Search

मन : मुटुमा हुन्छ कि मस्तिष्कमा ? ….मन मुटुमै अवस्थित

मन : मुटुमा हुन्छ कि मस्तिष्कमा ? ….मन मुटुमै अवस्थित

जब तपाईंलाई कसैले नमिठो वचन बोल्छ, मनमा च्वास्स बिझ्छ । जब तपाईंलाई कसैले हार्दिकतापूर्वक तारिफ गरिदिन्छ, मन गर्वले ढक्क फुल्छ । जब तपाईंले अप्रत्यासित अप्रिय खबर सुन्नुहुन्छ, मन चिसो हुन्छ ।

तर तपाईंको भाव-आवेगलाई महसुस गर्ने त्यो मन कहाँ हुन्छ ?
कहिले दुख्ने, कहिले पोल्ने, कहिले बिझाउने, कहिले चिसो हुने मन स्थुल शरीरमा खोजेर कहीं पाइँदैन । यद्यपि जब मनको कुरा गरिन्छ, तब हामी मुटुलाई इंगित गर्छौं । हामीलाई लाग्छ, मन भनेकै मुटु हो । तर मन मुटुमै अवस्थित हुन्छ ?

यो प्रश्न किन पनि जरुरी हुन्छ भने स्नायुरोग विशेषज्ञहरु मान्छेको भावनात्मक स्थितिलाई मस्तिष्कले महसुस गर्ने दाबी गर्छन् । त्यसो भए हामी किन मन भनेर मुटुलाई संकेत गर्छौं ?

मुटु भनेको शरीरको एउटा अभिन्न अंग हो । तर मन भन्नाले भावना, विचार र सोचाइसँग जोडिन्छ । मुटु चिरेर हेर्दा त्यहाँ मन भेटिंदैन । तर मनलाई दुख्यो भने मुटुलाई असर भने पर्छ । मन मुटु, मस्तिष्क र शरीरको अन्य अंगसँग पनि सम्बन्धित रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजु बताउँछन् । ‘प्राकृतिक रूपमा नै मुटुको आफ्नै स्वचालित प्रणाली छ । मुटुले जे गर्छ, सामान्यतया मस्तिष्कको निर्देशनमा नै गर्छ,’ उनी भन्छन् ।

दुःख हुँदा चित्त दुख्दा, अत्यास लाग्दा हाम्रो मुटुको चाल बढ्ने भएकाले मुटुमा महसुस हुन्छ । मुटुसँगै अनुहार पनि रातो हुने, कसैको हातमा पसिना आउने पनि हुन्छ । तर भावनात्मक कुरा मुटुमा धेरै कुरा महसुस हुने भएकाले मनलाई केही भयो भने मुटुलाई असर गर्छ भनिन्छ । मुटुलाई असर नगर्ने पनि होइन, धेरै असर गर्छ । मन शान्त भयो भने मुटु बिस्तारै धड्किन्छ । मन अशान्त भयो भने मुटुलाई प्रेसर पर्छ छिटो छिटो धड्केर मुटुमा असर समेत पर्न सक्ने डा. कोजु बताउँछन् ।

‘मुटु शरीरको सबैभन्दा प्रमुख अंग हो । मनमा पीडा हुनु त गम्भीर कुरा हो र यसलाई मुटुसँग जोडियो भने यसको प्राथमिकता झन् बढ्ने भयो,’ उनी भन्छन्, ‘त्यसैले मानिसहरूले मनलाई मुटुसँग जोडेको हुन सक्छ ।’

भावनात्मक कुरालाई मुटुले महसुस गर्छ कि गर्दैन ?
भावनात्मक कुरालाई मुटुले महसुस गर्छ । भावनात्मक उथलपुथल हुँदा मुटुले त्यसको प्रतिक्रिया जनाइहाल्छ । भावनालाई पनि हामी व्याख्या गर्न सक्दैनौं । कोहीसँग प्रेम हुनु मात्र भावना होइन । कसैसँग वितृष्णा हुनु पनि भावना नै हो । यसरी शरीरमा विभिन्न तरंगहरु पैदा हुन्छन् र हरेक तरंगले मुटुलाई असर गर्ने डा. कोजु बताउँछन् ।

‘परीक्षा दिने बेलामा मनमा एक खालको डर पैदा हुन्छ । झुट बोल्दा, प्रेममा पर्दा पनि पक्कै मुटुको धड्कन बढ्छ । भावना र मन भिडियो एक्सरेमा देखिंदैन तर महसुस भने हुन्छ,’ उनी भन्छन् ।

चिकित्सा विज्ञानको हिसाबले हेर्दा शरीरमा भावनात्मक कुराहरू उत्पन्न हुँदा हाम्रो स्नायु प्रणालीमा हुने ‘स्याम्पथिक’ तथा ‘प्यारास्यापथिक’को गतिविधि सक्रिय हुन्छ । ‘स्याम्पथिक’ तथा ‘प्यारास्यापथिक’लाई स्वायत्त स्नायु प्रणाली पनि भनिन्छ जसले मुटुको चाल बढाउने, रगत धेरै पम्प गर्ने, विभिन्न हर्मोनहरु निस्कने गर्छ । हामी दुःखी हुँदा चिन्तित हुँदा तथा अत्यास मान्दा मस्तिष्कको यी स्नायु प्रणालीहरू सक्रिय हुन्छन् र मुटुसँगै शरीरको अन्य अ‌ंगहरुमा पनि असर देखा पर्ने डा. कोजु बताउँछन् ।

सामान्य अवस्थामा एक मिनेटमा ६० देखि ८० पटकसम्म मुटु धड्किने गर्छ । तर आत्तिएको बेला र खुसी भएको बेला १०० भन्दा माथि पुग्ने उनले बताए ।

मन मुटुमा महसुस हुन्छ वा मस्तिष्कमा ?
मन भनेर जहाँ हामीलाई महसुस हुन्छ त्यो मस्तिष्कमा नै हुन्छ । माया प्रेमको कुरालाई भावनात्मक कुरालाई हामी मनसँग जोड्छौं । कुनै पनि कुराको महसुस मस्तिष्कमा पुग्छ र मस्तिष्कको निर्देशनमा शरीरको विभिन्न अंगहरुले प्रतिक्रिया जनाउने वरिष्ठ न्युरोलोजिस्ट डा. सुनिल कोइराला बताउँछन् ।

उनी भन्छन्, ‘मन भौतिक रूपमा त शरीरमा कतै पनि भेटिंदैन । तर हामी भावनात्मक कुरालाई मनसँग जोड्ने भएकाले मन मस्तिष्कमा हुन्छ । हामीले कुनै कुरा देख्यौं, सुन्यौं वा महसुस गर्‍यौं भने त्यो मस्तिष्कमा पुग्छ ।’

हाम्रो हरेक भावनात्मक कुराहरू मस्तिष्कले नियन्त्रण गर्छ । मस्तिष्कको निर्देशनमा नै हाम्रो शरीर चलेको हुन्छ । भावनात्मक उथलपुथल हुँदा मस्तिष्कमार्फत नै शरीरका अंगहरुले प्रतिक्रिया गर्न थाल्छन् । मुटुको चाल बढ्ने, आँखाबाट आँसु आउने, शरीर तात्ने र रातो हुनेजस्ता लक्षण देखिन थाल्ने कोइराला बताउँछन् ।

मन भन्ने कुरा मस्तिष्कले महसुस गर्ने हो । तर हामी संकेत भने मुटु भएको ठाउँमा गर्छौं । किनकि सुख, दुःख पीडामा मुटुको गति बढ्छ । मुटुको गति बढ्नुमा पनि मस्तिष्कको नै भूमिका हुने कोइराला बताउँछन् ।

मस्तिष्कले बाहिरको परिस्थितिको आँकलन गरेर स्नायु र हर्मोनमार्फत मुटुलाई संकेतहरु पठाउने उनी बताउँछन् । ‘यी संकेतको आधारमा मुटुले सामान्यतया लड्ने कि, डराउने कि, भाग्ने (फाइट, फलाइट र फलाइट) भनेर छुट्टाउँछ र यसको प्रतिक्रियात्मक मुटुको ढुकढुकी बढ्छ,’ उनी भन्छन् ।

भावनात्मक उथलपुथलले मुटुलाई प्रभाव पार्छ कि मस्तिष्कलाई ?
भावनात्मक उथलपुथलले पहिले मस्तिष्कलाई प्रभाव पार्छ अनि मात्र मुटुलाई । मस्तिष्कको निर्देशनपछि नै मुटुको धड्कन बढ्ने हो । भावना र अनुभूतिहरूको उत्पत्ति मुटुबाट नभई मस्तिष्कबाट हुने कोइराला बताउँछन् ।

मस्तिष्कबाट स्नायुहरू आँखा, कान, नाक, मुटुलगायत शरीरका सम्पूर्ण भागमा फैलिएका हुन्छन् । मस्तिष्कले आफ्नो नियन्त्रण प्रणालीमार्फत विभिन्न अंगहरुमा संकेतहरु पठाउँछ र त्यसैअनुसार सो अंगले प्रतिक्रिया दिन्छ । मुटु पनि त्यस्तै प्रतिक्रिया दिने एउटा अंग मात्रै भएको कोइराला बताउँछन् । उपयोगीताको लागि अनलाईन खबरबाट

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!