७ मंसिर, बाँपीझ्याला, काठमाडौं । बैतडीको दोगडाकेदारमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध अधिकांश क्षेत्र अन्धकारमय बनेको छ ।
विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको श्रीकोटका गणेशसिंह विष्टले बताए । विद्युतका कारण सञ्चारका उपकरण नचल्दा निर्वाचनको मतपरिणाम सुन्न उत्सुक व्यक्ति पनि विञ्चित भएका छन् । विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नु परेको र मोबाइलसमेत अफ हुँदा सञ्चारविहीन हुनुपरेको उनले बताए । विद्युत्बाट सञ्चालन हुने मिल पनि बन्द रहेका छन् ।
यता नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले भने विद्युत्को लाइन मर्मतका लागि प्राविधिक कर्मचारी खटाइएको बताएका छन् । एक स्थानीय बासिन्दाले रूख काट्दा मेनलाइनको एक किलोमिटर क्षेत्रको तारहरु चुँडिएकोले विद्युत् सेवा अवरुद्ध भएको उनले बताए । प्राविधिक कर्मचारी खटाएको र मर्मत गरेर सञ्चालन गर्न दिउँसोसम्म समय लाग्ने उनले बताए ।