प्राचीन शहर दोलखाको वर्णन ऐतिहासिक हिसाबले इतिहासका धेरै पानाहरूमा धेरै तरिकाले गर्ने गरेको पाइन्छ । दोलखामा मच्छिन्द्रनाथलाई अवलोकितेश्वर सहकालको देवताको रुपमा मानिन्छ । देश र प्रजाको हितलाई ध्यानपूर्वक अवलोकन गरेर भक्तवात्सल्य कार्य गर्ने करुणामय भाव भएको कारणले पनि शायद बौद्धमार्गीहरूले अवलोकितेश्वर करुणामय परमात्माको रुपमा हेर्ने गरेको पाईन्छ ।
तर उपत्यकाका बौद्धमार्गीहरू मच्छिन्द्रनाथलाई आर्यावलोकितेश्वर भनेर पहिचान दिलाउन चाहन्छन् । फेरि कुनैकुनै बज्राचार्य गुरुवाचार्य समुदायले भने मच्छिन्द्र शब्दको पछाडि नाथ शब्द जोड्न चाहँदैनन् । किनकि यो करुणा भन्ने शब्द बुद्धसंग जोडिएकोले नाथ शब्द अशोभनीय हो । हिन्दू धर्मग्रन्थमा जोडिएका ब्रम्हा, विष्णु र महेश्वरको रुप अर्थात देहको श्रृष्टि कुनै पितामाताको संसर्गबाट पैदा भएको नभैकन स्वतः सृष्टि भएको मानिन्छ भने बुद्ध भनेको मानवकै जन्मजातबाट भएकोले यसलाई नाथ शब्द जोड्न उचित हुँदैन भन्ने कथन सुन्न पाइन्छ ।
मच्छिन्द्र शब्द वास्तवमा अपभ्रंशित शब्द हो जस्तो लाग्छ । खासमा यो करुणामाइ मत्स्य रुप धारण गरेर उत्पन्न भएको भन्ने इतिहास र पुराणमा देखाइएको छ । त्यसैले धेरै ठाउँमा मत्स्यन्द्रनाथ लेखिएको पाइन्छ । यहाँ बुद्ध र करुणामाई मच्छिन्द्रको पछाडि नाथ शब्द जोडिने बारेमा काठमाडौं र ललितपुरका केही ज्योतिषाचार्यहरू मध्येका शाक्य र तुलाधर र इतिहासविद् बीचमा नै फरक मत देखिन्छ । हिन्दूधर्म प्रति आस्थावानहरू नाथ शब्द उपयुक्त ठान्छन् भने बुद्धधर्म प्रतिले नाथ राख्न असहज ठान्छन् ।
अब दोलखाको मच्छिन्द्रनाथ तर्फ लागौं : अतीत र वर्तमान
प्राचीन नेवारहरूको उपमा बोकेको दोलखा शहर जुन ठाउँलाई स्थानिय नेवारी भाषामा ‘द्वाल्खा’ भन्ने गरेका छौँ । लिच्छवीकालीन् सभ्यता देखि नै दोलखामा मच्छिन्द्रनाथको जात्रा चलाइएको भन्ने कतैकतै इतिहासमा देखिए पनि मल्लकालदेखि विस्तार भएको इतिहासमा प्रचारप्रसार गरिएको भएपनि दोलखामा भने नेपाल सम्वत् ६३९ (वि.सं.१५७५) ताका राजा नन्ददेवको पालादेखि नै सञ्चालन्मा आएको र पछि राजा वासुदेवले यो जात्रा निरन्तर चलाइराख्नका लागि नेपाल सम्वत् ७१४ (वि.सं. १६५०) मा यो मच्छिन्द्र नाथ जात्राको नाममा विभिन्न ठाउँमा जग्गा कमाउने मान्छे राखेर त्यसबाट आएको आयस्ताबाट जात्रा चलाउने भनेर गुठीको व्यवस्था गरेको देखिन्छ ।
यो क्रम लिच्छवि वंश, मल्ल वंश, शाह वंश सम्म यथावत् रहेपनि शाह वंशका राजा विरेन्द्रको पालामा आएर अर्थात् २०३९ सालमा आएर ताल्चा लाग्न पुगेको थियो ।
परम्पराका द्योतक मानिएका बुद्धिजीवी, संस्कृतविद्हरू हुँदाहुँदै पनि गुठीको आयस्ता आइरहेपनि आम्दानीको श्रोत कमि भएको कारणले हो या किन हो त्यसपछि निकै लामो समयसम्म थाति रहनपुगेको थियो यो जात्रा । एक त सो जात्रा सञ्चालन गर्ने गराउने खलकहरू काम र अध्ययनको कारणले दोलखाबाट बाहिर जानुपर्ने बाध्यता, अर्को समयको बदलाव संगै आएको महँगाइ र अनि काम गर्ने श्रमिकको अभाव त्यसपछि देशमा शुरु भएको व्यवस्थाको अदलाबदली र राजनीतिक अस्थिरताको कारणले भएको देखिन्छ । तर परम्परा र मौलिकतालाई ती कुराले रोकावट हुन नपर्ने होे ।
इतिहासलाई पछ्याउँदा दोलखाको मच्छिन्द्रनाथ :
दोलखाका राजा नन्ददेवमो पालामा उपत्यकाको ललितपुर पाटनका महागुरुदेव बज्राचार्यको सहयोगमा बुङमतीमा रहेको रातो मच्छिन्द्रनाथकै प्रतिमूर्ति बनाई सोही देवीकै प्रतिरुपको स्थापना दोलखामा गरिएको देखिन्छ । जतिबेला नेपालको अधिकांश भुभागमा खडेरी परेर महमारी रोग समेत पैmलिएर मानवीय ज्यान र प्रकृति नै विखण्डित भएको हुनाले एक महातान्त्रिकको सल्लाह अनुसार गोरखनाथका गुरु मच्छिन्द्रनाथ भारत देशको आसाम राज्यमा विराजमान रहेको उनको आराधना गरेमात्र वर्षा हुने र संकट मुक्त हुने थाहा भएपछि तत्कालीन पाटनका राजा नरेन्द्रदेवले पण्डित बन्धुदत्तको सल्लाह अनुसार आसामसम्म गएर पूजा प्रार्थना गरेर लिएर आएपछि ललितपुरको बुङमतीमा स्थापना गरेपछि सारा विपद र अनिकाल हटेको थियो भन्ने इतिहासमा भेटिन्छ ।
त्यसबेलाको विपदमा दोलखा पनि अछुतो रहेको थिएन । उक्त मच्छिन्द्रनाथको प्रतिस्थापना पछि अनिकाल रोग व्याधी हटेको थाहा भएर दोलखाका राजा नन्ददेवको पालामा उपत्यकाको ललितपुर पाटनका महागुरुदेव बज्राचार्यको सहयोगमा बुङमतीमा रहेको रातो मच्छिन्द्रनाथकै प्रतिमूर्ति बनाई सोही देवीकै प्रतिरुपको स्थापना दोलखामा गरिएको देखिन्छ ।
यसपछि दोलखामा मच्छिन्द्रनाथको जात्रा निरन्तर सञ्चालन हुँदै आएको मान्यता रहेको छ । यसपछि सो मच्छिन्द्रनाथको जात्रालाई नियमित गराउन तत्कालिन आधिपत्य राजा इन्द्रसिंहदेवका कान्छा भाइ वासुदेवले रथयात्रा र पूजाआजाका लागि भनेर हाल दोलखा जिल्लाको उत्तरपूर्वी भागमा रहेको लापिलाङ, लेप्टुङ र कार्तिकेय् भन्ने ठाउँका जग्गाजमिनलाई गुठीको आयस्ताको रुपमा राखेर स्थानीय थामी समुदायलाई जग्गा कमाउन दिएर सो बापत रथ तान्न्को लागि बाँसको भाटा, चोयाको डोरी र बनमाला ल्याएर सो जात्रामा सहभागी हुने नियम लागु गरेका थिए भन्ने उल्लेख छ ।
यो कुराको बारेमा पछाडि फर्केर हेर्दा थामी समुदायहरू मच्छिन्द्रनाथको रथ तैयार गर्न पिङ्गल टोलकै एक घरमा बस्ने गर्दथे । पहिले ३२ हात अग्लो रथ तैयार गरिन्थ्यो तर सन्तुलन नमिलेर बारम्बार ढल्ने समस्याले पछि छोट्याइएको भनेर थामी समुदायका नाइकेले भन्ने गर्दथे ।
यसरी यो जात्रा निरन्तर रुपमा सञ्चालन हुँदै आएकोमा २०३९ साल पछि पूर्ण रुपमा बन्द भयो । जात्रा विविध कारणवश बन्द त भयो त्यसको साथमा थामी समुदायबाट पाइरहेको केही भौतिक तथा व्यावहारिक सामग्री आउने चलन पनि थाती रहनपुग्यो ।
विक्रम सम्वत् २०५२ सालमा दोलखा भूमिसुधार अन्तर्गत नापी हुन थालेपछि ती गुठीको जग्गाजमीन व्यक्तिको नाममा नापी गराएपछि गुठीको आयस्ताको बाटो थुनियो । यसको प्रतकूल असर जात्रामा झनै दोब्बर भयो ।
ती गुठीका जग्गाहरू कसरी व्यक्तिको नाममा भए त भन्दा त्यतिबेला नेपालमा गणतन्त्रको आगमन भयो अर्थात् व्यवस्था बदलेर जनमानसको आर्थिक र व्यावहारिक व्यवस्था सुधार्ने कम्युनिष्ट नारा दिएर नेताहरूले ‘जसको जोत उसको पोत’ आवाज गाउँगाउँमा पुर्याए तर ती नेताहरूले नेपालको पहिचानमा संस्कृति परम्परा र सम्पदाको ठूलै हात रहेको छ भनेर बुझ्न सकेनन् या चाहेनन् यी कुरा उनीहरू नै जान्लान् । त्यसपछि दोलखाको धेरै गुठीका जगाहरू मनोमानी तरिकाले व्यक्तिको नाममा नापी गराएपछि धेरै जात्रामात्रामा असर मात्र परेरन कि परम्परा धान्न समेत कठिन समस्या भोग्नुपरेको तीतो यथार्थ सही सत्य हो ।
यसको लागि समन्वय गरेर पूनः समन्वय गर्न नखोजेको त होइन । तर गणतन्त्रको गलत व्याख्या गरेर कसैकसैले संस्कृति र परम्पराको धज्जी उडाएर ती समुदाय सहभागी हुनबाट समेत रोकावट ढालेर स्थगित गरेको देखियो ।
यो जात्रा कसले सञ्चालन गर्थे त ?
दोलखाको ऐतिहासिक रुपरेखाका लेखकद्वय स्वर्गीय धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठद्वारा लेखिएको इतिहासको पानामा राजा नन्ददेव, वासुदेवको पाला देखि चलिआएको भन्नेकुरा देखिए पनि पिङ्गलटोलबाट शुरु गरिने सो जात्राका पुस्तेनी उल्लेख नभएपनि दोलखाको हाल भीमेश्वर नगरपालिका वडा नं. २ स्थायी घर भएका तर काठमाडौं रविभवन सुनारगाउँमा बस्दै आउनु भएका याकरगण खलकका जेष्ठ नागरिक यज्ञकुमार प्रधानद्वारा लेखिएको दोलखाको साँस्कृतिक सम्पदाको पृष्ठ २०९ मा जनाइए अनुसार पिङ्गल टोलका बुद्धिनारायणको नाममा जात्रा सञ्चालनको लागि दिइएको जिम्मा दिइए भनिए तापनि स्थानीय पिङ्गल टोलमा कति पुस्तादेखि चलाइएको आधार पाइँदैन र सो जात्रा लापिलाङ्, लेप्टुङ र कार्तिकेय् भन्ने ठाउँकै जग्गाको मातहतमा भएको हो या दोलखा वरिपरि पनि कुनै जग्गाजमीन दिइएको भन्नेबारे स्पष्ट हुन सकेको छैन ।
जे होस् यो मच्छिन्द्र नाथको जात्रा लगायत गुन्ला (गाईजात्रा) र दशैँमा जात्रा पर्व सञ्चालन गर्नमा पनि पिङ्गलटोलका यी तीन परिवारको प्रमुख योगदान रहेको छ । तत्कालीन गाउँ पञ्चायत वडा नं. ४ (हाल वडा नं. २) पिङ्गल टोलमा रहेका तीन दाजुभाइहरू जो धेरै पहिले नै दिवंगत भैसकेका छन् । जेठो हस्तबहादुर, माइलो बमबहादुर र कान्छो शेरबहादुरका पूर्खादेखि नै सो मच्छिन्द्र नाथको जात्रा सञ्चालन गर्ने अभिभारा पाएर त्यस बापतको जग्गा पनि कमाएर जात्रा चलाउँदै आएका हुन् । यो क्रम उहाँहरू जीवित छउन्जेल मात्र होइन उहाँका सन्तान दरसन्तानहरूले निरन्तरता दिँदै आएका पनि थिए । कालान्तरमा जेठो दाजु हस्तबहादुर श्रेष्ठ जो पछि मात्र प्रधानको थरमा समेटिएका हुन् ।
त्यसताका मुग्लान पसेर जागिर खाने क्रममा सिक्किम, दार्जिलिङ, आसाम, खर्साङमा पुगेका नेपालीहरू अधिकांशले जुन थर भएपनि प्रधानको तक्मा पाउने चलन थियो जुन अध्यावधि छ । त्यही क्रममा हस्तबहादुर श्रेष्ठले पनि प्रधान लेख्न थाले र पछि उहाँका शाखा सन्तान नै प्रधान लेख्न थालेको र हाल प्रधान परिवार नै कहलाइएका छन् भनेर उहाँहरूकै नजिकैको नातेदारले जानकारी दिएका हुन् । उनै हस्तबहादुर प्रधानका भाई कलक बहादुर प्रधान र कलक बहादुरका चार छोराहरु कृष्णबहादुर प्रधान, ज्ञान बहादुर प्रधान, रतन बहादुर प्रधान र अर्का मन बहादुर प्रधान पनि हुन् ।
तर वमबहादुर र शेरबहादुरका सन्तानले भने श्रेष्ठ नै थरलाई कायम राखेका छन् । जस अनुसार बमबहादुर पट्टिबाट छोरा नभएको तीन छोरी मात्र भएको अनि शेरबहादुर पट्टिबाट बिष्णुबहादुर श्रेष्ठ र हरिप्रसाद श्रेष्ठ भए । यी चौथो पुस्ता पनि धेरैको देहान्त भैसकेको छ र अ।हले उहाँहरूका पाँचौ पुस्ताका खनातीहरूले परम्परमलाई धान्दै आएको देखिन्छ ।
जसमा अहिले प्रधान परिवारका कृष्णबहादुर, मनबहादुर, ज्ञानबहादुर र रतनबहादुरका छोराहरू मध्येमा अधिवक्ता सुरेश प्रधान, र राजेश प्रधानका दाजुभाइ समेतले दुई वर्ष लगातार जात्रा सञ्चालन गर्ने र स्वर्गीय बिष्णुबहादुर श्रेष्ठका छोरा राम श्रेष्ठ र हरिप्रसाद श्रेष्ठका छोरा भविन्द्र र ईन्सपेक्टर भुपेन्द्र श्रेष्ठले ३/३ वर्षको एकपटक सञ्चालन गर्दा उनीहरूलाई ६ वर्षमा १ पटक पालो पर्ने हुन्छ ।
रथ सञ्चालनमा देन कसको त ?
यो मच्छिन्द्र नाथको रथ तैयार गर्नेहरूमा थामी समुदायको सहभागी भएतापनि यसको तैयारीमा अहोरात्र खटेर लाग्नेमा श्यामसुन्दरटोल पछाडिको थाछेँ टोलमा बस्ने स्वर्गीय अर्जबहादुर श्रेष्ठको योगदानलाई कसैले भुल्न हुँदैन । त्यसैगरी २०३९ सालदेखि २०५४ सालसम्म रथयात्रा पूर्णरुपमा बन्द भएको अवस्थालाई पछिल्ले चरणमा आएर जीवित तुल्याउने कालिन्चोक युवा क्लवका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठ सबैको माझ सक्रिय युवाको रुपमा छाएको छ जस्को अथक प्रयास र कालिन्चोक युवा क्लवको पहलले २०५५ साल देखि निरन्तर चल्दै आएको छ । विगत एक वर्षभने कोरोना महामारीको कारणले स्थगित गर्न विवश बन्नुपर्यो ।
दोलखाको मच्छिन्द्र नाथ रथयात्रामा ट्वालपूजा (स्वागतपूजा) र निमन्त्रणा पूजा !
दोलखाको ड्वाल्ङा (डोकूलुङा) टोलमा रहेको मच्छिन्द्रनाथको मन्दिरमा करुणामाईलाई चैतको पूर्णिमाको दिनमा दूधले स्नान गरेर राखिन्छ । अनि भोलिपल्ट साँझ सो करुणा माईको मूर्तिलाई बज्राचार्य खलक र तुलाधर समूह समेत अन्य स्थानीयहरू जम्मा भएर बाजागाजा भजनका साथ बोकेरै पिङ्गल टोलमा पुर्याइन्छ । अनि त्यसको भोलिपल्टदेखि रथ तान्ने परम्परा अनुसार पिङ्गल टोलबाट तानेर टोलटोलमा पुर्याउने प्रचलन रहेको छ ।
१ यही क्रममा सबैभन्दा पहिले रथयात्रा पिङ्गलटोलबाट शुरु गरेर बहिर नक्छेँ टोलमा पू¥याईन्छ । उक्त रथ त्यहाँ पुगेको दिनमा राइती धारा जाने बाटोमुनीको मानकाजी, बाबुकाजी र सोमबहादुरका सन्तानले पूजा गर्ने चलन छ । जसलाई स्वागत गरेको प्रतीकको रुपमा लिन सकिन्छ । सो दिन नक्छे र बहिर टोलको नखत (मूलपर्व) को रुपमा मानेर छोरीचेली र आफन्तलाई बोलाएर भोज खुवाउने चलन थियो ।
२ दोश्रो दिन नक्छेँ टोलबाट रथ तानेर श्यामुन्दर टोल र कोर्छेँ टोलको बीच भागको दोबाटोमा राखिन्छ । यो दिन टसिचा टोलको बासिन्दाको हिसाबले कसजु खलक र रामलाल श्रेष्ठको परिवारले निम्तो र स्वागत पूजा गर्ने गरेको छ । यसदिन हाब्चा, चाम्सली, नारानटोल, श्यामसुन्दर, कोर्छेँ, थातकोर्छेँमिहरूले मूल पर्वको रु्रपमा मान्ने गर्छन् ।
३ तेश्रोदिन कोर्छेँटोलबाट रथ तानेर टसिचा टोलमा पू¥याईन्छ । सो दिन पिङ्गल टोल नजिकैको छिमेकी टोल भएको कारणले हस्तबहादुरकै माइलो छोरा बमबहादुरका सन्ताले पूजा गर्नुपर्नेमा उनका छोरा नभएके र छोरी मात्र भएकोले छोरी ज्वाइँ राइती नारनटोलमा बस्ने पूर्व सइ प्रेमबहादुर श्रेष्ठले स्वागत पूजा गर्ने गरेका छन् । सो दिन त्यही टोल वरपरकाले मूल नखत (पर्व) को रुपमा मान्ने गर्दछन् ।
४ चौथो दिन टसिचा टोलबाट रास्नीको ठाडो उकालोमा भएभरको स्थानीय बासिन्दा र आगन्तुक धर्मालम्बीहरू समेत मिलेर दोलखाको माथिल्लो बजार भनेर चिनिने सिम्बुथानसम्म तानेर रथ पू¥याईन्छ । यो दिन त्यहाँसम्म पुर्याउन निकै कसरत गर्नुपर्छ । यहाँ पुग्ने क्रममा लिस्टोलका गुठियार खलक डम्बर बहादुर, भीम बहादुर र पुरान्छेँमि र दुङ्गलका चिनीबहादुरले स्वागतको रुपमा ट्वाल पूजा गर्ने चलन छ । यो दिन माथिल्लो टोलको पुरै बजारको मूलपर्व हुन्छ ।
५ पाँचौँ दिनमा सिम्बुथान माथिल्लो टोलबाट सोही बाटो हुँदै फर्काउने क्रममा रास्नीको दोबाटोबाट पूर्वतिर ताने् लगिन्छ र दुङ्गल टोलको सिम्बु थानमा पुर्याइन्छ । यहाँ पुग्दा लिस्टोलका इन्द्रबहादुर दुङ्गलटोलका कबीर, धन, भरत र अमरबहादुर सइका सनताले पूजा गर्ने चलन छ । यो दिन गगरलुङाटोल देखि दुङ्गल टोल सम्मका बासिन्दाले मूल नखत (पर्व) मान्ने गछन् ।
६ छैठौं दिन सो दुङ्गलटोलबाट पूनः सोही बाटो फर्काएर तानेर ल्याइन्छ र नसुटोलको दोबाटोबाट पश्चिमतिर लगिन्छ र पहिले रथ तैयार गरेको स्थान पिङ्गल टोलमा पुर्याएपछि रथयात्रा सम्पन्न हुन्छ । यहाँ पुगेपछि स्वागत पूजाको हिसाबले पत्रकार महेन्द्र श्रेष्ठ र ट्वालबहादुरका पूर्खादेखि नै ट्वालपूजा गर्ने प्रचलन रही आएको छ ।
७ सातौँ दिन जात्रा समापनको दिन रथबाट करुणामाइको मूर्तिलाई विधिविधान पूजाआजा गरि रथबाट निकालेर बाजागाजाका साथ भजन किर्तन नाचगान गर्दै गूभाजु नरेन्द्र तुलाधरले बोकेर पहिलेकै स्थान डोकुलुङामा पुर्यााएर समापन गर्ने प्रचलन छ ।
पाँचौ दिनको रथयात्रा अघिपछिभन्दा झनै जोखिमपूर्ण हुन्छ । बाटो ओह्रालो भएकोले अलिकति मात्र सन्तुलन नमिलेको खण्डमा ढल्ने सम्भावना धेरै हुन्छ । यही पंक्तिकै सिलसिलामा हामीले थाहा भए अनुसार एकपटक हालको बालमन्दिर परिसरमा र दुङ्गलको गन्तव्यमै पुग्ने बेलामा एउटा घरको आँगनमै झरेको थियो । त्यो रथ ढलेपछि पूनरनिर्माण्का लागि समय त लाग्ने भयो त्यसपछि आइपर्ने प्रतिकूल अवस्थाले मानवीय सोचाइमा समेत विपदको शंकाले डेरा जमाउन थाल्छ ।
सो रथ ढलेपछि त्यसको टुप्पाको गजुर या झण्डाले कुन दिशामा छोएको छ त्यतातिरको घरतिर अनिष्ट हुनेभयो भनेर चिन्तित हुने प्रवृत्ति निकै पछिसम्म चलिरहेको थियो । त्यसमा पनि रथ ढलेपछि भेंडा (थुमा) बलि दिनुपर्ने प्रचलन छ । यसरी क्षमा पूजा नगरेसम्म करुणामाइले माफ नगर्ने आशंकाले त्रसित हुने गर्छन् ।
यो रथ परापूर्वकालमा ३२ हातको अग्लो बनाएर तान्ने गरिन्थ्यो भने उचाइको क्रम हेर्दा अहिले पनि लगभग ३२ फिट देखि ३५ फिटकै अनुमान लगाउन सकिन्छ । चौडाइ लगभग ८ फिट हुन्छ भने यो रथमा प्रयोग हुने काठहरू पाङ्ग्रा, बुर्जा, धर्मासी (मूल भैरवकाठ) चौकोसको लागि कि त रानीबन (काँरल बन) र सिंहबनबाट ल्याउने गरिन्छ । डोरी पहिले पहिले चोयाबाट बनाइएको हुन्थ्यो चोयाको डोरीले रथ तान्दा धेरैको हातमा घाउ लाग्ने भएकोले पछि बाबियोको डोरी पनि जोडेर तान्ने गर्न थालेको थियो ।
अन्तमा,
दोलखाको मच्छिन्द्रनाथको रथजात्राको एक विशेषता स्थानीय युवाहरूमा देखिने ऐक्यबद्धता, सख्खरबाट बनेको तिलौरी (चाक्सला) जुन सिक्री जस्तै बेह्रेर कलम आकारमा बनाइएको हुन्छ । यसवर्ष पनि धुमधामले मनाउन सबैको सहभािगतको जरुरी छ । यो वर्ष चैत २३ गते देखि बैशाख १ गते सम्म हुनेछ । जय करुणा माई !
लेख संयोजन : बालकृष्ण श्रेष्ठ “पासा”