बाँपीझ्याला, काठमाण्डौं । नेपाल सरकार, भाषा आयोगका नवनियुक्त अध्यक्ष डा. गोपाल ठाकुर तथा सदस्य डा. पुष्करराज भट्टले आज शपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् । प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा एक समारोहका बीच भाषा आयोगका दुबै पदाधिकारीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
भाषा आयोगका अध्यक्ष डा. ठाकुर आफ्नो जातीय पोशाक धोती-कुर्ता-बण्डी-गम्छामा सजिएर आफ्नो मातृभाषा भोजपुरीमा समेत शपथ लिनु भयो भने सदस्य डा. भट्ट दौरा-सुरुवाल-कोट-ढाकाटोपीमा सजिएर नेपालीमा शपथ लिएका थिए ।
यस अवसरमा भाषा आयोगका सदस्यहरू ऊषा हमाल, डा. अमरराज गिरी, अमृत योञ्जन तामाङ, गोपाल प्रसाद शर्राफ (गोपाल अश्क) तथा कृष्ण प्रसाद न्यौपानेका साथै आयोगका सचिव जयराम अधिकारी, उपसचिव कमला पाण्डेयसमेतका कर्माचारीहरू उपस्थित थिए ।
यस अवसरमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर तथा रजिष्ट्रार नारायणप्रसाद पन्थीसहितका कर्मचारीहरूसमेतको उपस्थिति थियो । शपथ ग्रहण पछि अध्यक्ष डा. ठाकुर एवम् सदस्य डा. भट्टलाई भाषा आयोगमा निवर्तमान कार्यवाहक अध्यक्ष ऊषा हमाल तथा अन्य सदस्यहरूको साथै सचिव अधिकारीसमेतका कर्मचारीहरूले एउटा संक्षिप्त कार्यक्रम गरी स्वागत गरेका थिए । स्वागत कार्यक्रम पछि दुवैजनाले आजै पदबहाली गरी आ-आफ्ना कार्यभार ग्रहण गरेका छन् ।