अमरकुमार प्रधान
हाम्रो दोलखा जिल्लामा नेवाः देय् दबू नेवारहरूको राष्ट्रिय संगठनको जिल्लागत शाखा २०७४ साल बैशाख १८ गते तदर्थ समितिको रुपमा मै स्थापना भई संस्थापनको प्रारूपमा देवेन्द्र नारायण प्रधानको अध्यक्षतामा स्थापना भएको यो संस्थाको उत्थानका लागि पटक पटक बैठक बसेर छलफल भैसकेका थिए ।
गतवर्ष २०७९ सालमा दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं २. दोलखामै वार्षिक कार्यक्रम सहितको अधिवेशन पनि सम्पन्न भएको थियो । यो संस्थाको वागमती प्रदेश समितिले तोकेको मिति र स्थान अनुसार १० वटा जिल्लालाई समेटेर वृहद बैठकको व्यवस्था दोलखा जिल्लाले गर्नुपर्ने निर्णय अनुसार यो भन्दा पहिले पौष २ गते नै हुनुपर्नेमा विविध कारणवश स्थगित भएको रहेछ ।

वागमती प्रदेशमा १३ वटा जिल्ला रहेपनि स्वनिगः (उपत्यका) विशेष प्रदेशको रूपमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लालाई समेटेर बनाइएकोले वागमती प्रदेशमा १० जिल्ला समेटिएको रहेछ ।

यही क्रममा वागमती प्रदेशको चौथो वैठक २०७९ चैत महिनाको २८ (नेपाल सम्वत् ११४३ चौलागा पञ्चमी) गते दोलखामा हुने निर्णय भएको रहेछ । दोलखा जिल्ला शाखा अन्तर्गतको नेवाः देय् दबुलाई विशेष सहयोग मिलोस् भन्ने अभिप्रायले स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनको सल्लाह अनुसार द्वाल्खा–स्वनिग (उपत्यका) सम्पर्क मञ्चको तदर्थ समिति पनि नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य, वरिष्ठ उपाध्यक्ष उमेश स्थापित, केन्द्रीय सदस्य उपेन्द्र प्रधान, केन्द्रिय सदस्य अनिल लेकाली र स्वःनिग विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनको समुपस्थितिमा सो संस्थाको केन्द्रीय कार्यालय टेकूको कार्यकक्षमा सम्पन्न बैठकले दोलखाली चेली जो हाल उपत्यकाको ललितपुरमा बसोबास गरिरहेकी समाजसेवी सकुना श्रेष्ठ मलेकुको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गर्यो ।

सोही तदर्थ समितिको सल्लाहकारमा संविधान सभा सदस्य हेमबहादुर श्रेष्ठ, द्वाल्खा म्यासमुचा खलककी संस्थापक अध्यक्ष अञ्जु श्रेष्ठ र म अमरकुमार प्रधान रहने भइयो ।
२०१९ चैत १९ गते सम्पर्क मञ्चका अध्यक्ष सकुना श्रेष्ठ मलेकु र कोषाध्यक्ष सुनी प्रधानसंग टेकूमा भेट भएर बसुन्धारा दियालो बैंक्युटमा गएँ । दोलखा जिल्ला समितिका अध्यक्ष देवेन्द्र नारायण प्रधान, केन्द्रीय उपाध्यक्ष शान्त श्रेष्ठ, केन्द्रीय सदस्य उपेन्द्र प्रधान, काठमाडौं जिल्ला समिति अतिरिक्त क्रियाकलापको संयोजक बालकृष्ण श्रेष्ठका साथमा अरू पनि थिए ।
नेवाः देय् दबूको वागमती प्रदेशको चौथो बैठक चैत २७ र २८ गते दोलखामा हुने तय भएछ । त्यसको लागि आर्थिक जोहो अन्य गाँस बास व्यवस्थापन गर्न अपेक्षित सरसल्लाह भयो । उक्त भेलामा बाँपिझ्याला डटकम अनलाईन पत्रिकाका सह–सम्पादक बालकृष्ण श्रेष्ठ, समय सान्दर्भिक पत्रिकाका सम्पादक त्रिलोचन प्रधान, योगगुरु कृष्णनारायण श्रेष्ठको उपस्थिति रहको थियो ।
सोही अवसरमा द्वाल्खा म्यासमुचा खलककी अध्यक्ष विश्वलक्ष्मी श्रेष्ठ, प्रेम–पूर्ण–प्रताप फाउण्डेसनकी अध्यक्ष शान्ति श्रेष्ठ, उर्जाशील महिला समूहकी उपाध्यक्ष यादवकुमारी श्रेष्ठ, कालिन्चोक युवा क्लबको अध्यक्ष निरेन्द्र मास्के र महासचिव अनिलचन्द्र श्रेष्ठ, बनारसी सहयोगी हातहरूको अध्यक्ष निरेस श्रेष्ठ, छिजी द्वाल्खा डोबरकी अध्यक्ष रिना श्रेष्ठ सबैले आ–आफ्नो तर्पmबाट सक्दो सहयोग गर्ने र चैत २५ गतेदेखि दोलखा जाने प्रबिद्धता जनाए ।
आर्थिक सहयोगको लागि विभिन्न संघ–संस्था र महानुभावहरूलाई पत्राचार पनि गरियो । नेवाः देय् दबु वागमती प्रदेशको चौथो बैठक चैत २७ र २८ गतेमै गर्नुको अर्को कारण प्राचिन शहर दोलखामा हुन गैरहेको रातो मच्छिन्द्रनाथको रथयात्रा थियो । उक्त अवसरमा आउने सबै पदाधिकारीहरू सबै नेवार समुदायको भएको र सबैले दोलखाको जात्रा पनि हेर्ने मनशाय भएकोले पनि सो समय मिलाइएको थियो ।

चैत शुक्ल पूर्णिमा अर्थात यसवर्षका चैत २३ गतेको दिन डोकलुंगा टोलस्थित मन्दिरमा अवलोकेश्वर मच्छिन्द्रनाथको मूर्तिलाई दूधमा स्नान गराउने, भोलिपल्ट पिङ्गल टोलमा निर्मित रथारोहण गराउने, अनि २५ गतेदेखि रथयात्रा आरम्भ गर्ने र नक्छेँ टोल पु¥याउने, २६ गते श्यामसुन्दर टोल पु¥याउने, २७ गते टसिचाटोल पु¥याउने, २८ गते त्यहाँबाट ६० डिग्रीको ठाडो उकालो रास्नी भई माथिल्लो टोल स्वयम्भू चैत्यसम्म रथ तान्ने हुनाले सो दिनको रथ तान्ने जात्रामा सहभागी गराउन र दर्शन गर्न सहज हुने अवसर पनि जुटाउने अभीष्ट थियो ।
उता दाइ शरणकुमार प्रधानले २५ गते नै दोलखा आउनु किनकि त्यो दिन हाम्रो घर नक्छेँ टोलमा रथ पुग्ने थियो । तर २५ गते दोलखा जाने समूहको जोहो भएन । २६ गते जान काका उपेन्द्र प्रधानले व्यवस्था गर्ने वचन दिनुभयो । त्यहीं बीच बालकृष्ण श्रेष्ठले २५ गते जाने व्यवस्था भो भनी फोन गरे तर २५ गते ‘जनमत’ मासिकको ३९औँ वार्षिक सम्मेलन जसमा मित्र तेजप्रकाश श्रेष्ठका आदरणीय दाजु बरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठलाई मरणोपरान्त जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान गरिने भएकोले त्यसमा सहभागी हुन बनेपा जाने कुरा सुनाउँ । आपूm पनि साहित्य अनुरागी भएकोले बालकृष्ण श्रेष्ठले दोलखा जाने व्यवस्था गर्नुपरेकोले जनमतको सम्मेलन छुटाउनु परेको भने मैले धन्यवाद दिएँ ।

चैत २५ गते राष्ट्रिय सभा गृह अगाडि मोहन दुवालजी (सम्पादक–जनमत) ले व्यवस्था गरेको बसमा अट्ने साहित्यकारहरूसँग चढी बनेपाको लागि प्रस्थान गरियो । म डा.रवीन्द्र पाण्डे ‘समीर’ सँग एउटै सिटमा बसेँ ।
मलाई २०७८ पुस ९ गते कोरोना संक्रमण हुँदा मित्रवर विजय चालिसेसँग सम्पर्क गरी समीरजीले सुझाएको औषधी खाएको थिएँ । (जुन भीमेश्वर नगरपालिकाद्वारा प्रकाशित ‘दोलखा यात्रा ३’ मा र नेपाल बाल साहित्य समाजद्वारा प्रकाशित ‘सम्झनामा कोरोना’ मा ‘कोरोनाबाट उम्के कि ?’ शीर्षक संस्मरणमा उल्लेख गरेको छु ।) कोरोना कै कारणले ‘जनमत’को वार्षिक सम्मेलन २ वर्ष स्थगन भएको अनि म पनि मुम्बई बसेको बेलामा भाग लिन नपाएको २०७१ चैतमा दीपा–जनमत सम्मान २०७० द्वारा सम्मानित गरेको डा. रवीन्द्र समीर पाण्डेजीलाई जनमत दीपक वैद्य स्वास्थ्य सम्मानद्वारा पुरस्कृत गर्न लागेको सनदर्भहरू कोट्याउँदै बनेपा अरनिको भवन पुगियो ।
डा.अभि सुवेदीको प्रमुख आतिथ्य २०७७ सालका १३ जना र २०७८ सालका १५ जना गरी २८जना प्रतिभाहरू पदक तथा नगद पुरस्कारद्वारा सम्मानित भए । कृष्णप्रकाशको सम्मानपत्र उहाँकी छोेरी जान्हा उपाध्यायले लिइन् । ज्वाइँ श्याम उपाध्यायलाई अन्त पनि भ्याउनु परेकोले तेज, प्रतिभा भाउजू, जान्हा श्याम ज्वाइँहरू विदा मागी गए । हामीहरू कार्यक्रम भर बस्यौँ । म भने बेला बेलामा मोबाइलमा ध्यान दिइरहन्थेँ, उपेन्द्र काकाको फोन आउँछ कि भनेर । जनमत प्रकाशनको ‘नियात्रा’ सङ्ग्रहमा अकरादी क्रमले शुरुमै मेरो ‘१००० यात्रा उक्लिंदा’ परेको रहेछ ।

मैले ५०% प्रतिशत छुटमा किनें । कार्यक्रम सिद्धेपछि बसमा तेजका दिदीहरू राधारमण श्रेष्ठ, बैनी तारावदन श्रेष्ठ (बाल–साहित्य सर्जक), भाञ्जी नातिनी सारा बजिमय (मिस पोखरा २०१९) सँगै फक्र्यौँ । सारा र म एउटै सिटमा पर्यौँ । मैले बसका सहभागी सबैलाई दोलखाको मच्छिन्द्रनाथको रथायात्रा हेर्न आउन निम्तो गरेँ ।
बसले धरहरा अगाडि ओराल्यो । दिदी, बैनी र सारासँग छुट्टिएर कीर्तिपुर जाने बस चढेर गएँ । बल्खु वारि उत्रेँ । भाषा आयोगका आयुक्त डा. पुष्करराज भट्ट र बाल–साहित्य सर्जक गङ्गा कसजु पनि त्यहीं अर्को बसबाट ओर्लनु भएको पाएँ । दुवैजना ‘जनमत’को कार्यक्रममा हुनुहुन्थ्यो । डा.भट्ट कीर्तिपुर जानुपर्ने बुझेपछि मैले नै गङ्गाजी सानेपा घर छोडिदिने बताएपछि उहाँसंग बिदा भयौँ । गोडाको समस्याले गर्दा २ महिनादेखि चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेको कुरा बताउनुभयो । सानेपामा उहाँलाई छोडी चौधरी निवास जाने उकालो बाटोमा उपेन्द्र काकालाई फोन गरेँ । भोलि जाने निस्तुक छ, म कुनै पनि बेला गाडी लिएर क्लासिक पाटीं भेन्यू अगाडि आइपुग्छु तैयारी साथ निस्कनुहोला भन्ने वचन पाएँ ।
भोलिपल्ट बिहान कुनबेला फोन आउँछ भनी पर्खाइमा थिएँ, दोलखा नेपाल भाषाका अध्यक्ष नहेन्द्र प्रधानले २७ गते आउने कुरा सुनाउनुभयो । दोलखा पर्यटन विकास समितिका अध्यक्ष बैकुण्ठनारायण प्रधानसँग दोलखामा बौद्ध चैत्यहरू जीर्ण हुँदै गएकोले त्यतातिर पनि केही गर्न सकिन्छ कि भन्ने मेरो जिज्ञासामा आपूm कार्य व्यस्तताको कारणले जाने इच्छा भएर पनि समय नमिलेकोले ती चैत्यहरूको तस्बीरहरु खिँचेर ल्याउनु भन्नुभयो । त्यही बेलामा उपेन्द्र काकाको फोन आएको संकेत देखेर कुरा गरेँ । उहाँले आइसकेँ निक्लिहाल्नु भन्नुभयो । हत्तपत्त लुगा लगाई सुटकेस चौबाटोमा पू¥याउन मकहाँ बस्ने माधव पाठकलाई अह्राई निस्क्यौँ । फेरि पनि उहाँको फोन आउँदा र हामी (म र शशी) आइरहेका छौँ भन्दाभन्दै बा.प्र.च ०९४३ हाइलेक्स मिनिगाडी निक साइमन सामुन्ने आइपुग्यो । हामी चढेपछि धोविघाटनेर सडकमा समकालीन एकता समाज नेपालकी अध्यक्ष सकुना श्रेष्ठलाई लियौँ । महासचिव सुनी प्रधान त गाडीमै हुनुहुन्थ्यो ।
त्यसपछि हामी ग्वार्खु निस्केर मिलन श्रेष्ठलाई चढाउँदै गइयो । त्यसपछी प्रेम–पूर्ण–प्रताप फाउण्डेसनकी अध्यक्ष शान्ति श्रेष्ठलाई हरिकुमार श्रेष्ठ भाइले लोकन्थलीमा जडिबुटी पेप्सीकोलामा पू¥याई दिनु भयो । यही क्रममा ठिमीमा किरण प्रधान चढ्यो, धेरै पोको पुन्तरा बोकी शिवकुमारी श्रेष्ठ सुर्यविनायकबाट चढिन् ।

ड्राइभर प्रताप थामीले गाडी हाँक्दै थियो भने उपेन्द्र काका जजसलाई बटुल्नपर्ने हो फोन गरी गाडीको ढोका खोल्ने बन्द गर्ने जस्ता प्राविधिक सूक्ष्म काम सहजता पूर्वक गरिरहनु हुन्थ्यो । ड्राइभर बाहेक अगाडि उपेन्द्र काका अनि ती लहरैपिच्छे ३ जना गरी १० जना थियौँ । दुईजना पुरुष बाँकी सबै महिला । सकुनाजीले गाउनुभएको (हालसम्म ६ वटा ) गीतहरू मध्ये ॐनमः शिवाय पनि बजाउँदै गाडी अगाडि बढ्दै थियो ।
सकुनाजीले आफ्नो थैलो खोली रियल जुस, चना, क्य्राकर आदि बाँड्नुभयो । धुलिखेल कटेपछि मैले सुनाएँ । मेरो बुबा यहाँ जागिरे हुँदा भमरकोटका रेवतीरमणका छोरासँग मित लाएको बेला पैसा साटासाट गर्दा रू. १ को मितले ‘मेरो पैसा दिन्न’ भनी अड्डी कसेकोले मैले पनि दिइँन । अन्ततः केराबारी पाँचखालको कफी लस्सी रेष्टुराँमा पुगेपछि ड्राइभर र सकुनाले लस्सी र अरु सबैले चिनी बिनाको कफी खायौँ । उपेन्द्र काकाले त्यहींबाट सिम्ले स्थित ‘माइला दाइको भोजनालय’मा फोन गरी खाना बनाइ राख्न फोन गर्नुभयो । त्यहीबेला शरण दाइको फोन आयो ‘कहाँ पुग्यौ खाना बनाइ राखुँ कि ?’ मैले पछि खबर गरुँला भने । त्यतिखेर सिम्लेमा खाना खाने टुङ्गो भैसकेको थिएन ।
निरापदरुपमा हाम्रो गाडी पाँचखाल, लामीडाँडा दोलालघाट नाघी सिम्ले पुग्यो । भने अनुसार माछा फ्राइ, माछा झोल, खसीको भुटन सँग भोजन तैयार रहेछन् । उपेन्द्र काका, शिवकुमारी र मैले हल्का बियर पनि लियौँ । काँक्रा, गाँजर र मुला ताजा खान र हरिला थिए । मैले शरण दाइलाई यहाँ खाना खायौँ भनी सूचना गरेँ ।
नाडी घडीले १ बजाइसकेको थियो । सुरज गिरी (माइला दाइलाई) धन्यवाद मिठो खानाको लागि भन्दै हरहिसाब चुक्ता गरी हामी गाडीमा बसेपछि दोलखा तर्पmको बाँकी यात्रा बढ्यो । खाडीचौरमा अरनिको राजमार्गलाई बाइबाइ गरी लामोसाँघु–जिरी सडक (यद्यपि यसलाई पुष्पलाल मार्ग नामाकरण गरेजस्तो लाग्छ तर प्रचलनमा देखिएन) तिर लम्क्यौँ । अनि क्रमशः ठूलो पाखर, सानो पाखर र डाँडा पाखर नाघ्दै २ हजार ५ शय ४२ मिटर उचाइको मुढे पुग्यौँ ।
अब त २ घण्टामा दोलखा पुगिन्छ भन्दै खरिढुंगामा ओल्र्यौँ । गर्मी हप्प भैरहेको बेलामा यहाँ चारैतिरबाट हावाले शीतलता बर्सायो । यसमा रमाएर उपेन्द्र काकाको क्यामेरा मोबाइल विभिन्न कोणले फरक स्थानमा तस्बीरहरू (भिडियो सहित) खिँच्न व्यस्त भए । ‘जेष्ठ नागरिक’ भन्दै उहाँ मलाई सम्बोधन गर्दै टीममा रमाउन उत्प्रेरित गर्नुहुन्थ्यो । सकुना, सुनी काकी लगायत अरूका मोबाइल पनि पालैपालो विभिन्न पोज र र स्थानमा तस्बीर कैद गर्न सक्रिय भए ।
चिमाल फुल्न कोपिला अङ्कुरित पोथ्राहरू झाङ्गिदै थिए । म्याग्नेसाइट उद्योग सञ्चालन हुँदा खरिढुंगाको २ कि.मि. क्षेत्र पीच गरिँदैनथ्यो । त्यहाँका प्रत्येक ढुंगा खरी हुन् जसबाट क्यारेमबोर्डमा छर्कने चिल्लो धुलो, श्रृङ्गारको टेल्कम पाउडर तीव्र तापक्रमलाई पचाउन सक्ने हुनाले फलामाको भट्टीमा उपयोगी इँटा इत्यादिमा उपयोग हुन्थ्यो । अहिले पनि रोटी पकाउने तावा, ससाना मूर्तिहरू दीप प्रज्वलन गर्ने (आरती) साधन बनाइ बेच्न राखेको सामग्री मुढेमा छ ।
नेपाल सरकार, उद्योगपति मोहनगोपाल खेतान समूह र भारत उडिसाको कम्पनीको साझेदारीमा म्याग्नेसियम उत्खनन् गरी रोपवेद्वारा लामोसाँघु पुर्याई प्रशोधन पछि भारत निकासी गरिंदा ५०० जनाले रोजगारी पाइरहेका थिए । तर सुनिन्छ नेपालमा भन्दा सस्तोमा चीनमा म्याग्नेसियम खानी पत्ता लाग्या रे । विश्व बजारमा प्रतिस्पर्धा गर्न असहज भएपछि नेपालतिर सुक्यो । यीनै गफसाथ हामीहरू गाडीमा चढी ओह्रालो लाग्यौँ । बादलको पटाक्षेपमा गौरीशंकर लगायत रोल्वालिङ्ग हिमश्रृङ्खला लुकेकोले हाम्रा आँखालाई र मोबाइलमा कैद गर्न नपाएको कमी चाहिँ खट्क्यो नै । पछि कुनै बेलाका लागि थाति राखेको परिकल्पना गरेर यात्रा निरन्तर तामाकोसी झै अगाडि बढि नै रह्यो ।
हल्हले खोला नाघेपछि धारेढुंगा बोच पुगियो जहाँ वागवानी किबी फलको कृषि फर्म पनि छ । त्यही ठाउँमा पुगेपछि मैले अतितलाई स्मरण गर्दै २०३० सालमा तत्कालीन भीम पब्लिक हाइस्कुलमै म पेटको सिकिस्त बिरामी हुँदा अमेरिकी शान्तिसेना स्वयम् सेवक जीम गिसेनको सौजन्यबाट उपलब्ध हेलिक्याप्टरले मलाई बोचकै डाँडा शिखरबाटै उडाई काठमाडौं ल्याई शान्तभवन अस्पताल पू¥याएको र शल्यचिकित्सा उपचार पछि पुनर्जन्म पाएको अविस्मरणीय प्रसंग पनि सुनाएँ । त्यसपछि चरणावती (चरंगे) खोला नाघेर मकैबारी, चोथाङ हुँदै चकिोट पुगियो ।
बाँकी अर्को पटक ……
