बाँपीझ्याला, काठमाण्डौं । नेकपा माओवादी केन्द्रको काठमाण्डौं महानगरीय पूर्ण बैठक आज काठमाडौंको ठमेल परिसरमा रहेको नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको छ । माओवादी पार्टीको काठमाडौं महानगरपालिका समिति अन्तर्गत भएको सो बैठकको सभापतित्व समितिका अध्यक्ष रविन्द्र श्रेष्ठले गर्नुभएको थियो ।
प्रमुख अतिथिको रुपमा बागमती इन्चार्ज लगायत उक्त कार्यक्रममा केन्द्रीय स्तरको व्यक्तिलाई आमन्त्रण गरिएको थियो । बागमती प्रदेशको सदस्यको रुपमा महिला सदस्य सरिता शिवभक्तिको मात्र उपस्थिति थियो भने विशेष अतिथिको रुपमा काठमाडौं जिल्लाका संयोजक उमेश स्थापितको उपस्थिति थियो भने अतिथिको रुपमा केही अन्य व्यक्तित्वको उपस्थित रहेको थियो ।
स्थानीय निर्वाचन र संसदीय तथा प्रतिनिधिको निर्वाचन पछिको पहिलो बैठकमा ५९ जना सदस्यहरूको उपस्थिति देखिए पनि बैठकको सिलसिलामा जम्मा २२ जनाले मात्र आ–आफ्नो धारणा राखेका थिए ।
आजको बैठकमा काठमाडौं महानगरपालिकाको सबै वडाका प्रतिनिधिलाई आ–आफ्नो बिचार व्यक्त गर्न वडा नं १ देखि ३२ सम्मका प्रतिनिधिहरूलाई पालो दिइएको थियो । तर धेरैजसो लगभग नगरपालिकाका १० वटा वडाका प्रतिनिधि उपस्थित देखिएन ।
आजको बैठकमा केही वडाका सदस्यहरूले नेपाली काँग्रेससंगको गठबन्धनले नेकपा माओवादी सिद्धान्त र बिचारको औचित्यको मार्गलाई लत्याएको कारणले नै माओवादी केन्द्रले पराजय भोग्न विवश हुनुपरेको कुरा औल्याए भने केहीले मात्र गठबन्धन बाध्यात्मक परिस्थिति रहेको बताए ।
स्थानीय निर्वाचनमै नेपाली काँग्रेसले ठाउँठाउँमा धोका दिएको स्पष्ट हुँदाहुँदै संसदीय निर्वाचनमा पछि लाग्नु नै काठमाडौंका सबै क्षेत्रबाट हात धुन बाध्य हुनुपरेको यथार्थलाई व्यक्त गरेको देखियो ।
यसैगरी जनस्तरमा कार्यकर्ताले सक्रिय भूमिका निभाउन असक्षम हुनुपनि पराजय भोग्नु हो भन्दै काठमाडौंका मतदाताले माओवादीलाई भोट हाल्न कञ्जुस्याईँ गर्नुको प्रमुख कारण नै केन्द्रीय तहका नेताहरूले केन्द्र भित्र आफ्ना आफन्त र चाप्लुसीलाई प्रश्रय दिएको कारणले अब आईन्दाको अवस्थामा नेकपा माओवादी झनै खस्किन सक्ने कुरा बताए । साथै हरेक वडाका मतदाता, नागरिक र स्थानीय बासिन्दाको गुनासो सुन्नबाट केन्द्रीय तथा प्रदेश तहका नेताहरू आजका सभाका अध्यक्ष रविन्द्र श्रेष्ठले केन्द्रीय तहबाट काठमाडौं महानगरका माओवादी कमिटिलाई बेवास्ता गरेको कुरालाई स्वीकार्दै आफ्ना कार्यसमितिका पदाधिकारी लगायतका सदस्यहरूलाई नीच मारेर होइन जागरुक बनेर अघि बढ्न जरुरी रहेको कुरा बताए ।
त्यसैगरी आजको बैठकमा उठेका जिज्ञासालाई आत्मसात गर्दै काठमाडौं जिल्लाका संयोजक उमेश स्थापितले संविधानकै मूल धारमै रहेर केन्द्रीय तहले प्रदेशलाई जानकारी दिने हो ।
त्यसै गरी प्रदेशले जिल्लालाई जिल्लाले अनि मात्र नगर तथा पालिकालाई कार्य निर्देशन गर्ने नियम रहेकोले पनि केन्द्रको ध्यान वडा क्षेत्रमा पुग्न बिलम्ब भएको हुनसक्ने सम्भाव्यतालाई औँल्याउँदै आगामी कार्ययोजनालाई सशक्त बनाउन यो बैठक जस्तै अर्को बैठक राखेर स्थानीय देखि केन्द्रसम्म आवाज पुग्ने गरी ज्वलन्त उदाहरणीय तर्क पेश गर्न सबै कार्यकर्ता लगायत समिति भित्रका सदस्यहरूले सही कदम चाल्नुपर्ने आवश्यकता रहेको बताए ।