सन् १९७४ देखि १९७६ सम्म दोलखाको हिमाली क्षेत्रमा रहेका आदिवासी जनजातिको रहनसहन र यथास्थितिबारे एकजना विदेशी नागरिक क्यास्पर जे. मिलरले बडो अभिरुचि पूर्वक गहन अध्ययन गरिएको पाइयो । दुईवर्षको कठोर अध्ययन र खोजिनीति पश्चात् दोलखाको प्राग इतिहासमा व्यक्त गरिएको ‘हिपाथामी’ (रक्तयुक्त थामी) को सम्बन्ध दोलखा पत्तन (दोलखा देवस्थल) को परिसरका बासिन्दा र देवीकोट (त्रिपुरासुन्दरी) बीचमा कसरी निकटता भएको रहेछ भन्ने कुरालाई उजागर पारिएको छ ।

दुई वर्षको अथक प्रयास पछि इतिहास अन्वेषक क्यास्पर जे. मिलरले सन् १९९७ मा नेपालको त्रिभुवन विश्व विद्यालय र भारतको राजधानी नयाँदिल्लीमा रहेको ‘फेथ प्रकाशन’ को संयुक्त प्रकाशक ‘सिन्यास’ ले प्रकाशन गरेका ‘फेथ हिलर इन हिमालय’ भन्ने नामक पुस्तकमा प्रस्तुत गरेका पानाहरू पल्टाएर हेर्दा दुम्कोट निवासी थामीका ‘मूल नारी’ (थामी समुदायका मूल पूजारी) र देवीकोटका पुजारीको बीचमा गहिरो सम्बन्ध रहेको बुझिन्छ ।

उक्त पुस्तकमा केवल दुम्कोटका थामी समुदाय र र दोलखाको नेवार जातिय समुदायका कुरा मात्रै होइन यहाँ ‘कामी झाँक्री’, ‘थामी झाँक्री’ र ‘थापा क्षेत्री झाँक्री’ को समेत वर्णन गरिएको पाइन्छ ।
प्राचीन शहर दोलखामा रहेको देवीकोट मन्दिर (त्रिपुरासुन्दरी भगवती) र दोलखाको उत्तरी भागको ग्रामीण बस्ती दुम्कोट (सुस्पा) मा रहेको थामी समुदाय बीचमा रहेको साँस्कृतिक र धार्मिक सम्बन्धमा समन्वय भएको कुरालाई लेखक क्यास्परले असाधारण तरिकाले व्यक्त गरेको देखिन्छ ।
दोलखाको देवीकोट मन्दिरमा हरेक वर्ष हिन्दूहरूको महान पर्व दसैंको विजया दशमी अर्थात् टिकाको दिनमा ‘हिपाथामी’ नामबाट एक विशेष खालको मौलिक जात्रा मानिंदै आएकोमा विगत २०७१/०७२ सालदेखि पूर्ण रुपमा बन्द भएको छ । हो, यही जात्रा सोही थामी समुदाय र दोलखाका नेवार समुदायको र्सयुक्त समन्वयमा चलिआएको थियो । यस जात्रामा प्रमुख भूमिका नै तिनै थामी समुदायले निभाएका थिए ।

अब यी जात्रा किन रोकिए ? यस जात्रालाई स्थगन गर्नुको प्रमुख माध्यम के हो ? र अहिले फेला परेका पुस्तक ‘फेथ हिलर इन हिमालय’मा यो जात्राको बारेमा के लेखिएको छ ? भन्ने कुरा पछिल्लो हप्तामा सम्प्रेषण गर्नेछौँ ।