बालकृष्ण श्रेष्ठ ‘पासा
हिजोआज फेसबुकको महिमा
भागवत पुराण झैँ लाग्छ,
धर्मकर्म नै भताभुङ्ग पारिदिँदा
विद्रोही कुशासन झैँ लाग्छ ।
हरेक समय व्यतीत गरिदिँदा
फेसबुक साथी झैँ लाग्छ,
त्यही समय सुलुक्क निलिदिँदा
अजङ्गको हात्ती झैँ लाग्छ ।
भूगोल प्रकृति संस्कृति चिनाउँदा
फेसबुक गुरु झैँ लाग्छ,
त्यही भूगोलमा विकृति देखाउँदा
समातेर भकुरुँ झैँ लाग्छ ।
बच्चाहरूलाई फकाएर राखिँदिँदा
फेसबुक धाइ सुसारे झैँ लाग्छ,
त्यही बच्चालाई एकहोरे बनाइदा
बिना कामको बेसारे झैँ लाग्छ ।
नयाँ समाचार तुरुन्तै सुन्न पाउँदा,
फेसबुक यो ठिकै लाग्छ,
भदौरे गोरू जस्तो आँखा लाउँदा,
फेसबुक दिक्क नै लाग्छ ।
अखबार भन्दा छिटो खबर ल्याउँदा,
फेसबुक उत्तम लाग्छ,
बकवास खालको तस्बिर पठाउँदा,
फेसबुक खत्तम लाग्छ ।
अक्षरै नजान्नेलाई बाठो बनाउँदा,
फेसबुक उपल्लो लाग्छ,
बाठोलाई नै अति लाटो तुल्याउँदा,
फेसबुक खल्लो लाग्छ ।
खाना बनाउने तरिकाहरू पढाउँदा,
फेसबुक विद्वान गुरु झैं लाग्छ,
खाना नै डढ्नेगरि अलमलाउँदा,
फेसबुक बतासे गोरु झैं लाग्छ ।
अनेकौं भाषा र सीपहरू सिकाउँदा,
फेसबुक एक प्रशिक्षक लाग्छ,
भएको अक्षरलाई खाई रित्याउँदा,
फेसबुक क्रुर राक्षस झैं लाग्छ ।
हराएका साथीहरू फेरि भेटाउँदा
फेसबुक मध्यस्थकर्ता लाग्छ,
भएका नाता वान्धव टाढा भगाउँदा,
फेसबुक कुरौटे नारद झैं लाग्छ ।
नयाँ नयाँ प्रेमी प्रेमिका मिलाउँदा,
फेसबुक इमानदारी लमी लाग्छ,
पुराना जोडीलाई डिभोर्स दिलाउँदा,
फेसबुक अत्याचारी विद्रोही लाग्छ ।
अल्छीलाई ज्ञान चेतना दिलाउँदा
फेसबुक महाज्ञानी नै लाग्छ,
चलाकलाई अल्छी झोल पिलाउँदा,
फेसबुक असत्ती बेइमानी लाग्छ ।
फेसबुकमा आफ्नै सम्झेर मन पराउँदा
यो साह्रै नै गुणकारी लाग्छ,
तर मान्छे तौलेर तस्बिर पोष्ट गराउँदा
फेसबुकप्रेमी धुन्दकारी लाग्छ ।
सदुपयोग गर्न जान्नेलाई फेसबुक
ज्ञान विज्ञानको भण्डार लाग्छ,
दुरुपयोग गर्नेहरूको लागि फेसबुक
बिना प्रकाशको अन्धकार लाग्छ ।
