बाँपीझ्याला, दोलखा । दोलखा महोत्सवमा करिव चार करोड बराबरको आर्थिक कारोवार भएको छ । सदरमुकाम चरिकोटस्थित टुंडिखेलमा फागनु १९ गतेदेखि २८ गतेसम्म चलेको महोत्सवमा करिव चार करोड बराबरको कारोवार भएको दोलखा चेम्वर अफ कमर्शले जनाएको छ ।
१० दिनसम्म चलेको महोत्सवको ३५ हजार भन्दा बढी सहभागी भई अवलोकन गरेको थाहा भएको छ । महोत्सवमा बाह्य पर्यटक भन्दा आन्तरिक पर्यटक नै बढी थिए । महोत्सवको समापन समारोहमा सहभागी हुन बागमती प्रदेशका सभामुख भुवन पाठक दोलखा आउनुभएको थियो ।
महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशका सभामुख पाठकले धार्मिक एवम् पर्यटकीय जिल्ला दोलखाले राष्ट्रिय महत्व पाउन नसक्नु दुखद भएको बताउनुभएको छ ।
उहाँले कोभिडपछि नेपालको अर्थतन्त्रका सबै संकेतहरु नकारात्मक अवस्था पुगेको बेला दोलखाको अर्थतन्त्रलाई चलायमान गराउन महोत्सव आयोजना गरेकोमा चेम्वर अफ कमर्शलाई धन्यवाद समेत दिनुभएको छ । महोत्सवमा आयोजना भएका विभिन्न प्रतियोगीताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।