०६ मंसिर, बाँपीझ्याला, काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १ खहरेस्थित स्थानीय मीनबहादुर हिताङको घरमा मंगलबार बिहान विद्युत सर्ट भई आगलागी भएको छ । आगलागीमा लाखौ रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा परि तीन जना घाइते भएका छन् । घाइते हुनेमा २८ वर्षीया सुनिता हिताङ, उनकै छोरीद्वय ७ वर्षीया आशिमा हिताङ र १८ महिनाकी छोरी यमरोजिया हिताङ छन् ।
घाइते तीनै जनाको वालिङस्थित गहै घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । आगलागी हुँदा नगद, लत्ताकपडा, फर्निचर, सुनका गहना लगायतको सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागीमा करिब २० लाख बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।
वालिङको वडा प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।