बाँपीझ्याला, काठमाण्डौं । काठमाडौैं उपत्यकामा हुने ठुला जात्राहरुमा मच्छिन्द्रनाथको जात्रा पनि एक हो । काठमाडौंमा १५ गतेबाट सुरु भएको सेतो मच्छिन्द्रनाथको जात्रा १९ चैत आइतबार सकिएको छ । सेतो मच्छिन्द्रनाथको जात्रामा काठमाडौंमा सयौं सर्वसाधारण सहभागी भएका छन् ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौंको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रुपमा समेत मच्छिन्द्रनाथको पूजा आराधना गर्ने चलन छ ।
रथ यात्राका दिन सेतो मच्छिन्द्रनाथको मूर्तिलाई बिशेष श्रृङ्गार गरेर जमलस्थित तीनधारा पाकशाला अघिल्तिर निर्माण गरिएको रथमा लगेर प्रतिस्थापन गरिन्छ । यसपछि रथ तानेर पहिलो दिन रत्नपार्क, भोटाहिटी हँुदै असनसम्म पुर्याइन्छ ।
दोस्रो दिन रथलाई असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका पुर्याइन्छ । हनुमानढोकाबाट चिकंमुगल, जैसीदेवल, ज्यावहाल हुँदै लगनसम्म पुर्याइन्छ । लगनमा मच्छिन्द्रनाथकी आमा भएको रुखको परिक्रमा गराइन्छ । रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पुर्याइन्छ ।
हिन्दु र बौद्ध धर्माबलम्बीहरुका साझा आस्थाका देवता सेतो मच्छिन्द्रनाथको जात्रा चैत शुक्ल अष्टमीदेखि पूर्णिमा भित्रका ५ दिन चल्छ । मूर्ति सेतो भएकाले देवताको नाम सेतो मच्छिन्द्रनाथ राखिएको बिश्वास छ । देवताका अन्य नामहरुमा करुणामय, आर्य अवलोकितेश्वर पनि हुन् ।
सेतो मच्छिन्द्रनाथको रथ किन तानिन्छ ?
मच्छिन्द्रनाथको जात्रा मनाउनाले घरमा धनकी देवी लक्ष्मीको बास हुने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वासले मानिसहरु जात्रामा सहभागी हुन्छन् । प्राचीन कालमा काठमाडौंको जमलमा खेत खन्ने क्रममा किसानले सेतो मच्छिन्द्रनाथको मूर्ति भेट्टाएको कथा रथयात्रासँग सम्बन्धित छ ।
मूर्तिलाई खेतबाट निकाली घरको भकारीमा राख्दा घरमा अन्नको कमी नभएको, सुख, शान्ति, समृद्धि प्राप्त भएको र रोग ब्याधको नाश हुन थालेको थियो । मूर्ति भगवान भएको र भगवानलाई घरमा राख्दा मानमर्यादा दिन नसकिने महसुस गरेर जमलबाट मूर्तिलाई लगेर जनबहालमा राखेको विश्वास छ ।
मूर्तिको स्थापना गरिएको वर्षदेखि नै मूर्ति भेट्टाएको स्थानका रुपमा रथ यात्रा जमलबाट सुरु गर्ने गरिएको छ । मच्छिन्द्रनाथको जात्राका संरक्षणकर्तामध्ये एक निलकाजी गुर्जु भन्छन्, ‘१२ औं–१३ औं शताब्दीदेखि मच्छिन्द्रनाथ चलिआएको प्रचलन हो । यो जात्रा नेपालको मात्रै होइन, यो अहिले विश्वलाई नेपालमा चिनाइरहेका छन् ।
‘मच्छिन्द्रनाथ (लोकेश्वर) एक देवता हो, बोधिसत्व को एक रूप, सबै भौतिक ऊर्जाको स्रोत हो भनिन्छ कि विभिन्न कठिनाइहरुको मानव दिमागको मद्दत, मार्गदर्शन र मुक्त गर्नको लागि भनिन्छ’, गुर्जु भन्छन्, ‘यो करुणाको देवता हो ।’
उपत्यकामा ४ वटा करुणमय (मच्छिन्द्र) छन् । रातो मच्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाथ, नाला करुणामय, चोभार करुणामय चार देवता लोकेश्वरका चार रूप हुन् तर तिनीहरूको आफ्नै महत्व छ । हिन्दुहरूले देवतालाई मत्स्येन्द्रनाथ/मछिन्द्रनाथ वा भगवान शिवको रूपको रूपमा पूजा गर्छन् भने बौद्धहरूले तिनीहरूलाई अवलोकेश्वरको रूपमा पूजा गर्छन् । चार देवतामध्ये दुईवटा रातो र दुईवटा सेतो छन् । ललितपुरका रातो मच्छिन्द्रनाथ र काठमाडौंको सेतो मच्छिन्द्रनाथ रङको कारणले नाम राखेको गुर्जुले बताए ।
मच्छिन्द्रनाथको पूजा किन गरिन्छ ?
सेतो मच्छिन्द्रनाथलाई वर्षाका देवताको रूपमा पूजा गरिन्छ भने रातो मच्छिन्द्रनाथलाई वर्षा र फसल दिने देवताको रूपमा पुजिन्छ । त्यस्तै चोभारको आदिनाथ करुणामयलाई स्वस्थ जीवनको लागि पूजा गरिन्छ । समग्रमा, सबै देवताहरूलाई उनीहरूको कठिन समयमा मानवजातिलाई माया र समर्थनको लागि सम्मान गरिन्छ ।
उपत्यकामा तीन देवताका एक–एक मन्दिर छन् भने रातो मच्छिन्द्रनाथका दुईवटा मन्दिर छन् । मुख्य रातो मच्छिन्द्रनाथ मन्दिर कार्यविनायक, बुङ्मतीमा अवस्थित छ, जहाँ देवताले वर्षको छ महिना बिताउँछन् । त्यसैगरी पाटनको मछिन्द्र बहाःलमा थप ६ महिना बिताउँछन् ।
सेतो मच्छिन्द्रनाथ मन्दिर असन र इन्द्रचोकको बीचमा रहेको जनबहाल, केलटोलमा अवस्थित छ भने नाला (बनेपा नजिक), काभ्रेमा नाला करुणामय र कीर्तिपुरको चोभारको डाँडामा आदिनाथ करुणामय मन्दिर छ ।