बाँपीझ्याला, काठमाडौँ । प्रतिस्पर्धी कलाकार र फिल्मलाई पुरस्कृत गर्दै छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सोमबार सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन विकासका लागि फिल्मको योगदान महत्वपूर्ण हुने बताए । फिल्मले कूटनीतिज्ञको भूमिका खेल्ने चर्चा पनि उनले गरे ।
निफ अध्यक्ष केपी पाठकले नेपालबाट उडान हुने प्रत्येक जहाजमा नेपाली फिल्म स्क्रिनिङको व्यवस्था मिलाउन र फेस्टिभललाई सघाउन मन्त्री किरातीको ध्यानाकर्षण गराए । घाटामा गएको नेपाली फिल्म उद्योगलाई राहत दिन जहाजमा फिल्म देखाउने व्यवस्था प्रभावकारी हुने उनको भनाइ थियो ।
महोत्सवमा नेपाली फिल्मतर्फ ‘प्रकाश’बाट प्रदीप खड्का सर्वश्रेष्ठ अभिनेता र दीया मास्के सर्वश्रेष्ठ अभिनेत्री घोषित भए । उत्कृष्ट घोषित भएपछि ट्रफी उचाल्दै प्रदीपले अभिनेताको रुपमा पहिलोपटक अवार्ड जित्दा खुसी मिलेको प्रतिक्रिया दिए । उनले भने, ‘एक्सपेरिमेन्ट गर्ने चक्करमा निर्देशकको भिजन र निर्माताको पैसा नडुबोस् भनेर फिल्म खेल्न मानेको थिइनँ । तर उहाँहरुको दबाबको कारण फिल्म खेलें । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’
महोत्सवमा ‘ऐना झ्यालको पुतली’ सर्वश्रेष्ठ फिल्म घोषित भयो । आफू निर्मित फिल्मले पुरस्कार जितेपछि ट्रफी उचाल्दै निर्माता रामकृष्ण पोखरेलले जुरी र फेस्टिभललाई धन्यवाद दिए ।
३५ देशका ९५ फिल्मले प्रतिस्पर्धा गरेको महोत्सवमा १३ वटा अवार्ड वितरण भए । महोत्सवमा प्यानल छलफलदेखि मास्टरक्लास सञ्चालन भएका थिए । पाँच दिनसम्म चलेको निफमा ९ सेसन र तीन मास्टरक्लास भएका थिए । क्रोएसियाका फिल्ममेकर इतामी ब्रोजन, भारतका प्रेमेन्द्र मजुमदार र चीनकी प्राध्यापक ली रानले मास्टर्स क्लास सञ्चालन गरेका थिए ।