१६ चैत्र, बाँपीझ्याला, काठमाण्डौं । विभागीय टिम एपीएफले ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगिताकाे उपाधिमा ह्याट्रिक गरेको छ । तेस्राे संस्करणको फाइनल खेलमा विभागीय टोली एपीएफले कोशी प्रदेशलाई ५४ रनले हरायाे ।
यो प्रतियोगिताको इतिहासमा अहिलेसम्मकै धेरै १५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १०० रनमात्र बनाउन सक्यो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन् । पहिलो ओभरदेखि नै चोटका कारण असहज महशुस गरेकी उनी १३.२ ओभरमा विनु बुढामगरको बलमा बोल्ड हुनुअघि ४१ बल खेलेर ४ चौका प्रहार गरेकी थिइन् ।
कोशीकी अर्की ओपनर काजल श्रेष्ठले ६ रन बनाइन् । अप्सरी बेगमले १० रन जोडिन् । स्मृति कटुवालले ८ र नमिता श्रेष्ठले ७ रन जोडिन् । लतिका राजवंशी २१ रनमा अविजित रहिन् । बलिङमा एपीएफकी बिनु बुढामगरले २ विकेट लिइन् । उनले ४ ओभरमा १८ रन खर्चिइन् । रेखा रावल, सोनु खड्का र नेरी थापाले समान १–१ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफले कप्तान सीता रानामगर र इन्दू बर्माको शतकीय साझेदारीमा मेयर कपकै सर्बाधिक १५४ रनको योगफल खडा गरेको थियो ।
ओपनर ज्योति पाण्डे २ रन बनाएर आउट भएपछि आएकी इन्दूसँग मिलेर सिताले दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गरिन् । मेयर कपको तीन संस्करणमा यो सबैभन्दा ठूलो साझेदारी रह्यो ।
यसअघि पहिलो संस्करणमा आयोजक टिमका लागि अस्मिना कर्माचार्य र सुमन खतिवडाले १०८ रनको साझेदारी गरेका थिए ।
ओपनर सीताले ७९ रनको अविजित अर्धशतकीय पारी खेलिन् । उनले ६८ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् । सीताले एपीएफको उपाधि यात्रामा दोस्रो अर्धशतक बनाएकी हुन् । यसअघि सुदूरपश्चिमविरुद्ध उनले ५२ रन जोडेकी थिइन् ।