प्राचिन शहर दोलखा भीमेश्वर नगरपालीका वडा नं. २ गणेशटोलमा विक्रम सम्वत् २०१८ साल फागुन २७ मा पिता अमृतबहादुर शाही र माता अष्टमाया शाहीका जेठो छोरा वीरशंकर शाही । उनका एक भाइ पूर्ण शाही र बहिनीहरु उजेली शाही, गंगा शाही नै उनका पैत्रिक वंशका सन्तान हुन् । उनकी धर्मपत्नी भने केही वर्ष अगाडि नै दिवंगत हुनु भयो ।
दोलखामा रहेका नेवार समुदाय बीचको थर वर्गीय समूहमा खड्गी वा शाही भनेर चिनिने जानिने एक खलक हो यो जातीय थर । तर त्यतिबेला जतिबेला दोलखाली समाजमा कसाई, कुसले, घर्ती आदि ईत्यादि थरलाई पल्लो, उपल्लदो र माथिल्लो तल्लो भनेर विभाजित मनसायले भेदभाव गरिन्थ्यो । त्यो एउटा चेतना अनभिज्ञताको परिवेश जस्तै थियो ।
मानव पनि प्राणीको एक आधार हो यसमा जातीय विभेद गर्नु उचित हुँदैन भन्ने तर्कलाई पारदर्शिता नदेखाउँदा मानव मानव बीचमै ठूलो र सानो भन्ने विभेदको सृजना भएको हो । जुन मल्लकालीन राजा जयस्थिति मल्लको पालामा कामको बाँडफाँड गर्दा विभाजित गरिएको हो तर समुदायमा रहेका आपूmलाई उपल्लो सम्झनेहरूले कामकै आधारमा तल्लो भनिने भेदभाव सृजना गर्न थाले । त्यही अनुरुप नै कामकै आधारमा मन्दिरदेखि घर मझेरी सम्म जातपातको भेदभाव र मनमुटाव भैरहेको थियो । हाल सम्म पनी यस्तो भईरहेका पाईन्छ ।
यस्तो प्रक्रिया प्रायः जसो हिन्दूधर्म मान्नेहरूमा व्याप्त भएको हो र जुन कतैकतै यथावत रहेको छ । यही चालचलन दोलखामा पनि केही दशक पहिलेसम्म थियो । त्यसमा हेर्ने र बुझ्ने तरिकामा भरपर्ने कुरा हुन् । प्रकृति र भूगोल एउटै भएपनि बनोट र आकार भिन्नाभिन्नै हुन्छ त्यही भिन्नतामा मानवीय सोच फरक हुनु नौलो कुरा होइन । तर सिसौ, साल, अग्राख र गुराँसका काठसंग उत्तिस, बनमारा र चुत्रोको शक्ति एउटै त होइन नै तैपनि उपनाम र गुण एउटै हो भनेर बुझ्न आवश्यक छ ।
वीर शंकर शाही खड्गी समुदायको अलिक उपल्लो दर्जाको खानदानमा हुर्केको तीक्ष्ण र चतुर स्वभावको छ । सानै देखि पढ्नमा तल्लीन वीर शंकरको पहिलो पाठशाला नै दोलखामा आदरणिय नरबहादुर श्रेष्ठ गुरुबा हुनुहुन्थ्यो । हिसाबमा निकै नै अब्बल नै थियो त्यतिबेला गणित शिक्षामा जोड, घटाउ, गुणा, भागा पूर्णरुपमा जानेपछि मात्र लघुत्तम र महत्तम भनेर पढाइन्थ्यो । जोड् घटाउ जानेपछि गुणामा दुनोट सिकाउने प्रचलन थियो ।
जसलाई पढ्नको लागि आदरणीय गुरु स्वर्गीय नरबहादुर श्रेष्ठको दलान, मटान र कोठामा मानौँ पण्डितका चेलाहरूले वेद मन्त्र नै पढेको हो कि जस्तो लाग्थ्यो । जस्तो कि ‘दुई एकान् दुई, दुई दुने चार, दुई तियान् छ, दुई चौको आठ…’ भनेर लय हालेर पढिन्थ्यो ।
यतिबेला यिनै वीरशंकर शाही र रामकृष्ण कुस्ले पनि पढ्न आउँथे । अनि अर्को कुरा यिनै वीरशंकर हिसाबको गुणामा अब्बल भएपनि अन्य नेवारहरू जसलाई माथिल्लो जातीय मान राखिन्थ्यो उनीहरूको स्थानलाई छोएर बस्न नपाइने अर्थात उनीहरू गुरुको मूल कोठामा हुन्थे भने यी दुईजनालाई मटानको झ्याल नजिकै सटाएर राख्ने गर्थे ।
तर दुःख लाग्दो कुरा मान्छे भएर मान्छेलाई हेर्ने दृष्टिकोणमा फरक गर्न हुँदैन भनेर त्यो समुदायले किन बुझेनन् भनेर । त्यही व्यक्तिले काटेको राँगो जुन परालले पोलिएको हुन्छ, पानीले पखालिएको हुन्छ, काटमार गर्दा खुट्टाले कुल्चिएको हुन्छ, त्यो मासु र रक्ति चाहिँ शुद्ध हुने तर गाग्रीको पानी र पकाएको खाद्यवस्तु अशुद्ध र अपवित्र मान्ने कस्तो परम्परा र कस्तो चलन भन्ने प्रश्न वीर शंकरको मनमा खट्किरहन्थ्यो तर त्यतिबेला उनमा बोल्ने साहस भएरै पनि पचाउन बाध्य हुनपथ्र्यो ।
यो परम्परा हो र सिङ्गो दोलखा शहर भित्रको समुदायको नाताले आफ्नो कर्तव्य निभाउन तत्पर नै रहेका थिए र छन् पनि । तर वीरशंकरको परिवारले एउटै समुदायमा रहेर धेरै नै अपमानित तरिकाले छुवाछुत जस्तो अपाच्य व्यवहारलाई अंगालि रहन चाहेनन् । फलस्वरुप उनीहरू त्यो चालचलनबाट अलग्गिन थाले यो यथार्थ सत्य हो ।
अहिलेको परिस्थितिमा कोही तल कोही माथि रहेनन् । देशमा व्यवस्था परिवर्तन हुनाको साथै प्रणाली पनि परिवर्तन हुँदै गयो र उँचनीच, तल्लो उपल्लो भन्ने भएन । सबैमा समान दृष्टिकोणले हेर्ने र कारोबार गर्ने स्थितिको सृजना भएको छ । सामाजिक, राजनैतिक र साँस्कृतिक क्षेत्रमा मात्र नभएर शैक्षिक गतिविधिमा पनि दोलखाका खड्गी समुदायले फड्को मारेको छ । यसै परिप्रेक्षमा वीरशंकर हिजोआज नेपाल खड्गी सेवा समाजको केन्द्रीय सदस्य भएको छ ।
वीरशंकर भन्छन्,– “दोलखाको आर्थिक स्तरोत्तर उन्नतिको लागि सबैको साथ चाहिन्छ, यो र त्यो, मेरो र तेरो, यसको र उसको भन्ने सकुचित भावना राख्नुहुन्न, योजना आयोजना आउँदा सबैले साथ दिएर पारदर्शी ढंगले काम गर्नुपर्छ । दोलखाको विकासको लागि कतैबाट केही आयोजना आउँदा गोप्य तरिकाले आआफ्नो मान्छेलाई मात्र समेटेर बजेट पचाउने कार्य गर्नुभएन ।”
हो, जहाँ मिलेमतोबाट आफुखुसी कार्य हुन्छ त्यहाँ विकास सम्भव हुँदैन । अब वीरशंकरले पेशाले व्यापार व्यवसाय भएपनि राजनीतिक मूलधार फरक रहे पनि दोलखाको माटोलाई आफ्ने शरीरको नसा सम्झेर त्यहाँ लोप हुन लागेका मौलिक बाजालाई स्थायित्व दिन र भावी पुस्तालाई पनि निरन्तर राख्नलाई पहलकदम बढाउन दृढसंकल्पकासाथ अग्रसर हुनेछ भन्नेमा हामी विश्वस्त रहेका छौँ । साथै चैते दसैं तथा रामनवमी २०७९ को पावन अवसरमा सबैलाई शुभकामना !