Search

नलेखिएको दोलखाको इतिहास, अनुसन्धानको पखाइमा

नलेखिएको दोलखाको इतिहास, अनुसन्धानको पखाइमा

प्रा.अमन श्रेष्ठ

“जवसम्म दोलखाको इतिहास पूरा हुदैन, तवसम्म नेपालको इतिहास पनि अधुरो नै रहन्छ” ।
– बाबुराम आचार्य

इतिहास शिरोमणि बाबुराम आचार्यको उक्त भनाईले दोलखाको वस्तिको सुरुवात र इतिहास अति प्राचीन रहेको संकेत गरेको छ । गौरीशंकर हिमालको काख हिमाली पहाडी जिल्ला दोलखाको प्राचिन शहर दोलखाको आफ्नै ऐतिहासिक तथा मौलिक बिशेषता रहेको पाउँछौं ।

यो शहरले किराँतकाल, लिच्छवीकाल देखिको ऐतिहासिक एवं पुरातात्विक पृष्ठभूमि बोकेर मध्यकालमा सामाजिक, सांस्कृतिक एवं धार्मिक सम्पदाबाट सम्पन्नता हासिल गरेको हो । यस भेकमा प्राचीनकालको इतिहासलाई प्रकास पार्ने शिलालेख आदि ठोस ऐतिहासिक सामाग्री पर्याप्त मात्रमा नपाइएकोले पौराणिक तथा प्राचीनकालको इतिहासको झलक प्रमाणिक रुपमा दिन सकिएको छैननी । तर यसको खोज अनुसन्धान गर्ने क्रम भने जारी रहेको छ । उपत्यकामा शासन सञ्चालनको क्रम सुरु भएपछि राजा महाराजाहरुको राजदरवारमा ऋषीमुनी तथा विद्वान पण्डितहरुको आमन्त्रण, स्वागत, सत्कार आदिको कारण नेपालको वंशाली, शिलालेख, इतिहास लेख्ने कार्यको केन्द्रविन्दु त्यही उपत्यकालाई बनाउने गर्नाले उपत्यकाबाट अति टाढा रहेका स्थानहरुको अध्ययन अनुसन्धान भएन ।

त्यसैगरी गौरीशंकर हिमालको काख अति दुर्गम पहाडी स्थानमा रहेको प्राचिन शहर दोलखाको ऐतिहासिकतालाई समेटन नसकेको यथार्थतालाई सबैले स्वीकार्नु पर्ने नै देखिन्छ । न त यस क्षेत्रको अध्ययन, अनुसन्धान नै पूरा भएको पाईन्छ । दोलखाको प्राचीनतम वस्ति विकास, दोलखा नेवारी भाषाको उत्पत्ति आदिको आधारमा हेदा यो अनुमान गर्न सकिन्छ कि जसरी विश्व सभ्यताको विकास नाइल नदीबाट भएको मानिन्छ त्यसैगरी नेपालको सभ्यताको विकास पनि दोलखाबाट भएको हुनसक्छ । तर दोलखाको ऐतिहासिक अध्ययन अधुरो नै रहेकोले यसलाई प्रमाणको रुपमा पेश गर्ने कुनै आधार छैन । तापनि देहायका आधारबाट सो अनुमान गर्न सकिन्छः

  • नेवारी भाषा चिनी–तिब्बती भाषा परिवार अन्तरगत तिब्बती–बर्मेली समुहमा पर्नु र यो भाषाको प्रयोग पाँच पाण्डव दोलखामा गुप्तवास बस्दाको समयमै हुनु
  • प्राप्त किंबदन्ती र जनश्रुती अनुसार पाँच पाण्डवले दोलखामा गई गुप्तवास बस्न गौरीशंकर र त्रिपुरासुन्दरी देवीको आराधना गर्नु र दोलखामा महाभारत युद्ध (पौराणिक) कालमै भीमसेनको शिलाको उत्पत्ति र मन्दिरको निर्माण हुनु ।
  • दोलखाले भीमेश्वरको कथा मात्र बोकेको छैन अति प्राचीन समयका तान्त्रिक द्वय सिन्धु बन्धुु र महाभारतकाल भन्दा पहिला देवी त्रिपुरासुन्दरीको र बालकुमारीको स्थापना लगायतका इतिहास बोकेको छ ।
  • अति प्राचीन समयमा नेपाल र तिब्बतबीच आवत जावत गर्ने एक मात्र मार्ग तिब्बतबाट खासा, कुति, केरुङ हुदै दोलखाको चागु, विगु, लामाबगर भएर तामाकोशीको तिरैतिर सिंधुली भई दक्षिणमा भारतवर्ष आवत जावत गर्ने हुनुबाट पनि दोलखाको वस्ति अति पुरानो देखिन्छ । यो दोलखाको मार्ग पृथ्वीनारायण शाहको अधिनमा दोलखा नगएसम्म नै कायम थियो ।
  • उपत्यका जलमग्न हुँदा चीन–तिब्बतबाट मञ्जुश्री नेपाल आई सर्व प्रथम भक्तपुरको पूर्वमा अवस्थित आधुनिक मंजुश्री स्थान नामक पर्वत महामण्डपमा निवास गरी अनवरत तीन दिनसम्म स्वयम्भूको अराधना गर्दा भगवान स्वयम्भूले एक अलौकिक प्रकाश पुँजको रुपमा उनलाई दर्शन दिएपछि नागदहबाट जल निकास गर्न आफ्ना दुई शक्ति वरदा र मोक्षदालाई क्रमशः फुल्चोक र ध्यानोच्च पर्वतमा स्थापीत गरी कटवाल (चोभारको डाँडा) नामक स्थान काटी जल प्रवाह गरेपछि बस्न गोग्य भएको ( भण्डारी, नेपालको …विश्लेषनात्मक इतिहास, पृ.२३) र यहाँ सबभन्दा पहिला गोठाला गोपाल र महिषपालहरुले शासन गरेको इतिहास छ । सो इतिहासमा मञ्जुश्रीिको नेपाल आगमन कहाँबाट भएको हो भन्ने सम्बन्धमा कुनै उल्लेख पाइदैन । त्यसवेला चीन–तिब्बत आवत जावत गर्ने एक मात्र मार्ग दोलखाबाट भएको हुँदा दोलखाको मन्नेश्वरीमा मञ्जुश्रीको दुई पाइलाको पदचाप (यद्यपी हेर्न र देख्न सकिन्छ) रहेको हुँदा यसबाट मञ्जुश्रीको आगमन र प्रस्थान दोलखाको बाटोबाट भएको अनुमान गर्न सकिन्छ । यो मन्नेश्वरीको मन्दिरलाई सरस्वती माताको रुपमा पूजा तथा अराधना गर्ने गरि आएको छ ।
  • दोलखाका सम्बन्धमा बि.सं. २०६९ मा ललितपुरको चापागाउँमा फेला परेका बि.सं. १०४८ (ने.सं.१११) को ताडपत्र सबभन्दा पुरानो प्रमाण मानिन्छ । सो ताडपत्रमा ललितपुरका राजाको नाम श्री राजदेव मल्ल र भाईको नाम कथदेब मल्ल लेखिएको छ । ललितपुरको लागि दोलखाबाट धर्मपुत्र, कसाही, डोयजोगी, जोगी, पाधजु र धनराज किनी ल्याएको कुरा उल्लेख हुनुबाट उपत्यकामा मल्लहरुको आगमन पनि दोलखा बाटै भएको हो कि भन्ने सवाल उठेको छ (छत्र बहादुर कायस्त, नेपालको संस्कृति, मासिक पत्रिका) ।
  • तिब्बती बजारमा नेपाली मुद्राको एकलौटी व्यापारको कारण प्रताप मल्लको समयमा तिब्बतका कुक्कु भोटेहरुले नुवाकोट माथि आक्रमण गरेका थिए, जसलाई दमन गर्न कान्तिपुरले पाल्पाको समेत सहयोग लिनु परेको थियो । काजी भीम मल्लले तिब्बत जाने मार्गमा नेपाल बाहेक भारतबाट जाने सम्पूर्ण मार्गहरुसमेत रोक्ने व्यवस्था गरी दोलखाको छापा गाउँमा सो १२०० पल्टन स्थापना गरी राती तिनीहरुको शिरमा बत्ति बाली राख्ने गर्नाले सो देखि नेपालले तिब्बत माथी भयंकर आक्रमण गर्न लागेको भनि तिब्बतीहरु भागेको र यो युद्धमा नेपालले विजय हासिल गरेका थिए । केरुङ सन्धि भई युद्ध रोकिएको थियो, नेपालले तिब्बती क्षेत्रमा कुती, केरुङ र खासा प्रदेशहरुमा आफ्नो अधिपत्य कायम गरेका थिए ।
    दोलखाको इतिहासको सोधखोज तथा अध्ययन गर्ने काम इतिहास शिरोमणि बाबुराम आचार्य, धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ, मोहन खनाल, नरहरि आचार्य आदिबाट केही छर्लङ्ग्याउने प्रयास भएपनि दोलखा जस्तो ऐतिहासिक दृष्टिले महत्वपूर्ण प्रदेशको इतिहासको अध्ययन, अनुसन्धान अपुरो नै रहेको छ । यहाँका पुरातात्विक स्थल, सांस्कृतिक सम्पदा, प्राकृतिक तथा भौतिक स्रोत, पर्यटकीय स्थल आदिको अध्ययन अनुसन्धान गरी तिनलाई उजागर गर्न बाँकी नै रहेको कुरा स्वयं अनुसन्धानकर्ता एवं इतिहासविद्हरुले नै महसुस गरेका छन् । बि.सं. २०३१ सालमा त्रि.वि., नेपाल र एशियाली अध्ययन संस्थानबाट प्राज्ञ द्वय धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ २०३० सालको अन्त्यतिर ऐतिहासिक दृष्टिले महत्वपूर्ण दोलखाको ऐतिहासिक सर्भेक्षण गरी त्यसको राजनीतिक, सामाजिक, आदि पक्षका रुपरेखा प्रस्तुत गर्ने उद्देश्यले दोलखामा पुगी डेर महिना जती दोलखा शहरमा मात्र बसी त्यहाँ प्राप्त विभिन्न कागजपत्र तथा प्रमाणहरुको आधारमा प्राज्ञ द्वयको सहलेखनमा त्रि.वि., नेपाल र एशियाली अध्ययन संस्थानबाट “दोलखाको ऐतिहासिक रुपरेखा, २०३१” प्रकाशित भयो । त्यसपछि नै दोलखाका प्राज्ञहरुले आफ्नो दोलखाका इतिहासका सम्बन्धमा चासो राख्न थालेको पाईन्छ ।

दोलखाका सम्बन्धमा हालसम्म प्राप्त प्रमाणहरुमा ने.सं. १११ (बि.सं.१०४८) को ललितपुरको चापागाउँमा पाइएको ताडपत्र र गोपाल राज वंशावली रहेका छन् । ललितपुरका छत्र बहादुर कायस्थले नेपालको संस्कृति नामक मासिक पत्रिकामा छापिएको आफ्नो लेखमा सो ताडपत्र हालसम्म पाइएको ताडपत्रहरु मध्ये सबभन्दा पुरानो अप्रकाशित राज्य व्यवस्था सम्बन्धी ताडपत्र हो । नेवारी भाषामा लेखिएको सो ताडपत्रमा दोलखाका सम्बन्धमा यस्तो व्यहोरा उल्लेख भएको छः
“भंसारमा म्ह्यायमचात मेव जातयाकेमेल वने मदु । थवगु कुलयात महंसे थब्बाको क्वब्बाको वनसा तोलताव छोयेगु । भंसारया सुवाद यलय बाबुचां कुमि (सन्तान) मदयाव दोलखां झिनितका तंका मचा छम्ह न्यानाव हयागु जुल । ध्वथेतुं दोलखां नाय्– झितकां, डोयजोगी– झिंन्यातका, भात– नीच्यातकां न्याना ह्यागु जुल । भातजक गामस जुइगु चगुनिला जात्रास सिन्मभु जोनकेम्ह जुल ।”


सो ताडपत्रको महत्वपूर्ण बिषयहरुको विश्लेषण गर्दै लेखक कायस्थले दफा ७ र ८ मा यस्तो कुरा उल्लेख गर्ने भएको छः
“७. दोलखा डोयजुगी, जुगी, नाय्, पाधजु, धनराज, भात व धर्मपुत्र न्यान हवगु जुल । थुकिं नेपाल सम्बत ११० निसे हे यल देशया दोलखा लिसेस्वापुल दये धुंकुउगु खँ प्रमाणित जुउ ।
८. थ्व ताडपत्रया छयास कुमी = सन्तान मदयाव दोलखा न्याना हयाव धकाव च्वया तवगुलिं चेपिं मल्लत दोलखा वा देशस ववपिं खँने दु ।”
सो ताडपत्रमा राजाको नाम श्री राजदेव मल्ल र भाइको कथदेव मल्ल उल्लेख गरिएको देखिन्छ । गुण कामदेवको शासनकाल ने.सं. १०७ देखि १२५ सम्म चलेको मानिन्छ । ताडपत्रमा दोलखाको शासक को थिए भन्ने सम्बन्धमा उल्लेख पाइदैन । ताडपत्रमा कसाही १० रुपैयाँ, डोयजोगी १५ रुपैयाँ, धनराज भात २८ रुपैयाँ, धर्मपुत्र १२ रुपैयाँ जोगी ८ रुपैयाँ र पाधजु २४ रुपैयाँमा दोलखाबाट ललितपुरमा किनी ल्याएको कुरा उल्लेख गरिएको छ । यसबाट दोलखा र ललितपुरको सम्बन्ध ने.सं. १११ भन्दा पहिलादेखि नै भएको पुष्टि हुन आउँछ । संस्कृतविद् लेखकले आफ्नो लेखमा दोलखाबाट धर्मपुत्र लगायत किनेर ल्याएकोले मल्लहरु उपत्यकामा दोलखाबाटै आएका हुन् की भन्ने प्रश्न उठाएका छन् । यस तथ्यगत आधारबाट पनि दोलखाको इतिहासको थप अध्ययन अनुसन्धान हुनु आवश्यक देखिएको छ र यसमा राज्यले नै ध्यान पु¥याउन सकेमा नेपालको इतिहासमा नै थप तथ्यहरु फेला पर्ने सम्भावना देखिएको छ ।

गोपाल राज वंशावलीमा दोलखाको बिषयमा लेखिएको छः “नेपाल सम्वत् ४४६ (बि.सं.१३८२) माघ शुक्ल तृतीया । तिरहुतका राजा हरिसिंह देवले रैतीहरु जम्मा पारी आपूm अघि सरीमिथिलाबाट दिल्लीका गया सुद्धीन तुगलक (तुरक) माथी जाइ लागे । सिम्रोनगढ ध्वस्त पारियो । तिरहुतका राजा मन्त्री आदि सबै उठी भागे । केही काल पछि फेरि पसे । केही कालपछि राजग्राम दोलखामा आउँदा टिंपाटमा (तीनपाटन) राजा हरिसिंह देवको मृत्यु भयो । यिनका छोरा मन्त्री दुबै कैद गरिए परिवार पनि समातियो । शरण मागे राजग्रामका भारदारले जम्मै धन हाल लाए । ”

उल्लिखित लेखाईलाई नियाल्दा त्यसवेला सिम्रौनगढबाट नजिक काठमाडौं उपत्यकामा शरण लिन नगई तत्कालिन अवस्थामा धेरै टाढा पहाडमा अवस्थित दोलखाको राज्यसत्ता (राजग्राम) उपत्यकाको भन्दा राजनीतिक रुपमा बलियो रुपमा रहेकोले दोलखामा शरण लिन गएको हुनुपर्छ, यसबाट पनि दोलखाको इतिहासको थप अध्ययन अनुसन्धान हुनु आवश्यक देखिन्छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!