१२वैशाख बाँपीझ्याला काठमाण्डौँ । तनहुँबाट निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णीम वाग्लेले मतदाताको भरोसालाई आफूले डगमग हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।
वाग्लेले सामाजिक सञ्जालमा आफू तनहुँ- १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि जनताबाट अनुमोदन भएको बताएका छन्।
‘यहाँहरूले मप्रति प्रकट गर्नुभएको र मतदान गर्नु भएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नुपर्ने भूमिकाप्रति म अति नै सजग रहने छु,’ उनले लेखेका छन्, ‘तपाईंहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु। यी मतहरू तपाईंहरूले मलाईभन्दा पनि तनहुँ- १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु।’
उनले देशका अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदाताहरूमा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जितहारको प्रक्रियालाई स्वभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढाउन आग्रह गरेका छन्।
तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने अपेक्षा रहेको भन्दै उनले निर्वाचनका दौरान भएका सम्पूर्ण गतिविधिलाई सामान्य रूपमा लिन आग्रह गरेका छन्।
चुनावी प्रचारप्रसारका क्रममा गरिएका वाचालाई लिपिवद्ध गरी यहाँका स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधिहरू लगायत यहाँहरूसँगको नियमित सम्पर्क र अन्तर्क्रियामार्फत योजनाहरू अघि बढाउने उनले उल्लेख गरेका छन्।
तनहुँबासी मतदातालाई धन्यवाद दिँदै उनले भनेका छन्, ‘सम्पूर्ण मतदाताहरूले मलाई र हाम्रो पार्टीप्रति देखाउनुभएको अपार स्नेह, विश्वास र भरोसा प्रति म सदैब ऋणी हुनेछु। यस क्षेत्र बाहेकका देशका सम्पूर्ण सचेत नागरिक जसले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आ-आफ्नो स्थानबाट गर्नुभएको सहयोग र प्रेरणाका लागि धन्यवाद व्यक्त गर्दछौं।’