसी मन छोएको उदिपले बताए। कल्पना गरेको भन्दा निकै राम्रो काम आँचल र आशिर्वादले गरेको उनको भनाइ छ।
यता यसै चलचित्रबाट डेव्यू गरेका नव नायक आशिर्वाद क्षेत्रीले पनि आफ्नो फिल्म हेरेर आफै भावुक भएको बताए। फिल्ममा भएको रितु र शिशिरको भुमिकाले आफ्नो मन छोएको उनले बताए। सबैबाट राम्रो प्रतिक्रिया पाउँदा आफू एकदम खुशी भएको आशिर्वाद बताउँछन्।
फिल्म हेरिसपछि केही मिडियाकर्मीले छोटो समीक्षा समेत फेसवुकमा सार्वजनिक गरेका छन्। फिल्म पत्रकार मनिष अन्जानले चाहिँ ‘नाई नभन्नू ल ६’ हेरेपछि बाल कलाकार एल्भिना खड्काको निकै तारिफ गरेका छन्।
उनले लेखेका छन् – ‘यी नानी (एभेलिना खड्का) अबको ‘स्टार’ बाल कलाकार हुन् । उनको अभिनय प्रशंसनीय छ । फिल्ममा रुवाउने जिम्मा नै उनको काँधमा छ । केही दृश्यमा उनीबाट आँखा हट्दैन । विशेषगरी क्लाइमेक्समा । क्लाइमेक्स उनले नै धानेकी छन् । फिल्म हेरेपछि आँखाबाट नहट्ने पात्र हुन् उनी । म फ्यान भएँ । उनकै लागि भए पनि एकपटक फिल्म हेर्दा हुन्छ । उनको अभिनयले नै पैसा असुल गर्छ ।’
सबैबाट राम्रो प्रशंसा पाउँदा मख्ख छन् आँचल र आशिर्वाद। यि दुईले पहिलोपटक एकसाथ स्क्रिन सेअर गरेका हुन्। फिल्मलाई विकासराज आचार्यले निर्देशन गरेका हुन्। फिल्ममा आँचल शर्मा र नव नायक आशिर्वाद क्षेत्री प्रमुख भुमिकामा रहेका छन् ।अर्की लोकप्रिय नायिका केकी अधिकारी पनि फिल्ममा विशेष भुमिकामा अटाएकी छिन्।
दर्शकले फिल्मामा आँचलसँगै केकीलाई पनि संगै देख्न सकिन्छ। पर्दामा एकैसाथ देखिसकेका आँचल र केकीलाई ‘झिंगेदाउ’मा दर्शकले निकै रुचाएका थिए। आशिर्वादले यसै फिल्मबाट डेव्यु गरेका हुन् । उनले फिल्ममा अग्नि परीक्षा दिएका छन्। चकलेटी लुक्सका आशिर्वादले फिल्ममा कस्तो काम गरेका छन् भनेर विस्तृत थाहा पाउन त पूरा फिल्म हेर्नैपर्छ।
फिल्ममामा नायिका आँचल शर्मा र नव नायक आशीर्वाद क्षेत्रीको प्रेम अनि रोमान्स रहेको छ। फिल्ममा विकाश आचार्यको निर्माण र निर्देशन रहेको छ। बाल्यप्रेमसंगै युवापुस्ताको प्रेम कथालाई फिल्ममा समावेश गरिएको छ।
फिल्मको कथा एवम् पटकथा लेखनमा भने निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले सहकार्य गरेका छन् ।फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ। फिल्ममा वसन्त सापकोटा र भुपेन्द्र रायमाझीको संगीत रहेको छ।
आँचल, आशिर्वाद र केकीका अलवा फिल्ममा अनुभव रेग्मी, योगिशा, अथर्व र एल्बिना लगायतको समेत प्रमुख भुमिका रहेको छ।