बाँपीझ्याला, दोलखा । बुद्धको शिक्षा नेपाल जस्तो शान्तिभूमिमा मात्र होइन चीन, जापान, कोरिया जस्तो विकसित राष्ट्रले पनि बुद्धका महिमालाई ज्ञानरुपी प्रकाशपूञ्जको रुपमा प्रचारप्रसार भैरहेको छ । जसलाई अतिकम विकसित राष्ट्रका अनुयायीहरूले पनि बुद्धलाई ज्ञानको भण्डारको रुपमा लिइएको पाइन्छ । नेपालमै जन्मेको महात्मा बुद्धलाई पछिल्लो चरणमा आएर नेपाल बाहिरका देशमा जन्मेको भनेर गलत प्रचार गरिएको थियो । तर विश्वकै बुद्धप्रेमीहरूले नेपालको धरातलमै सिद्धार्थ गौतमको जन्म भएको वास्तविकता बाहिर ल्याएपछि अहिले नेपालको इतिहासमा बुद्धको महिमा धेरै नै अगाडि बढेको कुरालाई नकार्न सकिन्न ।
बुद्ध धर्म वास्तविक रुपमा भन्ने हो भने नेपालको हरेक व्यक्तिले मान्नुपर्ने र जानेर बुझ्नुपर्ने धर्म हो । तर यहाँ स्वविवेकले मान्न हिच्किचाउनेहरू यथेष्ट छन् । बुद्धका ज्ञानहरू पुस्तकमा सिमित रहेको देखिन्छ । नेपालको काठमाडौं उपत्यका भित्र मात्र होइन कि मोफसलमा रहेका आदिवासी जनजाति वर्गका समुदायले बुद्धलाई दिव्यपूञ्जको रुपमा मान्दै आएका छन् । सत्य बोल्नु, अहिँसाको मार्ग त्याग्नु र सत्मार्गमा हिँड्नु भनेको खालि बुद्धका अनुयायीहरूले मात्र ती कुरालाई मनन गरेर अगाडि बढ्नु भनेको होइन कि यो दिव्य उपदेशलाई शासक, प्रशासक सबैले मनन गर्न जरुरी रहेको छ तर त्यो यहाँ कार्यान्वयन् भएको पाइँदैन । नकि राज्य सञ्चालन गर्नेहरूले नै बुद्धको दिव्य उपदेशको पालना गरेका छन् ।
जब बैशाख पूर्णिमा आउँछ तब बुद्धको स्मरण हुन्छ । प्रभातफेरि गरेर मञ्चमा या सभाकक्षमा भेला हुने र माल्यार्पण गर्ने दुईचार वाक्य बोलेर विशिष्ट व्यक्तिहरूले सम्मान गरेको रीत पुर्याउने अनि प्रसाद ग्रहण गर्ने र आ–आफ्नो गौँडामा पुगेपछि ती कुरालाई थाति राखेर असभ्य र असत्यको बेलिविस्तार लाउने गर्छन् । यसले बुद्धको दिव्य मर्मको उपहास गरेको जस्तो हुँदैन र !
हो, यिनै महात्मा बुद्धले के उपदेश दिएका थिए र त्यो उपदेशको मूल मर्म के हो र कसरी त्यो शिक्षा उपलब्ध गर्न सकिन्छ भन्ने कुरालाई गहन अध्ययन गर्न आवश्यक रहेको महशुस गरेर एक दोलखाली सपूत डा. सुनिल मास्केले दोलखामा आफ्नै पैत्रिक सम्पत्ति दान दिएर बुद्धको आश्रित स्थल बनाउन जुन हृदय खर्चिनु भो यो अत्यन्तै सराहनीय कुरा हो । यस अर्थमा हामीले उनको त्यो महान हृदयलाई नमन गर्नैपर्छ ।
प्राचीन शहर दोलखामा बुद्धको प्रतिमास्वरुपको प्रतीक मात्र होइन हरेक टोलमा चैत्य, स्तुपा र बिहारहरू अद्यपि रहेका छन् । बुद्धको स्वरुप एउटै भएपनि विभिन्न नामले बुद्धको आराधना गरिन्छ । दोलखामा झट्ट हेर्दा कसले कुन धर्म मान्छन् र कुन धर्मको नियम पालना गरिहेका छन् भनेर यकिन गर्न सहज छैन । यसरी मिश्रित धर्मलाई अंगालेको कारण हेर्दा कतै कतै निश्चित धर्मको बारेमा शिक्षाको प्रचारप्रसार नभएको हो कि जस्तो लाग्छ ।
यसै सिलसिलामा हालै उहाँले बुद्धको ज्ञान र उपदेशलाई दोलखाको कुनाकुनामा टोलटोलमा पुर्याउने अठोट लिएर अहिले भीमेश्वर नगरपालिकामा एउटा समूह तैयार गर्नुभएको खबरले एउटा उत्साहको सिर्जना भएको छ । यसै सन्दर्भमा बुद्धशिक्षा व्यवहारमा लागुगर्ने उद्देश्यले नै दोलखाका साँस्कृतिक एवम् परम्परालाई निरन्तरता दिन लागिपरिरहनु हुने राजकुलेश्वर आधारभूत विद्यालयका पूर्व शिक्षक भगवानदास श्रेष्ठको संयोजकत्वमा १९ सदस्यीय समिति बनाएको छ । जसमा उपसंयोजक मन्जरी श्रेष्ठ, सचिव तीर्थबहादुर जोशी, सह–सचिव कृष्ण कुमार श्रेष्ठ, कोषाध्यक्ष शर्मिला श्रेष्ठ समेत १४ अन्य सदस्यहरु रहेका छन् । यस समितीमा अन्य सदस्यहरु क्रमवद्ध रुपले थप गर्दै जाने जानकारी संयोजक भगवानदास श्रेष्ठले बताउनु भयो ।