दोलखाको पृष्ठभूमिमा दोलखाका लागि आफ्नो मन मस्तिष्क र धन खर्चिन अलिकति पनि नहिच्किचाउने, जिन्दगीमा आइपरेका भवितव्य प्रति अलिकति पनि नडगमगाउने व्यक्तित्व भएका एक महान व्यक्तित्व हुनुहुन्छ हाम्रा आदरणीय वरिष्ठ इन्जिनियर नेपालको जलविज्ञ आत्माकृष्ण श्रेष्ठज्यू ।
इन्जिनियर आत्माकृष्ण श्रेष्ठज्यूको परिचय दिइ राख्नुपर्ला जस्तो त लाग्दैन तथापि यहाँ केही सन्दर्भ राखिदिने जमर्को गरेका छौं । दोलखा जिल्ला प्राचिन शहर दोलखाको तत्कालीन दोलखा गाउँ पञ्चायत वडा नं. ९ हालको भीमेश्वर नगरपालिका वडा नं. २ निवासी स्वर्गीय भैरव बहादुर श्रेष्ठका तीन छोरा मध्ये उहाँ माइलो छोरा हुनुहुन्छ । जेठो छोरो पूर्व प्रजिअ (सिडिओ) तत्वकृष्ण श्रेष्ठ र कान्छो छोरो दोलखाका समाजसेवी एवं संस्कृतिप्रेमि शान्तकृष्ण श्रेष्ठ जो दोलखामै हुनुहुन्छ भने छोरी मदन श्रेष्ठ (हाल लाजिम्पाट मूलघर दोलखा हापिचा) र कान्छी छोरी इनु प्रधान (हाल लाजिम्पाट मूल घर दोलखा पुखुर्चा) हुनुहुन्छ ।
आदरणीय वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठज्यू हाल साँढे आठ दशकको जीवन लीलामा व्यथित गर्दै हुनुहुन्छ । निकै लामो समयसम्म मस्र्याङ्गदी जल विद्युत आयोजनाको जलविज्ञ इन्जिनियरको रुपमा रहनुभएको कारणले उहाँमा प्राविधिक ज्ञान यथेष्ट प्राप्य छ । उहाँको सोच्न सक्ने मस्तिष्कलाई सामान्य हिसाबले कसैले पनि आंकलन गर्न असम्भव छ । उहाँ खरो बोल्नुहुन्छ जुन समाजको लागि अपरिहार्य हुन्छ । एक स्पष्ट वक्ता, दक्ष र सक्षम व्यक्तित्वका धनी आदरणीय आत्माकृष्ण श्रेष्ठज्यूको बारेमा सबै कुराको ज्ञान त छैन तैपनि उहाँले हामीलाई केही कुरा सुनाउँछु आउ भन्नुभएकोले दोलखा नेपाल भाषाका अध्यक्ष इन्जिनियर आदरणिय नहेन्द्र प्रधानज्यू संग म बाँपीझ्याला डटकमका सह–सम्पादक बालकृष्ण श्रेष्ठ उहाँको निवास बनस्थलिमा भेट्न गएका थियौँ । नहेन्द्र प्रधानसंग पनि उहाँले दोलखाकै प्रसङ्गमा केही सकारात्मक कुराको आदानप्रदान गर्नु नै थियो ।
बनस्थलिमा भेटघाट उहाँ घरेलु लवाइमै हुनुहुन्थ्यो । उहाँको अनुहारमा खासै चमकपन नदेखिए पनि बडो फरासिला तरिकाले घर संगैको रुखको आधा छाया र आधा घाम पारेर बस्ने सल्लाह भयो । अनि शुरु भयो हाम्रो भेटघाटको सन्दर्भतिर । उहाँले मलाई भेटेरै भन्नुपर्ने कुराको थालनी गर्दै भन्नुभयो–
“मैले भेट्न आउ भन्नुको तात्पर्य के हो भने तिमीले बाँपीझ्याला मिडियाबाट प्रकाशित बाँपीझ्याला डटकममा दोलखाको साँस्कृतिक पक्षलाई लिएर भजन, कृषि सम्बन्धि बाँझो खेतमा असर्फि फलाउन सकिने शिर्षक राखेर लेख राखेका रहेछौ, त्यो राम्रो कुरा हो, सबैले जानकारी पाउँछन्, तर पनि काठमाडौंमा बसेर यसरी लेख लेख्दैमा दोलखाको भजन निरन्तर सुचारु हुने त होइन, मैले जहाँसम्म सुनेको छु कि त्यहाँ अहिले वाद्यवादन बजाउने, भजन गाउने जनश्रोत नै छैन, सबै काठमाडौं र बाहिरी जिल्लामा अनि विदेशमा छन् । त्यहाँ रहेका बुढाबुढीले सिकेर के गरोस् त ? त्यसको लागि अहिले नै कुनै वैकल्पिक उपाय छ त ?” उहाँले प्रसङ्ग बदल्दै फेरि भन्न थाल्नुभयो–
“अनि अर्को कुरा, तिमीले खेत बाँझोको प्रसङ्गमा भन्नुपर्दा त्यो पनि ठिकै लेखेको छौ, तर त्यहाँ गएर खेतको रेखदेख गर्ने र खेतीपाती गर्ने को छ त ? कसरी उत्पादन बढाउने ? पत्रपत्रिकामा लेखेर मिडियामा प्रचार प्रसार गरेर त दोलखा हराभरा हुँदैन । कृषि उत्पादन गर्न काम गर्नलाई श्रमिक चाहियो, किसान चाहियो, सबैजना काठमाडौंमा अल्झेर बसेर दोलखामा कोदो, धान मकै फल्छ त ?” उहाँले प्रश्न माथि प्रश्न थप््दै जानुभयो । हामीले उहाँको हरेक कुरालाई ध्यान दिएर सुनिरह्यौँ । कुरा त एकदमै सही गर्नुभयो तर हाम्रो कुरा राख्ने मौका नै दिनु भएन यही छ दुःखको कुरा । हुनसक्छ यो उहाँको आफ्नो बानी होला ? आदरणिय नहेन्द प्रधान उहाँको कुरा सुनेपछि केही भन्न खोज्दै हुनुहुन्थ्यो । तर उहाँलाई पनि बोल्न दिनुभएन र भन्न थाल्नुभयो,–
“यसको लागि मैले एउटा वैकल्पिक होइन कि सैद्धान्तिक र व्यावहारिक कुरा सोचेको छु, त्यो के भने दोलखाको साँस्कृतिक पक्षलाई हेर्नुपर्दा अहिलेका किशोर किशोरीलाई नै समेटेर वाद्यवादन प्रशिक्षण दिलाउने, यसको लागि हामी सबै मिल्नुपर्यो, एकले अर्काको बदख्वाइँ गरेर मात्र भएन, कसैले आफ्नो ठाउँको लागि केही गर्न खोज्छन् र त्यस प्रकारको कामले हाम्रो ठाउँको संस्कृति र सभ्यता राम्रो गर्ने काम हुन्छ भने खुल्ला मनले स्वागत गर्नुपर्छ ।”
यसरी उहाँले दोलखाको मूल विषयलाई लिएर कृषि उत्पादन बढाउनको लागि गर्नुपर्ने कार्यशैली बताउनुभयो । उहाँको भनाइ अनुसार यदि साँच्चै नै दोलखाली माटोमा जन्मेर दोलखाको धर्तीलाई जन्मदिने आमा सम्झेर यसलाई उर्वर भूमि बनाउने हो भने, पर्यटकीय नगर बनाउने हो भने साँस्कृतिक शहरको उपमा दिएर दोलखाको पहिचान संसारभर फैल्याउने हो भने हामी पहिले एक जुट हुन जरुरी रहेको छ । हामी दोलखाली हौं हामीले नै दोलखाको प्रतिष्ठालाई जोगाउनुपर्छ भन्ने उत्कृष्ट सोच राखेर उहाँले प्राचिन शहर दोलखा विकास अभियान शिर्षक राखेर एक अवधारणा तैयार गर्नुभएको रहेछ ।
उहाँले दुई खालको उद्देश्य सहितको प्रस्तावना पत्र पढेर सुनाउनु भयो जुन कुरा दोलखाको लागि अपरिहार्य छ । उहाँको हरेक शब्दमा दोलखा प्रतिको सद्भाव र दोलखालीको प्रेरणाको श्रोतका आधारभूत तथ्यहरू निस्कन्थ्यो ।यो भन्दा पहिले पनि उहाँ द्वाल्खा गुठीको कार्यकारी समितिमा जिम्मेवार व्यक्तिको रूपमा रहनुहुँदा दोलखाको महत्वपूर्ण विकासका संरचनाहरू जस्तो कि मठ, मन्दिर, विद्यालय, संग्रहालयहरू निर्माण भएका छन् । हरेक चाडपर्वमा पनि उहाँको अग्रता कायमै थियो ।
जुनसुकै कार्यका लागि समन्वयको जरुरत पर्छ, यसैक्रममा दोलखाको सबैभन्दा पुरानो सामाजिक संस्था कालिन्चोक युवा क्लवका जल्दाबल्दा युवा हस्तिहरूलाई समेटेर दोलखामा कुनै कुराको कमि नहोस् भनेर लागि पर्नुभएको उदाहरणहरू यथेष्ट छन् । शिक्षा क्षेत्रमा पनि दोलखा त्यत्ति पछि परेको त छैन तथापि आपूmले चाहेको विषयमा अध्ययन गर्न नपाउँदा अधिकांश विद्यार्थीहरू दोलखा छाडेर काठमाडौ उपत्यका र त्यो भन्दा पनि बाहिर जानुपर्ने बाध्यताले गर्दा दोलखामा युवा शक्ति कम भएर गएको स्पष्ट छ । त्यसमाथि अहिले नेपाल नै छाडेर विदेशतिर जानेहरूको लहर नै चलेको छ ।
हिजोआज अधिकांश घरमा वृद्धवृद्धा बाआमा मात्रै घरको दलान कुरेर छोराछोरीको उन्नति र सुस्वास्थ्यको लागि कामना गर्दै मन्दिर धाएर देवीदेवतासंग प्रार्थना स्तुति गर्नेहरू मात्र भेटिन्छन् । तर स्वदेशको लागि ध्यान दिने को त ? अनि ती वृद्धवृद्धाले गाउँ ठाउँको विकास सम्भव छ त ? खालि नागरिकतामा र पासपोर्टमा जन्मस्थान दोलखा भनेर लेख्दैमा दोलखालीले गर्व गर्नु तर्कसंगत नहोला । समयको माग अनुसारको उच्च शिक्षाको अध्ययन र आफ्नो मस्तिष्क क्षमताले भ्याएको विषय नभएपछि पढ्न चाहनेहरू बाहिरिनु अस्वभाविक होइन । त्यसैले एउटा इन्जिनियर कलेज बनाउने पहलमा लाग्नुभएको छ उहाँ । जुन कार्यको लागि लगभग आधाआधी कुरा भैसकेको र जग्गाको लागि प्रक्रिया भैरहेको बताउनु हुन्छ । साँच्चै नै उहाँले सोच्नु भएजस्तै हामी सबै लागिपरेर दोलखामा एउटा महा–विद्यालयको स्थापना गर्नसक्यौँ भने यो ठाउँले आफ्नो स्वरुप फेर्न कुनै समय लाग्ने छैन ।
उहाँकैै भनाइको आधारमा कुनै पनि अभियान चलाउनका लागि युवा शक्तिको जरुरत पर्छ । काम गर्नका लागि शक्ति र बल मात्र भएर पुग्दैन । आर्थिकश्रोत, जनश्रोत र जलश्रोतको आवश्यक पर्छ । ती श्रोत मात्र अगाडि थुपारेर मात्र पनि विकास हुन्छ भन्नु पनि गलत हो, त्यसलाई सदुपयोग गर्नका लागि मस्तिष्क शक्ति सबल र सक्षम हुनुपर्यो । ती श्रोतहरूलाई परिपूर्ति गर्नको लागि समाजका हरेक व्यक्तिले मेरो नभनेर हाम्रो शक्ति एक छ भनेर अग्रसर बन्नुपर्छ, हामी बाटोमा हिँडिरहँदा सानातिना ढुंगा या काठ देख्यौं भने हात नचलाइकन नै खुट्टाको बुढी औंलाले नै हानेर पन्छाउने प्रयत्न गर्छौं, तर त्यही ठाउँमा अजङ्गको पत्थर छ भने त बुढी औंला त के दुई हातले पनिे पन्छाउन सक्दैनौं । त्यो अवस्थामा हामीले वरपरका छिमेकी, साथी बोलाएर पन्छाएर बाटो हिँड्डुल गर्न गराउन सक्छौं भने हाम्रो दोलखालाई उन्नतिशील मार्गमा ल्याउनलाई हामी अग्रसर हुनुपर्यो नि !
उहाँकोे अर्को अभियान भनेको कृषि सेवा केन्द्र सम्बन्धि अवधारणा हो । उहाँले हामीलाई दुइवटै अवधारणा पत्र पढेर सुनाउनु भयो । प्रस्तुत गरिएको बूँदाहरु निकै लामो भएपनि समग्रमा दोलखाको लागि विकासको एजेण्डा हो, यसलाई कार्यान्वयन गर्न दोलखाका नगरिकले सकारात्मक हिसाबले मनन गर्न जरुरी छ । उहाँको प्रमुख उद्देश्य कृषिका लागि प्राविधिक प्रशिक्षण प्रयोगशालाको स्थापना गर्ने, अनि माटो विशेषज्ञ, बीउबिजन विशेषज्ञसंग सरसल्लाह गरेर कृषक संख्या वृद्धि गर्न कृषकहरूलाई आवश्यक पर्ने बीउ, मल र सिंचाइका लागि वैकल्पिक मार्ग खोज्ने, हरेक कृषकलाई उत्पादन मूलक बालीनाली सम्बन्धि जानकारी दिएर खेती गर्नलाई उत्प्रेरित गर्ने, अनि हरेक वर्षको एकपटक प्रतियोगात्मक तरिकाले नभएर सबै किसानलाई समान सम्मान गर्ने उहाँको दीर्घसोच छ । यसको लागि मस्तिष्क शक्ति र प्रण हुन जरुरी छ र समुदायमा एकताको आवश्यक्ता चाहिन्छ ।
अनिवार्य लगनशील, परिश्रमी र कटिबद्धता हुन जरुरी छ । यस्तो कार्यको लागि त्यागको पनि आवश्यक्ता हुन्छ र यदि स्वच्छ र उन्नतिशील समाज बनाउने हो भने सामुदायिक कार्यमा राजनीतिक गन्ध पनि आउनु हुँदैन उहाँ भन्नुहुन्छ । काम गर्ने श्रमिकहरूलाई भड्काएर राजनीतिक दल र पार्टीले सानातिना प्रलोभन देखाएर कैयन् मजदूर श्रमिकहरूलाई बीच बाटोमा अलपत्र छाडेका कुरा केहीलाई छाडेर धेरैले बुझिसकेका छन् ।
इतिहासमा हामीले किरात वंश, लिच्छवि वंश, मल्ल वंशका पालासम्म अध्ययन गर्यौँ भने ती हरेक वंशका राजा रजौटाहरूले यो देशमा विकास गर्नाका लागि भारत देशबाट समेत कालिगढ, ज्यामी ल्याएर कति ठूला ठूला मन्दिर बनाएर आफ्नो प्रतिष्ठालाई उच्च बनाएका थिए, त्यसपछि राणा शासनकालमा जे जति ज्यादती र अन्याय गरेका कुरा हामीले पढे सुनेका छौँ, त्यत्ति नै विकास पनि त गरेका थिए । आज तिनै राणाहरूले निर्माण गरेका दरबारमा अनेकौँ मन्त्रालयहरू, विभागहरू बसेर राजनीतिक चलखेल गरिरहेका छन् । नेताहरूले त जनतालाई कठपुतली बनाएर राजनीतिलाई व्यापारीकरण गरिरहेकाछन् ।
यस्तो अवस्थामा आफ्नो ठाउँलाई थाङ्नामा सुताएर ती नेताहरूको पछि खोक्रो पेट बोकेर किन लाग्ने ? उहाँमा अलिक आक्रोश पनि देखिन्छ । हुन पनि हो, उसले गर्ला कि यसले गर्ला कि भनेर दिन गनेर बस्यो हरेक पाँच वर्षमा भोट हाल्यो जितायो नाङको नाङ खेरो स्याकको स्याक खेरो मात्रै हुने हो । जब आफ्नै खेतबारी घर धितो राखेर छोराछोरी विदेशतिर पठाउनु नै छ भने राजनीतिक परिपाटीको मन्त्र घोक्नुको कुनै औचित्य छैन ।
अब उहाँकै सन्दर्भलाई केलाएर हेर्दा दोलखामा रहेको भीम पुस्तकालयको प्रसङ्ग कोट्याउन चाहेँ, यो भीम पुस्तकालय नामको पुस्तकालय स्थापना हुनुभन्दा पहिले दोलखाको डोक्छेँ टोलमा सबैभन्दा पहिले त्रिपुरा लाइब्रेरीको नाममा स्वर्गीय हस्त बहादुर श्रेष्ठ (हालको इन्जिनियर हरिदर्शन श्रेष्ठको हजुरबुबा) को मातहतमा खोलिएको सुनिन्छ । त्यसपछि त्यसै टोलमा उहाँ आत्माकृष्ण मामाकै बुबा स्वर्गीय भैरव बहादुर श्रेष्ठ र स्वर्गीय हरिभक्त श्रेष्ठको सक्रियतामा भैरव लाइब्रेरी खोलिएको बुझिन्छ । ती दुइटै लाइब्रेरी भएको टोलमा विक्रम सम्वत २०२३ साल जेठ ९ गते भीषण आगलागी भएर धेरै ठूलो क्षति भएको थियो ।
तर यी दुई लाइब्रेरीको पुस्तक सामग्रीहरु त्यति क्षति नभएकोले पुस्तक पत्रपत्रिका लगायत अन्य सामग्रीहरू संरक्षण सुरक्षित गर्ने उद्देश्यले त्यो आपतकालीन अवस्थामा भीम पब्लिक हाइस्कूलको चित्रतलामा सारिएको थियो । स्मरणीय कुरा सो भीम पब्लिक हाइस्कूलको चित्रतला कक्ष पनि उहाँकैै दिदी मैया श्रेष्ठले बनाउनु भएको हो ।
त्यतिबेलाको भयावह परिस्थितिमा त्रिपुरा र भैरव लाइब्रेरीका पुस्तक पत्रपत्रिका एकै ठाउँमा सुरक्षित त गरियो । तर पछि छुट्याएर राख्ने अवस्था नभएकोले ती दुई लाइब्रेरीलाई एकै ठाउँमा समेटेर भीम पुस्तकालय नामाकरण गरिएको हो । यसबारेमा यो भन्दा पहिले नै सम्प्रेषण गरिसक्यौँ । त्यही भीम पुस्तकालयलाई पूर्ण स्वरुप दिने काम तत्कालीन राविसबाट खटिएर आएका टियुका विद्यार्थीहरू जो त्यतिबेला त्रिभूवन विश्व विद्यालयबाट काठमाडौं बाहिरका स्कूलमा अध्ययन अध्यापनको परिक्षणको रुपमा खटाइन्थ्यो ।
यही क्रममा आउनु भएका कृष्ण अर्याल र मणिराम भट्ट भीम माविमा अध्यापन गर्नुहुन्थ्यो । उहाँहरूले र दोलखाकै प्राध्यापक अमन श्रेष्ठ जो कालिन्चोक माविमा अध्यापन गर्नहुन्थ्यो । उहाँहरूकै सक्रियतामा अहिलेको पुस्तकालय बनेको थियो । जुन पुस्तकालय बनाउन कालिन्चोक युवा क्लवले आर्थिक सहयोग गरेको थियो ।
तर विडम्बना २०७२ सालको विनाशकारी भूकम्पले सो पुस्तकालय भएको घर भग्नावशेषमा परिणत गरिदियो । फलतः त्यहाँको टुटेफुटेका च्यातेका फाटेका पुस्तक पत्रपत्रिका हाल स्थानीय घरेलुको एउटा कक्षमा सहाराहीन भएर असरल्ल परेको छ ।
अब सोही पुस्तकालय भवनको पुनर्निर्माणको लागि आदरणीय आत्माकृष्ण श्रेष्ठले वृहत् सहयोग गर्न लाग्नुभएको छ । वहाँको दिवंगत पत्नीको नामबाट संचालनमा ल्याएको रुपा फाउण्डेसनको तर्फबाट आर्थिक सहयोग दिएर वि.सं. २०८० सालमै तैयारी गर्ने लक्ष रहेको भएपनि सो भवनको लागि थप जग्गा चाहिएकोले स्थानीय नगरपालिकाका जनप्रतिनिधि र स्थानीय बुद्धिजीवि समाजसेवीहरूसंग समन्वय गर्न बाँकि रहेको उहाँ बताउनुहुन्छ ।
अब यहाँनेर कुरा के आउँछ भने दाताहरू र स्थानीय निकायले बनाउँछन् भनेर अन्य स्थानीय बासिन्दा मौन साँधेर बस्न हुन्न । त्यो पुस्तकालयले विगतमा कतिले ज्ञान प्राप्त गरे होलान्, पुस्तक नहुनेहरूले त्यहीँबाट लगेर पढे होलान् । कतिले सामान्य नै भएपनि रोजगारी पाउ होलान् । अहिले आएर खोला तर्यो लौरो बिस्र्यो भनेजस्तो चाहिँ गर्नुहुन्न ।
अब प्रसङ्ग उहाँतिरै लाग्नुपर्दा दोलखामा केही परिवर्तन ल्याउने सोच राखेरै साथी दाजुभाइ र बुद्धिजीविहरूकै सल्लाहमा उहाँले विगतमा नगरपालिका प्रमुख पदमा नेपाली काँग्रेसबाट चुनाव लड्नु भएको हो तर मान्छे चिन्ने तर विशेषता नचिन्नेहरूले उहाँलाई साथ दिनुभएन र पराजित हुनुभयो । त्यसैगरि २०५६ सालको संसदीय चुनावमा स्वतन्त्रबाट चुनावी मैदानमा आउनुभएको थियो त्यसमा पनि पराजय भोग्नुपर्यो तथापि दोलखाली नजरमा उहाँ कहिल्यै पराजित हुनुभएको छैन ।
अहिले उहाँ आफ्नी दिवंगत पत्नी समाजसेवी र कल्याणकारी मन भएकी रुपा श्रेष्ठको स्मरणमा उहाँको जीवन छँदै स्थापना गरिएको रुपा फाउण्डेसन नामक संस्थालाई उजागर पार्नका लागि सामाजिक परिवेशका अत्यावश्यक कार्यहरू जस्तो कि शिक्षा, स्वास्थ्य संस्कृति, कृषिलाई केन्द्रीत गरेर केही उदार र प्रेरणामुखी कार्य गर्न लागिपर्नु भएको छ । जीवनको झण्डै नवौं दशकको उमेरमा पनि ताजगी बिचार र भाव मातृभूमि प्रतिको लगावलाई हृदय देखि सलाम छ ।
अब अन्तमा उहाँले गर्नुभएका र गर्न लाग्नुभएका कुराहरू यहाँ प्रस्तुत छ,
वरिष्ठ इन्जिनियर एवं नेपालकै जलविज्ञ तथा कल्याणकारी समाजसेवी आदरणीय आत्मा कृष्ण श्रेष्ठज्यूले दोलखा जिल्लामा गरेका र गर्न लाग्नुभएका विभिन्न समाज विकासका कार्यहरु ः
दोलखा चरिकोटमा संस्थापक अध्यक्षभै २०३८ सालमा गौरीसंकर वहुमुखी क्याम्पस स्थापना गरी २०५५ सालसम्म अध्यक्ष रहि काम गरेको, २०६१ सालमा सदरमुकाम चरिकोटमा आत्माकृष्ण श्रेष्ठ संस्थापक अध्यक्ष रही जिल्ला स्तरीय गौरीशंंकर सामुदायिक पुस्तकालय स्थापना गरेको, दोलखाको भिम उच्च माध्यमिक विद्यालयको २ कार्यकाल अध्यक्ष रही उच्च माध्यमिक तह संचालन गरेको, वि.सं. २०५१÷५२ सालमा कक्षाकोठा नपुग्ने भएर आफ्नै खर्चमा ३ वटा कक्षाकोठा ब्लकहरूले निर्माण गरेको, २०७२ सालको भूकम्पवाट उक्त ब्लकहरू क्षतिग्रस्त भएको थियो ।
यसै गरी पाखलतीमा निर्माण भएको र स्कूलको भवनमा छाना हालि दिएको, मेरो प्रयास र पहलमा हाल भारतीय दूतावासमा ६ कोठाको दुई तल्ला ब्लकरुम निर्माण गरिएको, भिम माध्यमिक विधालयमा पहिलो शिक्षक अमर वहादुर कार्कीको स्मृतिमा अमर बहादुर कार्की उत्कृष्ट शिक्षक पुरस्कारको प्रशंसापत्र सहित रु. ७,५००/– नगद पुरस्कार प्रदान गरिएको छ, दोलखा गु्ठीको ४ पटक अध्यक्ष रही काम गरेको, २०३५ साल र २०३८ सालमा २ पटक दोलखामा निःशुल्क आँखा सिविर संचालन गरेको, वि.सं. २०३८ सालमा दोलखा गु्ठीको अग्रसरतामा दोलखामा बाढी पीडितलाई ठूलो राहतकार्य संचालन गरेको, यस विषयमा तात्कालिन गृह मन्त्रीले दोलखा गु्ठीले राहत कार्य गरेको संसदमा उल्लेख समेत गरेको ।
यस कार्यमा तत्कालिन गुठीका अध्यक्ष स्वर्गीय रुपा श्रेष्ठको पूर्ण सहभागी रहेको, दोलखामा २०३५ मा विद्युतीकरण गर्ने आयोजना लागु गराई विद्युत वितरण गर्न पहल गरिएको, १०–१२ वर्ष अगाडी दोलखामा सास्कृतिक संग्राहालय र दोलखा बजार सम्पूर्णमा बाटोको पूनःनिर्माण गर्ने समेत कार्यक्रम गर्न करीव ३ करोडको वजेट वनाइ भारतीय दूतावासमा प्रस्ताव पेश गरी प्रथम सचिवले दोलखामा निरीक्षण गरेपछि संग्रालय संचालन गर्न धेरै खर्च लाग्छ स्थानिय व्यक्तिहरूले व्यहोर्न सकिने देखिदैन त्यसैले दूतावासले भवन बनाउन रकम निकास दिने मन्जुरी गर्दैन संचालन खर्च व्यहोर्न भरपर्दाे प्रमाण पेश भएपछि विचार गर्न सकिने भन्ने भारतिय दूताबासको भनाई रहेको वहाँको भनाई रहको छ ।
हाल प्रदेश सरकार र नगरपालिका पनि आर्थिक रुपले सवल भएको हुँदा २०७४ सालमा आफु फेरी सास्कृतिक सग्रालय बनाउने अभियानमा लागेको बताउनु हुन्छ । यो अभियानमा प्रवीण प्रधान, शान्त श्रेष्ठ, कृष्ण नारायण श्रेष्ठ र स्वर्गीय रुपा श्रेष्ठले पनि साथ दिनुभएको बताउनु हुन्छ । अन्ततः भिनपाको नगर प्रमुख भरत केसि प्रदेस सांसद स्वर्गीय पशुपती चौलागार्इँको ठोस सहयोगले प्रदेश सरकारवाट रुपैयाँ ४ करोड वजेट निकासा गराई हाल तलेजु मन्दिरको पछाडिको जमिनमा संग्रालय निर्माण हुँदैछ गरेको भनाई राख्नु भयो ।
दिवंगत रुपा श्रेष्ठको सक्रिय साथ सहयोगमा राजकुलेश्वर आधारभूत स्कूल र राम्पाको त्रिपुरा सुन्दरी स्कूलको विधार्थीहरूलाई निःशूल्क दिवा खाजा कार्यक्रम संचालनमा ल्याउनु भएको छ । गौरीशंकर वहुमुखी क्याम्पसमा दिवंगत रुपा श्रेष्ठको स्मृतीमा रुपा फाउन्डेशनले रुपा स्मृती पुस्ताकालय स्थापना गरेको छ । काठमाण्डौ वालाजु वनस्थलीको जनजाग्रिती स्कूलमा तत्कालिन समयमा रुपा श्रेष्ठको साथ सहयोगमा स्व. सानरा श्रेष्ठको नाममा सानरा स्मृति पुस्तकालय स्थापना गरेको ।
वहाँकै पहल र प्रयासमा कालिन्चोक गाउपालिकाको सिङ्गटीमा भारतीय दूतावासको रु. ४ करोडको अनुदानमा १५ बेडको अस्पताल स्थापना भएको, सुनखानीको कालिनाग उ.मा.वि.को भवन निर्माणमा भारतिय दूतावासको सहयोगको पहल गरेको, दिवंगत रुपा श्रेष्ठको सक्रियताका साथ सहयोगमा भि.न.पा.का वडाहरूमा बेलाबेलामा जेष्ठ नागरिकहरूलाई निःशूल्क स्वेटर, खास्टो, खाध्यान्न, भूकम्प पीडितहरूलाई कर्कट पाता वितरण कार्यक्रम संचालन गरेको समेत बताउनु हुन्छ । भि.न.पा. वडा नं. २ को सहकार्यमा अवको १ वर्ष भित्र भिम पुस्ताकालयको पूनः निर्माण गर्ने कार्यक्रम रहेको वहाँले बाँपीझ्याला डटकमलाई बताउनु भयो ।
करिब १३ वर्ष अगाडि काठमाडौं डेभलपमेन्ट बैंक चरिकोटमा स्थापना गरेको जसमा उहाँ स्वयं संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । जुन बैंक सञ्चालन अहिले नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उमेदवार हुनुभएको बालकृष्ण सिवाकोटीले गर्नुभएको थियो ।
दोलखामै सिद्धार्थ बैंकको शाखा पिन उहाँकै विशेष पहलमा भएको थियो, जुन बैंक दोलखाकै जीवन श्रेष्ठले चलाइरहेको छ । यसै गरी काठमाडौंमा अभयपुर सहकारी संस्था पनि उहाँकै संस्थापकत्वमा शुरू भएको हो ।
यसमा संस्थापक अध्यक्ष उहाँ स्वयं हुनुहुन्छ । माथि उल्लेखित मानव र समाज सेवा कार्यक्रममा रुपा फाउन्डेशनको सक्रिय सहभागिता रहेको छ । उहाँलाई हामीले प्रेरणाको श्रोत मानेर पुज्नु पर्छ । उहाँको हरेक चाहना यथाशक्य यथाशीघ्र पूर्ण हुनेछ भन्ने अभिलाषाका साथ औंलालाई विश्राम गर्नदिने अनुमति दिनुका साथै पूर्ण विराम दिएका छौं । जय दोलखा भीमसेन !
यस लेखको संयोजन सह–सम्पादक बालकृष्ण श्रेष्ठ