Search

अव जाने होईन त ? सरर… दोलखा कालिञ्चोक केवुलकारमा

अव जाने होईन त ? सरर… दोलखा कालिञ्चोक केवुलकारमा

उपेन्द्र प्रधान
दोलखा जिल्ला ऐतिहासिक, धार्मीक साँस्कृतिक, पुरातात्वीक, प्राकृतिक तथा मनोरञ्जनात्मक दृष्टिकोणबाट मात्र नभई दोलखा जिल्लाको गौरीशंकर हिमाल, दोलखा भीमेश्वर मन्दिर, त्रिपुरासुन्दरी भगवती देवी, कालिञ्चोक भगवती देवी, शैलुङ्गेश्वर महादेव, टासीगुम्वा बिगु, मेलारम्पा मेडिटेसन सेन्टर लप्ची, देवलाङ्गेश्वर महादेव, हलेश्वर महादेव माली, बेतेश्वर महादेव नाम्दु, जिरेश्वर महादेव जिरी, ढेङ्गेश्वर महादेव जिरी, कालिनागथान सुनखानी, रामबोले देवी ठुलोपातल, गाईखुरी महादेवको मन्दिर सुकाठोकर तथा त्रिवेणीधान चर्नावती, जस्ता विभिन्न धार्मीक एवं तिर्थस्थलले प्रख्यात रहेको छ । यसरी आस्था अनी विश्वास रहेको दोलखा जिल्ला भित्र पर्ने विभिन्न मन्दिरहरु मध्ये कालिञ्चोक भगवती मन्दिर पनि धार्मीक स्थलले मात्र नभई पर्यटकिय दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण र उपयुक्त गन्तव्य स्थलको रुपमा रहेको पाउँछौं ।

दोलखा भीमेश्वर नगर देखि करीव ३ कोस टाढा तत्कालीन सुस्पा–क्षमावती गाविस हाल कालिञ्चोक गाउँपालीका अन्तर्गत पर्ने कालिञ्चोक भगवती माई नेपालको प्रख्यात धार्मिक स्थलहरु मध्ये एक उच्च पहाडी भागमा अवस्थित रमणीय धार्मीक एवं पर्यटकिय स्थल मानिन्छ । समुन्द्र सतह देखि करिव १३ हजार ६ शय २ फिटको उचाईमा अवस्थित यस कालिञ्चोक भगवती धार्मीक आस्थाको धरोहर अनी पर्यटकीय दृष्टिले अत्यन्तै लोकप्रिय रहेको छ ।

कोभिडको संक्रमणले विश्वव्यापी महामारी फैलिने क्रममा यसको प्रत्यक्ष असर नेपालमा पनी प¥यो जसको कारणले नेपालका दोलखा लगायत ७७ वटै जिल्लामा विशेषतः पर्यटन क्षेत्रमा शुन्यता छायो । जसबाट पर्यटन व्यवसायीहरुले ठुलो नोक्सानी बेहोर्नु प¥यो । हुनत सवै क्षेत्रमा त्यतिकै असंर प¥यो तर पर्यटन व्यवसायमा अन्य व्यवसायमा भन्दा शुन्यतानै रह्यो भन्दा फरक नपर्ला ? कोभिडको न्युनता संगै अहिले पर्यटन व्यवसायमा केही सुधार होला भन्ने आशा व्यवसायीहरुमा जागेर आएको छ । यसै सन्दर्भमा दोलखा भीमेश्वर, कालिञ्चोक मन्दिरमा केही पर्यटकको आगमनले गर्दा अहिले व्यवसायीहरु सास फेर्न पाएको महशुस गर्न थालेका छन् ।

कसरी जाने कालिञ्चोक भगवती मन्दिर ?
काठमाण्डौबाट १३० किलोमिटर टाढा रहेको दोलखा जिल्लाको सदरमुकाम चरिकोट पर्दछ ।

काठमाण्डौंबाट मोटरको बाटोको हिसावले ठुलो बसमा ५ घण्टा भने सानो गाडीमा ४ देखि साढे चार घण्टा भित्र सदरमुकाम पुग्न सक्छौं । राजधानीको कोटेश्वरबाट विहानको ठिक साढे छ बजे काठमाण्डौंबाट दोलखा जाने एक्सप्रेस पाउँछ । यो बसको यात्रा पुरानो बसपार्क, कोटेश्वर, भक्तपुर, बनेपा धुलिखेल, दोलरघाट, बलेफी अनी खाडीचौर, मुडे, खरीढुंगा, बोच हुँदै चरिकोट दोलखा सजिलै करिव ४ घण्टामा आफ्नो यात्रा पुरा गछौं ।

दोलखा भीमेश्वरको दर्शन पश्चात कालिञ्चोक जाने हो भने जिल्ला प्रशासन दोलखाको प्राङ्गण हुदै ठारो उकालो लाग्नु पर्छ । तर मोटरको बाटोबाट काठमाण्डौंबाट आउँदा सिधै कालिञ्चोक जाने हो भने नगरपालीकाको मकैबारी त्यहाबाट उकालो कालिञ्चोक भगवतीको मन्दिर जाने उत्तर बाटो हामी जान्छौं । तर व्यक्तीगत गाडी रिजर्भको लागि जानलाई सदरमुकाम चरिकोट र दोलखामा बलेरो गाडीहरु भाडा सजिलै उपलब्ध हुन्छ ।

हुनत आजकाल कच्चीबाटो कालिञ्चोकको कुरीसम्म पुगी सकेको छ । तर पनि यो बाटो कच्चि भएको कारणले गर्दा हिउँ परेको बेला अलि गाहे हुन्छ भने अरु बेला सजिलै जान सकिन्छ । हामी साच्चिकै मनोरञ्जन लिएर कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्न जान्छौं भने तपाईहरु कोहि एकपल्ट पैदल यात्राबाटै कालिञ्चोक जान सक्नु हुन्छ । किनभने पैदन यात्राको मज्जा नै अक्कै हुन्छ ।

जब हामी पैदल यात्राबाट मकैबारीबाट माथि उकालो लाग्छौ त्यसपछि केहि घण्टामा देउराली भन्ने ठाउँ आउछ । जुन ठाउँ दर्शन गर्न जाने भक्तजन एवं पर्यटकहरुको लागि पहिलो आराम गर्ने थलोको रुपमा लिने गर्दछ । त्यसपछि दायाँ बायाँको सोभायमानका साथ फुली रहेका हरिया हरिया देउधाराका रुखपात अनि पर्यटकको स्वागतमा सुसेली रहेको गुँरास, पलाँस, चिमाल लगाएत सुगन्धीत अनेर्को फुलहरु सँग–सँगै मितेरी लगाउँदै अघि बढ्छौ यसरी अघि बढीरहेको बेला सायद यहि स्थानमा जन्मेको भए कति भाग्यमानी हुने थिए होला जस्तो भान हुन्छ ।

त्यसै गरी केहि घण्टाको हिडाईपछी गैरी आउँछ व्यवसायीक रुपमा चौरी पालन गर्ने दोलखाली शेर्पा समूदायका सदस्य र परिवारहरु यहाँ सजिलै भेट्न सकिन्छ । गैरीको दायाँ बायाँ अलि आखाँ लगायौ भने रंगी बिरंगी रातो, सेतो, निलो रंगको मिश्रित चिमालले उतीकै सोभायमान दिईरहेको पाउँछौ ।

अन्यन्त मनोमोहक र रमणीय स्थानमा रहेको यस टाकुरामा पुग्न बिभिन्न घना जंगलहरुलाई पार गर्दै गोरेटो गोरेटो लानु पर्छ । उत्तरतिरका अग्लिएर रहेका चुलीहरुले यहांको प्राकृतिक सौन्दर्य बढाएका छन् भने टाकुराबाट चारैतिरका हिम श्रृंखलाहरु तथा छिमेकी राष्ट्र चिनको सिमाना सजिलै देख्न सकिन्छ । यसरी हिम श्रृंखला र प्राकृतिक मनोमोहक दृष्यहरु यहाँबाट सजिलै देख्न सकिने भएकोले यस उच्च टाकुरामा रहेको पवित्र धार्मीक स्थललाई धार्मीक स्थलको रुपमा मात्र नभर पर्यटकिय स्थल बनाउनु पर्ने खाँचो रहेको छ ।

यस टाकुरामा पुग्नु भन्दा अघि बिभिन्न खोल्सा, तलाउ आदी पार गरेपछि बीच बाटोमा एउटा ठूलो ढुगांको च्यापबाट छिर्नु पर्दछ । यसलाई “धर्मको ढोका” भनिन्छ । यस ढोकाबाट केवल धर्मात्मा मानिस मात्र छिर्न सक्दछन् भन्ने जनश्रुती रहेको छ ।

यसै गरी अलि अलि तेस्रो तेस्रो उकालो हुदै अगाडी बढ्दै गएपछी प्राकृतिक मनोमोहक दृश्य संग अझ हातेमालो गर्दै अगाडी तेस्रो उकालो उकालो हुर्दै केहि घण्टाको हिडाईपछी गणेश ट्वापर सजिलै देख्न सक्छौ र पुग्छौं । गणेश ट्वापर पुगेपछी कतै गौरीशंकरको फेदतिर पो आई पुग्यौ की भन्ने आभास दिईरहको हुन्छ । किन भने यहाँनिरको मौसम अलि अलि चिसो, अलि अलि हुस्सुको कारणले गर्दा चिसो स्याठ चलिरहेको हुन्छ जुन नाक नै चिसिक्क दुख्ने गरि बगिरहेको हुन्छ ।

यस बेला नेपालमा पनी यस्तो पनी दृश्य र वातावरण भएको स्थान रहेछ भनी हामीले तल ओरालो तिर हेरेर आनन्द लिने अर्को स्वर्ण अवसर प्राप्त गछौं भने गौरव गर्छौ हामी नेपालमा जन्मेकोमा, हाम्रो नेपालको तर प्रकृतीले जती सुन्दरता दिएको छ त्यही अनुसार भौतीक संरचनाहरुको निर्माण भएर बाटोघाटो त्यही अनुसार पक्की बनेको भए अझ सुन माथी सुगन्ध हुने थियो होला ।

यसै गरी केहि समयको यात्रा अर्थात हिडाईपछी कुरी सजिलै पुग्न सक्छौं । पहिले पहिले मोटरको बाटो नपुगुन्जेल दिनभरीको थकाईमा आनन्दले कुरीमा मस्तको निद्रादेवीको लागि तिनतल्ले ओडारमा वासको खोजीमा हुन्थ्यौ भने अहिले गाडी चलेको पछी धेरै राम्रा राम्रा होटेलहरु संचालनमा आई, मिठो मिठो खाना खाने अवसर सजिलै प्राप्त गर्दछौं ।

तर दर्शन पछी फर्कने हो भने कुरीमा मिठो खाना खोजी गर्दै अडर दिएर कालिञ्चोक दर्शको लागि उकालो लाग्ने गर्दछौं । कति स्थानिय अनी बाह्य पर्यटकिय पाहुनाहरुले अर्थात युवा युवती, सामूहिक पारिवारीक सदस्यहरुले त जानु भन्दा अगाडी नै होटेल बुक गरेर एक दुई रात कुरीमा नै बस्ने गरेको पाईन्छ । हुनत पहिला पहिलाको भन्दा यहाँ बास बस्ने भक्तजनहरुको लागि राम्रा र सुविधायुक्त होटेलहरु पनी प्रसस्त बनेका छन् त्यही भएरपनी होला यहाँ बस्न रुचाएको । परिक्षण्को लागि यहाँहरु पनी यसपालीको हिउँ पर्ने समयमा जाने हो की ? जुन अव पुषको दोश्रो हप्तादेखि हिउँ पर्न शुरु हुन्छ ।

यस्तै गरी अर्को आकर्षण कालिञ्चोक भगवती रहेको स्थान अर्थात चुचुरोबाट राजधानीमा अवस्थित धरोहर १९९० को भुकम्प आउनु भन्दा पहिले सजिलै हेर्न सकिन्थ्यो तर भुकम्प आउदा धरोहरको टुप्पा बाँचेको हुनाले हाल काठमाण्डौ राजधानीमा बेलुकी पख बिजुली बलेको दृश्य देखिनुका साथै वरपरका डाँडाहरु भने अझै सजिलो सँग हेर्न सकिन्छ । करिव २५ गज चौडाई, ६९ मिटर जति लम्वाई भएको यस टाकुरामा एउटा कुण्ड छ । शिवजी, गणेश र सरस्वतीका मुर्तिहरु भएको यस कुण्डलाई नै कालिञ्चोक भगवती भनिन्छ भने भगवतीको कुनै मुर्ति छैन । केवल त्रिशुल र घण्टाहरुको थुप्रो मात्र छ । साथै यस कुण्डको पवित्र जल दोलखा शहर स्थित भीमेश्वर मन्दिरमा आउंछ किम्वदन्ती रहेको छ ।

देव देवताको पुण्यभूमि मानिने यस टाकुरामा पूर्वतर्फ र पश्चिमतर्फ दुवै पापीहरु उक्लिन नसक्ने विश्वास भएकोले नागबेली आकारबाट डरलाग्दो भीरमा बनेको यस खुड्किलोलाई “पापिडांडा” भन्ने नाम राखिएको हो ।

पश्चिमतर्फको बाटोमा भने करीब तीन गज चौर्डाइ र छ गज जति लम्बाइको २२ खुड्किले फलामे भ¥याङ छ । साहसपूर्वक बनाइएको यस भ¥याङले एक टाकुराबाट अर्को टाकुरा जोड्दछ । दुई टाकुराका बीच ज्यादै नै गहिरो छ । यसको तल कुखुरा बासेको प्रतिध्वनि सुुनिन्छ र बत्ति बलेको देखिन्छ भन्ने किम्वदन्ती रहेको पाईन्छ । हाल कुरीबाट कालिञ्चोक मन्दिरसम्म केवुलकार सञ्चालन भईसकेको छ ।

दिन दिनै चारदेखि पाँचशय भक्तजन यात्रुहरुले दर्शन गर्ने गरेको केवुकार संचालक बताउनु हुन्छ । यस्ले गर्दा अहिले पापीडाँडा उकालो चर्नु पर्दैन हामी सजिलै केवुलकारको सहाराबाट दायाँ बायाँ मनोरम दृश्य संगै १०–१५ मा हामी माथी मन्दिर पुग्छौै । अहिले केवुलकार संचालन भएदेखि यता स्वदेशी तथा विदेशी पर्यटकहरुलाई यस धार्मीक एवं पर्यटकिय स्थलले तान्नलाई धेरै सहयोग पुगेको यहाँका होटेल व्यवसायीहरुले आफ्नो अनुभव सुनाउछन् ।

साथै स्थानिय रुपमा यस ठाउँको विकासको सम्भावना प्रचुर मात्रमा रहेको देखिन्छ । यति उचाईमा अवस्थित यस कालिञ्चोक भगवतीमा मोटरको बाटो हालसम्म कच्ची पुगेको भएपनि पिचको बाटो पुग्न जरुरत भएको छ । अर्को तर्फ खानेपानीको पनी समस्या भएकोले यसलाई पनी ध्यान दिनु उतिकै आवश्यकता रहको छ ।

यस कार्यको लागि सम्वन्धीत सम्पूर्ण दोलखा जिल्लावासी अनि जिल्ला समन्वय समिती र जिल्ला सडक डिभिजन कार्यालय, जिल्ला खानेपानी कार्यालय दोलखा लगायत सम्वन्धीत सबैले चासो अनि पहल गर्नु पर्ने आजको आश्यकता तड्कारो देखिएको छ । बाटो पक्की पुग्न नसकेपनि बिजुली बत्ति पुगिसकेको छ । आशा गरौ यस कार्यमा सम्वन्धीत निकायको ध्यान पुग्ने छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!