११ बैशाख, बाँपीझ्याला, दोलखा । दोलखाको प्रसिद्ध धार्मिक एवँ पर्यटकीयस्थल कालिन्चोक भ्रमणमा आउने पर्यटकको सँख्या बर्षेनी बृद्धि हुँदै गएको छ । पहाडको टुप्पोमा रहेको कालिन्चोक भगवतीको दर्शन गर्न कालिन्चोकको थुम्कीमा एकैसाथ सैंयौ दर्शनार्थी पुग्ने गरेका छन् । मन्दिरको दर्शन गर्ने, हिमश्रृङखलाको दृश्यसहितको तस्वीर कैद गर्ने र टिकटक बनाउनेहरुको कालिन्चोकको थुम्कीमा निकै भीड हुन्छ ।
तर, दिनहुँ दर्शनार्थीको भीड लाग्ने कालिन्चोकको थुम्की खतरापूर्ण रहेको जानकारी धेरैजसो पर्यटकलाई छैन । कालिन्चोकको थुम्कीको दायाँबाँया दुवैतर्फ काठ र जस्ताको टेको लगाईएको छ । कुनै कारण उक्त टेको भाँचिएमा निकै ठूलो दुर्घटनाको खतरा रहेको छ ।
तीन हजार ८ सय ४२ मिटरको उचाईमा रहेको कालिन्चोक भगवतीको मन्दिर परिसर २०७२ सालको भूकम्पका कारण खतरामा परेको हो । विनाशकारी भूकम्पका बेला मन्दिरको दाँया र बाँयातर्फको भाग उप्किएर झरेपछि समस्या भएको छ । भूकम्पमा झरेको मन्दिर परिसरलाई अहिले काठ र जस्ताले टेको लगाएर राखिएको छ । दर्शनार्थीको ठूलो भिड हुँदा सो टेको भत्किए ठूलो दुर्घटना निम्तिने छ । कालिन्चोकको थुम्कीवाट कुनै पनि मानिस खसेमा जिवितै उद्धार गर्न सकिने सम्भावना न्यून छ । ३८ सय ४२ मिटरको उचाईवाट मानिस एकैसाथ तल झरे सिधै खोंचमा खस्ने छ ।
मन्दिर परिसरलाई घेरावार पनि नगरिएका कारण साना वालवालिकालाई कालिन्चोकको थुम्कीमा जोगाउन उतिकै चुनौती छ । एक बर्षअघि दोलखाकै एक पत्रकार परिवार कालिन्चोक दर्शनकालागि जाँदा परिवारकी सानी छोरी थुम्किवाट फुत्किएकी थिईन् । समयमै अभिभावकले बालिकाको कपडामा समाउन भ्याएका कारण उनको ज्यान जोगिएको थियो ।
कालिन्चोक मन्दिर परिसर निकै जोखिमपूर्ण रहेपनि त्यसको संरक्षण र व्यवस्थापनमा सम्वन्धित निकायको ध्यान अहिलेसम्म जान सकेको छैन । पुरातत्व विभाग, नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार लगायत कुनै निकायले यसतर्फ ध्यान दिन सकेका छैनन् । जसका कारण कालिन्चोकको थुम्कीमा दुर्घटनाको खतरा जिवितै छ ।
कालिन्चोक मन्दिरको व्यवस्थापनका लागि भन्दै स्थानीय प्रशासनले समिति पनि गठन गरेको छ । सो समितिले भेटि व्यवस्थापनको ठेक्का लगाउनु वाहेक मन्दिरको व्यवस्थापन र संरक्षणमा ध्यान दिन सकेको छैन । कालिन्चोक भगवतीको दर्शनका लागि दैनिक सैंयौको संख्यामा दर्शनार्थी पुग्ने गरेका छन् ।