बालकृष्ण ‘पासा’
यो एउटा ज्वलन्त भनाइ हो शिक्षा बिना संसार अन्धकार हुन्छ । अहिलेको युगमा शिक्षा भएन भने कुनै कामै छैन, कम से कम दस्तखत मात्रै भएपनि हरेकले जान्ने प्रयास गरेको धेरै ठाउँमा देख्न पाइन्छ । हिजो आज पहिलेको जस्तो ‘पढी गुनी के काम हलो जोती खायो माम’ भन्ने कहावतको कुनै अर्थ रहँदैन । हलो पनि जोत्ने कहाँ ? शहर वरिपरि जग्गाको अभाव पहाडतिर गए सिँचाइको र मलको अभाव, कृषि व्यवसाय प्रचारमुखी छ । कार्यान्वयन औँलामा पनि गन्न पुग्दैन । यर्थात तितो सत्य यही छ ।
भन्न त भन्छन् जोस जाँगर चलाए यही माटोमा सून फलाउन सकिन्छ भनेर आधुनिक कृषि प्रणालीको ढ्वाङ् फुकाइन्छ । प्रविधिको प्रचार गरिन्छ तर उर्वरयुक्त भुमिमा बडेमानको भवन, एपार्टमेन्ट, बैंकुइट, पार्टी प्यालेस ठडिएको छ । जग्गावालाले भाडा पाई हालिन्छ भनेर १०÷२० वर्षको लागि सम्झौता गरि दिन्छन् । पहिले नै नोटका खात देखेपछि पछिको कुराको कल्पना सम्म गर्न चाहँदैनन् ।
जब ती भाडामा बस्ने या कुनै कम्पनी खोल्नेहरू मध्ये कसैले कुस्त कमाएर झोला बोकेर टाप कस्छन् अनि सम्झौता पत्र च्यापेर कानुन र न्यायको ढोका ढक्ढकयाउन थाल्छन् । कोही कम्पनी नै डुबेको परिपत्र तैयार गरेर उही जग्गा धनीलाई गुनासो पोख्न थाल्छन् र ठाउँ छोडेर पाखा लाग्छन् । अनि जग्गावालालाई दोहोरो सास्ती खेप्न बाध्य हुन्छन् । कारण त्यही जग्गामा पुन बालीनाली लगाउँ दोहोरो खर्चको मार । सम्झौता गर्नेहरूले गरेकै काम थालौँ भने एक त आपूmलाई त्यसबारेमा कुनै ज्ञान हुँदैन दोस्रो पहिले लिएको भाडाको पैसा घर खर्च यताउता गर्दै सकिसकेको हुन्छ ।
जग्गाभाडामा दिएको छँदैछ, धान, मकै, आलु तरकारी बाली खेती गरेर के मरिमेट्नु र भन्ने लागेर नोटको बिट्टामा रमाउनेहरूले अर्गाानक तरकारीको स्वाद भूलेर चिकेन्, तन्दुरी, स्याण्डविच, बर्गर तिर लोभिन थाल्छन् । त्यही अन्नबाली र तरकारी खेती गर्दाको नियमित रूपमा हुने शारीरिक व्यायामलाई कष्ट सम्झेर हाइ सुखको सपना देख्दै कोही जग्गा प्लटिङ, कोही स्वीमिङ पुल, कोही चिल्ड्रेन गार्डेनको सपना देखेर लाउकेहरूको पछि लाग्ने प्रचलनले आज कैयन् महिना थन्किएको चामलको भात हसुर्न पनि हम्मे हम्मे पर्न थालेको कसले बुझ्ने ?
झन् हिजोआज त विदेशिने लहरले डलरको रहरले गर्दा पूर्खाहरूको पैत्रिक सम्पत्ति पनि नासोको रूपमा पनि नरहने अवस्था आएको छ । शहरी विकासको नाममा सडक फराकिलो पारेर बस्ती त त्यसै मासिने नै भयो । त्यसमाथि चिनीया बजार, भारतीय बजार, थाइलैण्ड बजार हङकङ बजार भनेर विदेशी सामान आयात गर्दै मानो छरेर मूरी फलाउने मनहरू हरिया धानका फाँट भन्दा पनि हरियो खैरो रङ्गको नोटको लालचमा परेर कालो भटमास र कालो दाल सम्म किनेर खान भौँतारिनु परेको पीडा बुझ्ने को छ र ?!
जसरी हुन्छ उपत्यका वरिपरि घर ठड्याउने सोच, जे गरेर हुन्छ छोराछोरीलाई बोर्डिङ स्कुलमा पढेर क्यानडा, युके, अष्ट्रेलिया, अमेरिका, जापान, जर्मनतिर हुइँक्याउने मनोकाँक्षाले गर्दा यही पुख्र्यौली धर्तीलाई लिलाम गर्दैछन् भनेर सोच्ने कहिले ? राज्यले त के नै पो गर्लान् त खै ? कर्मचारी वर्गको त के नै कुरा गर्नु जसोतसो गरेर अनुदान पकाउनमा व्यस्त भै हाल्छन् । त्यो जग्गा जमीनको महत्व बुझ्ने कसले त ?! के सधैँ काठमाडौँमा यत्तिकै व्यापार भैरहला र ? के त्यो भाडाको आम्दानीले मात्र जीवनको पहिचान हुन्छ र !
हिजोआज कौसी खेतीमा रमाउनेहरूको संख्या दिनानुदिन बढ्दै गएको देखिन्छ । यो राम्रो कुरा हो तर त्यसमा पनि त केही सोच्नुपर्ने कुरा छ । होला दिनचर्याको छाकभाग टर्ला तैपनि जमीनमा पाइएको प्राकृतिक माटो र त्यही माटोलाई बोरामा ओसारेर गमला या बाकसमा हालेर उब्जनीयुक्त माटो बनाउनमा धेरै भिन्नता पाइन्छ । माटोलाई हुनुपर्ने प्राकृतिक जैविक गुण केही मात्रामा प्रयोग गरिएको माटोमा हुँदैन । यो किन र कसरी हुँदैन भन्ने प्रश्नको जवाफ पहिले आपूm स्वयंले मनन गर्नुहोला । त्यसपछि अर्कोपटक छलफल गरौँला । काठमाडौंको कृषि प्रणाली निरन्तरबारे अर्कोपटक है त !