ती दिनका दृश्यहरू यो मानस्पटलमा अझै ताजा भनेर फनफनी घुमिरहेको छ । चैते दशैँ भन्ने वित्तिकै भगवान रामचन्द्रको जन्मदिनको उत्सवको रुपमा लिइएको रामनवमीको पवित्र दिनलाई आत्मसात् गरेर दोलखा शहरमा करीब एक हप्ता अगाडिदेखि मनाईने प्रचलन रहेको थियो । यसरी स्थानीय अग्रज बुढापाकाहरू आ–आफ्ना घरको बुइँगल, छिँडी, दलान, मटान सफाइ गरेर पाहुनाहरुलाई खुल्ला राख्ने गर्थे ।
घरका गृहिणी बुढी हजुरआमा, ठूलीमा, काकी, माइज्यूहरूको त्यतिबेला सास फेर्न समेत फुर्सदमा हुँदैनथ्यो । धान उसिनेर चिउरा कुटाइको तरखर, रक्सी पार्न जाँड पकाउनेको तनखन, अनि अब रामनवमीमा भीमेश्वर दर्शन गर्न आउने वाला पाहुनाको सत्कारको लागि हरेक घर तात्तिएको हुन्थ्यो हतासिएको हुन्थ्यो ।
जब जब यी दिनलाई आमन्त्रण गर्न सूर्यको उदय र अस्तको क्रम चल्दै जान्थ्यो तब दोलखाका गुठियारहरू एक आपसमा सरसल्लाह गर्न आतुर भएर औँला गन्न थाल्थे । ताकि कुन ठाउँबाट कति पाहुना आउने र कसको घरमा बस्ने कसले राख्नेको लेखाजोखा हुने गथ्र्यो । त्यतिबेला दोलखामा नाम कहलिएका चार थरि (जिम्मेवाल) र छ गुठियार नै दोलखाको सबैभन्दा ठूला र चल्तिफिर्तिको गण्यमान्य नै हुन्थे ।
त्यतिबेलाको वातावरणलाई सम्झिनु पर्दा दोलखाको भीमेश्वर मन्दिरमा पूजाअर्चना आरती गर्ने प्रक्रिया भन्दा नि पञ्चबलि र एकल बलिको चर्चा धेरै हुनेगरेको पाइन्थ्यो । जतिबेला यातायातको सुविधा थिएन । जहाँबाट पनि पैदल नै आउनुपर्ने बाध्यता त्यसमाथि भीमेश्वरको भाकल गरिएको कारणले यो मेला शुरु हुनुभन्दा पनि तीनचार दिन अगाडि नै घरबाट हिँड्न तैयार हुन्थे ।
त्यसबेला पञ्चबलिको लागि आवश्यक पर्ने पाडो, थुमा, बोका, भाले हाँस र कुखुराको भाले पेरुङ्गामा राखेर तीनचार दिनसम्म उकाली ओह्राली गर्दै कैयन् देउराली र भञ्ज्याङ्ग पार गरेर दोलखा आइपुग्ने दर्शनार्थीहरूले दोलखा भीमेश्वरको मात्र होइन दोलखाको इतिहास र धार्मिक महिमालाई धेरै नै टेवा दिएको पाइन्थ्यो ।
दोलखा शहरको माथिल्लो टोलको पुरान्छेँको तत्कालीन प्रधानपञ्च स्वर्गीय खड्गबहादुर श्रेष्ठको पालालाई सम्झनुपर्दा त्यतिबेलाको दोलखाको रौनक र उत्साहले नेपाल अधिराज्यका भीमसेन भक्तहरूलाई अति नै आकर्षण र उत्साहित बनाएको थियो । त्यसताकाका थरि (जिम्मेवाल) अम्बरबहादुर पिङ्गल, अमरबहादुर पुरान्छेँ, अक्षरबहादुर तारिगाउँ, रत्ननारायण प्रधान गुर्कोट पछी आएर कमलप्रसाद प्रधान नक्छेँ टोल गरेर चार थरिको घरमा पाहुनाहरूको विशेष जमघट हुनेगर्थे ।
त्यस्तै गुठियारहरूको घरमा पनि भोजपुर, दिङ्ला, ओखलढुङ्गा, सिन्धुली, रामेछाप, दोलखाको मेलुङ, भेड्पु अनि पूर्वउत्तरतिर बाबरे, लादुक, बुलुङ, सुरीखारे, लापिलाङबाट आएका लावालश्कर भक्तजनहरूको घुइँचो हुन्थ्यो । तल्लो टोलको राइती तीनधाराको दोबाटोदेखि दोलखाको मध्यबजारसम्म पाहुनाहरूलाई तान्नेहरूको पनि कमि थिएन । सकेसम्म अटेपनि नअटेपनि आफ्ना घरमा सुविधा र सहुलियत जताएर बोलाउनेहरू बीचमा प्रतिस्पर्धा मात्र होइन विवादित पनि बन्न पुग्थ्यो ।
यसरी प्राचिन शहर दोलखाको मूख्यबजार मानिने माथिल्लो टोलको सिम्भूथान (बौद्ध चैत्य) परिसरबाट लिस्टोल, भीमसेन डबली, घरेलु परिसर अनि भीमसेन थानको छत्रछायामा पाइलो टेक्ने ठाउँ पाउन निकै कसरत गर्नुपथ्र्याे । त्यतिबेला दोलखामा नाम चलेका ख्यातीप्राप्त सामाजिक संस्था कालिन्चोक युवा क्लव, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले स्वयंसेवकको व्यवस्था गरेर प्राथमिक उपचार लगायत भीडमा हराएका मान्छेहरू फेला पत्ता लगाउन माइकिङको समेत व्यवस्था गरेर मानवीय सेवा गरेको ताजा स्मरण छ ।
अहिले ती दृश्यको वर्णन गर्नुपर्दा एकादेशको कथा जस्तो लाग्न थालेको छ । समय बदलिँदै जाने क्रममा अनेकौँ आधुनिक प्रविधि र यातायातको सुविधा हुँदै जाँदा त्यो परम्परामा अझ तीव्रता हुनुपर्नेमा जात्रा नै दिनानुदिन ह्रास हुँदै गएको छ ।
धर्मको नाममा आयातीत धर्मको प्रचारमुखी हुँदै जानु, हिन्दुधर्मको अपव्याख्या गरेर देवदेवीको अस्तित्वलाई काल्पनिकताको उपमा भिडाएर चलखेल गर्ने प्रवृत्तिले पनि स्थानीय र्मौलिकतामा अवरोध भएको कुरालाई नकार्न सकिन्न ।
दोलखाको जात्रा बिस्तारै सेलाउँदै जानुमा स्थानीय अभिभावकहरूले पुस्तान्तरण गर्न ढिलाइ गरिएका पो हो कि जस्तो लाग्छ । अर्को कुरा क्षणिक र सिमित फाइदाको लागि भक्तजनहरू प्रति सौहार्दमय वातावरणको व्यवस्था गर्न नसक्नु र बजार मूल्यमा समानान्तर नहुनु पनि परम्परामा आँच पुगेको हो कि जस्तो महशुस हुनु अस्वभाविक नहोला ।
ती अतीतको उल्लासमय अवस्थालाई सम्झेर अहिले उराठ मान्नुभन्दा समयानुकूल परिस्थितिलाई मनन गरेर दोलखाको संस्कृति र परम्परालाई पुनर्ताजगी बनाउन सबैे जागरुक हुन जरुरी छ । व्यवस्थाको पछि लागेर होइन अवस्थालाई मध्यनजर राखेर हामी अगाडि बढ्न तत्पर हौऔं । भीमसेन भीमेश्वरले सबैको कल्याण गरुन् । सबैमा यो चैते दसैँ र रामनवमीको हार्दिक शुभकामना !!