२० चैत्र, बाँपीझ्याला, दोलखा । दोलखाका नयाँ प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला कार्यालयमा हाजिर हुनुभएको छ । गृहमन्त्रालयले तत्कालीन प्रजिअ शेखर पौडेलको सरुवा गरी उनको ठाउँमा गृहमन्त्रालयबाट सह–सचिव धमलालाई पठाएको हो । प्रजिअ धमलाले हिजोदेखि जिल्ला प्रशासन कार्यालय दोलखामा हाजिर भएर आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ ।
जिम्मेवारी सम्हालेपछि प्रजिअ धमलाले कर्तव्य पालन, जिम्मेवारी र उत्तरदायित्वलाई धर्म ठानेर विधि, रीति, निति, स्थिति र प्रविधिलाई आधार मानेर अघि बढ्ने बताउनुभयो । उहाँले राष्ट्रसेवक हुनुको मर्मलाई मन्त्र मानेर क्षमता र गच्छेले भ्याएसम्म सेवा प्रवाह गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।
गृहमन्त्रालयले तत्कालीन प्रजिअ उपसचिव शेखर पौडेललाई इलामको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाएर दोलखामा धमलालाई पठाएको हो । उप–सचिव पौडेलको दोलखा पठाएको दुई महिना नबित्दै उनलाई इलामको सहायक प्रजिअमा सरुवा गरिएको हो ।
प्रजिअको छोटो समयमै सरुवा हुँदा जिल्लाको शान्ति सुरक्षादेखि प्रशासनिक काम समेत प्रभावित हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा राजपत्राङ्कित प्रथम श्रेणीको दरवन्दी कायम छ ।