८ बैशाख, बाँपीझ्याला, दोलखा । सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायधीश हरिकृष्ण कार्कीले न्यायलयमाथि चौतर्फि आक्रमण भईरहेको बताउनुभएको छ । न्यायलय जस्तो पवित्र संस्थामा आक्रमण भईरहेको भन्दै उहाँले यसको गरिमालाई बचाई राख्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल बार एशोसिएशन दोलखा ईकाईको भूकम्प पछि पुननिर्मित भवनको आज समुद्घाटन गर्दै कामु प्रधान न्यायधीश कार्कीले यस्तो बताउनुभएको हो । न्यायलय माथि चौतर्फी आक्रमण भईरहेको बताए पनि उहाँले कहाँ, कसरी र कुन बिषयमा आक्रमण भएको भन्ने बिषय भने खुलाउनु भएन ।
कामु प्रधान न्यायधिश कार्कीले न्यायपालिकालाई सक्षम र निश्पक्ष बनाउन नेपाल बारको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो ।
कानुन व्यवसायी शुद्ध नभए त्यसको असर न्यायलयमा पर्ने भन्दै आफ्नो मुल्य र मान्यतालाई आत्मासाथ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कामु प्रधान न्यायधीश कार्की आज सदरमुकाम चरिकोटमै बस्ने र भोली कालिन्चोक भ्रमण गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।यसैवीच, बागमती प्रदेश सभाका सांसद एबम् अधिबक्ता भरतबहादुर केसी, तामाकोशी गाउँपालिकाका अध्यक्ष एबम् अधिबक्ता प्रोणप्रताप केसी, अधिबक्ता थिरबहादुर कार्की, केदार गौतम र मेघराज पोखरेल सम्मानित भएका छन् । नेपाल वार एशोसिएसन दोलखाको भवन समुद्घाटन समारोहमा दोलखामा रहेर लामो समयदेखि कानुनी सेवा दिएका बरिष्ठ अधिवक्ताहरुलाई सम्मान गरिएको हो । सम्मानित अधिवक्ताहरुलाई कामु प्रधान न्यायधीश कार्कीले सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो ।
नेपाल बार एशोसिएसन दोलखा ईकाईका अध्यक्ष कृष्णबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल बारका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरे, प्रधानमन्त्रीको प्रमुख कानुनी सल्लाहकार, महान्यायधिवक्ता डा. दिनमणि पोखरेल, बरिष्ठ अधिवक्ता एवं पूर्ब महान्यायधिबक्ता मुक्तिनारायण प्रधान, राजनीतिक दलका प्रमुख एवँ प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल वार एशोसिएसन दोलखाको करिव ५२ लाख लागतमा नवनिर्मित दुई तले भवन ५ कोठाको रहेको छ । भवन निर्माणका लागि बागमती प्रदेश सरकारले ३० लाख अनुदान दिएको थियो भने दोलखाका स्थानीय सरकार तथा व्यक्तिको सहयोग समेत रहेको छ ।