Search

नयाँ वर्ष मनाउन आएका पाहुनाले आँगन खचाखच

नयाँ वर्ष मनाउन आएका पाहुनाले आँगन खचाखच

२ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । नयाँ वर्ष मनाउन आएका पाहुनाले आँगन खचाखच थियो। गुरुङ पोसाकमा ठाँटिएर कोही टिकटकमा भिडियो बनाउँदै त कोही फोटो खिच्दै थिए। पिँढीको डिलको गमलामा मुस्काइरहेका फूलसँग मितेरी गाँसेर क्यामेरामा मुस्कान भर्न पाहुना व्यस्त थिए।

त्यही भीडमा गुरुङ पोशाक लगाउने पर्खाइमा घण्टौंदेखि प्रतीक्षारत पनि थिए। घान्द्रुक आउने पाहुनालाई २५ वर्षदेखि आतिथ्यता सत्कार पस्किरहेको ‘गुरुङ कटेज’ को डाइनिङ हलभित्र पस्दा सञ्चालक किसम गुरुङ मोबाइल कुराकानीमा व्यस्त थिए। होटल बुकिङ गर्न आएको फोन रहेछ।

‘मेरोमा त प्याक भइसकेको छ हजुर। अन्त के छ कुन्नि, एक पटक बुझ्नुहोला’, अन्तिम संवादपछि फोन राखे।

पाहुनाको सत्कारमा व्यस्त किसमले हतारोकाबीच केहीबेर गफिने समय मिलाए। बिहीबारदेखि औसत भन्दा पर्यटकको संख्या बढेको बताए। ‘सबै होटलको अकुपेन्सी राम्रो छ। होटलवाला खुशी छन्, बिजी छन्’, किसमले भने। जति धेरै पर्यटकको सेवा गर्ने मौका मिल्छ उति नै खुशी मिल्ने किसमले सुनाए।

होटल सांग्रिला इको भिलेजका सञ्चालक धुर्व गुरुङलाइ पनि नयाँ वर्षले व्यस्त बनाइदियो। उनको होटलका २ वटा कोठा मात्रै नयाँ वर्षलाई पहिल्यै बुकिङ भएको थियो। तर, शुक्रबार साँझ होटल भरिभराउ भएको उनले बताए। ‘नयाँ वर्ष मनाउनलाई टाढा टाढाबाट पाहुना आएर एक्कासी भरिभराउ भयो। नसोचेको पाहुना हुदाँ भ्याइनभ्याइ पो भयो’, उनले भने।

नयाँ वर्षको दिन शुक्रबार मात्रै २ हजार बढी पर्यटक आएको पर्यटन व्यावसायी समिति घान्द्रुकका अध्यक्ष विक्रम गुरुङ बताउँछन्। ‘नयाँ वर्षमा पर्यटक व्यापक नै भयो। लगभग २ हजार आन्तरिक पर्यटक आए। विदेशी टुरिस्ट चाहीं झन्डै सय जना जति थिए’, उनले भने।

गुरुङका अनुसार घान्द्रुकमा ५५ होटल र १८ होमस्टे सञ्चालनमा छन्। होटल र होमस्टेका कोठा पाहुनालाई अपुग भएपछि घरमा पनि व्यवस्थापन गरेको उनले बताए। ‘कोही खुशी भए, कोही दुखि पनि भयो होला। सबैको चित्त बुझाउन सकिएन’, उनको भनाइ छ।

सडक मर्मत गर्नलाई बाटो बन्द हुँदा पाहुना घटेका थिए। नयाँ वर्षलाई मध्यनजर गरेर बाटो खुला गरेपछि पाहुनाको ‘फ्लो’ बढेको अध्यक्ष गुरुङले बताए। चीनले नेपाल भ्रमणका लागि लगाएको प्रतिबन्ध हटाएसँगै पाहुना अझै बढ्ने उनको अनुमान छ। अब आन्तरिक र बाह्य पर्यटक दुवैको संख्या बढ्ने उनको भनाइ छ। ‘अक्टुबर नोभोम्बरमा चाही सायद घान्द्रुकमा पाहुनालाई बस्ने ठाउँ पनि हुँदैनहोला’ पर्यटकको चाप बढ्ने अड्कल काट्दै उनले भने।

नयाँ वर्ष मनाउन काठमाडौं, भक्तपुर, चितवन, धरान, तनहुँ, पाल्पा लगायतका जिल्लाबाट पर्यटक घान्द्रुक उक्लिए। तन्नेरी पुस्ता मात्र नभएर सपरिवार नयाँ वर्ष मनाउन घान्द्रुक उक्लने धेरै थिए।

तिनैमध्यका हुन्, तनहुँ दुलेगौँडाका राजेन्द्र पौडेल। छोराछोरी र आफन्तसहित नयाँ वर्ष मनाउन घान्द्रुक आएको पौडेलले बताए। ‘बच्चाबच्चीको स्कुल छुट्टी थियो। नयाँ वर्ष रमाइलो गरेर मनाउने प्लानिङ भयो र घान्द्रुक आयौं’, उनले भने।

खासमा उनले बाग्लुङकोे पञ्चकोट घुम्ने योजना बुनेका थिए। छोराछोरीको रोजाईमा घान्द्रुक परेपछि नयाँपूलबाट बाटो मोडेर घान्द्रुक उक्लिए। ‘घान्द्रुक सुनैको नाम थियो। एक पटक आउनै पर्ने हो, आयौं’, उनले सुनाए।

गुजुमुज्ज परेर पूर्वतर्फ फर्किएको ढुंगेनी बस्तीमा आजकाल ढलान घर बग्रेल्तीले थपिँदै छन्। हर घरको झ्यालको पर्दा खोल्दा आँखामा ठोक्किन्छ। माछापुच्छ«े, अन्नपूर्ण लगायत हिमशृंखला। चर्चित पदमार्ग अन्नपूर्ण सर्किट पदयात्रा, घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प आदिको प्रवेशद्वार घान्द्रुक हो।

घान्द्रुकले सन् १९५० मा मौरिस हर्जोगले अन्नपूर्ण हिमालको शिखर चुमेपछि पर्यटकलाई आतिथ्य सत्कार टक्रयाउन थालेको हो। विदेशी पर्यटक क्याम्पिङ गर्न उक्लने घान्द्रुक विस्तारै पर्यटनमा निर्भर बन्यो। क्याम्पिङ थलो घान्द्रुकमा होटल, होमस्टे प्रशस्तै खुले।
कोरोनाको बेला ठप्प भएको घान्द्रुक त्यसलगत्तै जुर्मुाउन थालेको हो। अहिले घान्द्रुक उक्लने आन्तरिक पर्यटकको संख्या बाक्लो छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!