बाँपीझ्याला, दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिकास्थित भदौरेमा शंकास्पद वस्तु फेला परेको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ सुनखानीस्थित भदौरेमा शंकास्पद वस्तु फेला परेको हो ।
हिजो बेलुकी करिब साढे ६ बजे पुरोनो प्रेसर कुकुर शंकास्पद अवस्थामा फेला परेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी ) गंगा प्रसाद पौडेलले जानकारी दिनुभयो । भदौरेमा प्रेसर कुकुर राखेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जानकारी पाएलगत्तै घटनास्थलमा खटिएको प्रहरीले टोलीले शंकास्पद वस्तु फेला परेको स्थानलाई सुरक्षाको घेराभित्र राखेको छ ।
निर्वाचनको समयमा कसैले बम राखेको हुन सक्ने आशंकामा अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको प्रहरी प्रमुख डिएसपी पौडेलले बताउनुभयो ।
यसअघि हिजो बैतेश्वर गाउँपालिका वडा नम्बर ३ पाईले गाउँको तारेपहरा जंगलमा पनि शंकास्पद वस्तु फेला परेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि अनुसन्धान गर्ने क्रममा बालबालिकाहरुको खेलौना भएको पुष्टि भएको थियो ।