बाँपीझ्याला काठमाण्डौँ । चितवनको भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव भएको छ।
भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
लामिछाने मतदानस्थलमा आएलगत्तै उनका समर्थकहरुले लामिछानको पक्षमा नाराबाजी गरेका थिए। उनीहरुको नाराबाजीका कारण मतदानको लाइनमा उभिएका मानिसहरुलाईसमेत समस्या भएपछि प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो।
उनीहरुलाई हटाएर उक्त क्षेत्रमा पुन: मतदान सुरु भएको छ। प्रहरीले लाठीचार्ज गरेपछि त्यसक्रममा भागाभाग भएको थियो। तनाव थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको छ।