बाँपीझ्याला, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदैछन् । राष्ट्रपति बनेपछि उनी पहिलो पटक काठमाडौं बाहिर जान लागेका हुन् । उनी बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा जानेछन् । उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । सर्वसाधारण प्रभावित नहुने गरी यातायात तथा सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
प्रजिअ भुसालका अनुसार राष्ट्रपति पौडेल आउ-जाउ गर्ने सडकको यातायात होस् या मन्दिरमा दर्शन गर्ने बेलामा होस् सर्वसाधारणलाई असर नपुग्ने गरी आवश्यक प्रबन्ध मिलाइएको छ । उनले भने, ‘सर्वसाधारण प्रभावित नहोउन् भनेर हामीले एकदमै सिम्पल तरिकाले आवश्यक प्रबन्ध गरेका छौं ।’
यसअघि राष्ट्रपति पौडेल साधारण तरिकाले काठमाडौंको बसन्तपुर दरबारमा जाँदा उनको प्रशंसा भएको थियो ।