बाँपीझ्याला काठमाण्डौँ । दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले बिहीबार एक ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।
प्योङयाङको नजिकबाट कोरियाली प्रायद्विपको पूर्वी तटमा प्रहार गरिएको मिसाइलका कारण उत्तरी जापानमा तनाव उत्पन्न भएको थियो। जहाँ स्थानीयलाई सतर्कता अपनाउन भनिएको थियो। यद्यपि कुनै अप्रिय घटना भने भएन।
स्थानीय समयानुसार बिहीबार बिहान करिब ७:२३ बजे मिसाइल प्रहार गरिएको थियो।
जापानी रक्षामन्त्री यासुकाजु हमादाले मिसाइल एक प्रकारको अन्तरमहाद्विपीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) हुनसक्ने बताएका छन्। जुन उत्तर कोरियाली ब्यालिस्टिक मिसाइलको सबैभन्दा लामो रेञ्जमध्येको एक हो। तर जापानी अधिकारीहरुले विवरणहरुको विश्लेषण जारी रहेको बताएका छन्।
हमादाका अनुसार मिसाइल जापानको विशेष आर्थिक क्षेत्र (इईजेड)को बाहिर खसेको थियो।
उत्तर कोरियाली प्रक्षेपणपछि जापानी सरकारले सुरुमा देशको उत्तरी प्रान्त होक्काइदोका बासिन्दालाई सुरक्षित स्थानमा आश्रय लिन भनेको थियो। यद्यपि पछि जापानी तट रक्षकले मिसाइल होक्काइदो वा आसपासको क्षेत्रमा खस्ने सम्भावना नभएको बताएको थियो।