१६ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । नेवाः देय् दबू केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर आव्हान गरिएको भेला सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यको अध्यक्षतामा उक्त भेलाको आयोजना भएको हो । काठमाडौका बुद्धिजीवीहरू तथा प्रतिष्ठित व्यापारीवर्गलाई समेटेर गरिएको उक्त भेलाले भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन उक्त भेलाको आव्हान गरिएको हो ।
काठमाडौंको स्वयम्भू नजिकै रहेको चमतीमा नेवाः देय् दबूको केन्द्रिय कार्यालय भवन बनाउन जग्गा लिइ सकेको भएपनि आर्थिक संयोजनमा ढिलाइ हुन गएको हो । अब विभिन्न व्यापारी, उद्योगपति र प्रतिष्ठित व्यक्तिहरूको सहयोगमा सो भवन निर्माण यथाशीघ्र हुन गइरहेको खबर प्राप्त भएको छ । उक्त भवन निर्माणको लागि हालसम्म रू. ३०,००,०००÷–(तीस लाख रूपैयाँ) रकम जम्मा हुने लगभग निश्चित भएको छ । यसरी क्षेत्रपाटी प्यालेसमा सम्पन्न उक्त भेलामा नेवाः जातीबाट नेपाल उद्योग बाणीज्य महासघमा निर्वाचित व्यक्तीत्वहरुलाई बधाई तथा सगुन दिनुका साथै नेवारी परम्परा अनुसार रात्री भोजको समेत आयोजना गरिएको थियो ।
नेवाः देय् दबूको कार्यालय केही महिना पहिले काठमाडौंको डल्लु क्षेत्रमा भाडामा सञ्चालन भैरहेको थियो भने हाल काठमाडौं टेकू भन्सार क्षेत्र (नेशनल ट्रेडिङ लिमिटेड) क्षेत्रमा सञ्चालन भैरहेको छ । नेवाः देय् दबू नेवारहरूको राष्ट्रिय संगठन भएकोले सबैले अन्तरहृदयदेखि नै नेवारी सद्भाव व्यक्त गरेर एक मन एक तन भएर हातेमालो गरौँ । यो भवन हामी सबैको लागि अपरिहार्य भएकोले यसलाई यथाशीघ्र निर्माण गर्ने कार्यमा अग्रसर बनौं भनी केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यले आग्रह सहित अनुरोध गर्नु भएको छ ।