२ बैशाख, बाँपीझ्याला, दोलखा । दोलखा प्रहरीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १६ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । अपराधिक क्रियाकलापमा संलग्न रही फरार सुचीमा रहेका १६ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तबाट एक वर्ष कैद र ११ लाख २३ हजार ४ सय ५० रुपैँया जरिवाना असुल गरिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार बैंकिङ कसुर सम्बन्धी मुद्धा, जालसाँजी, सवारी ज्यान, सार्वजनिक अपराध, नागरिक सम्बन्धी कसुर, नकबजनी चोरी, बन्यजन्तु सम्बन्धी कसुर, गोली बेइज्जेती, लुटपिट र जुवा सम्बन्धी कसुरमा फरार रहेकाहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बैंकिङ कसुर सम्बन्धी मुद्धामा फारर ५ जना पक्राउ परेका छन् भने जालसाँजी मुद्धाका दुई जना र अन्य मुद्धाका एक–एक जना फरार अपराधि पक्राउ परेका हुन् ।
फैसला कार्यान्वयन अन्र्तगत फरार रहेका अपराधिहरुलाई पक्राउ गर्न विशेष टोली गठन गरी अभियान सञ्चालन गरिएको दोलखा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न अपराधमा संलग्न ६ सय ४७ जना फरार सुचीमा रहेको जानकारी दिनु भयो ।