Search

सत्तारुढ गठबन्धन निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठक

सत्तारुढ गठबन्धन निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठक

बाँपीझ्याला, काठमाण्डौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनको संयुक्त परिचालन र प्रचार अभियानमा देखिएका समस्या समाधान गर्ने निर्णय गरेको छ ।

बिहीबार नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका निर्वाचन परिचालन समितिमा आबद्ध नेताहरूको संयुक्त बैठकले निर्वाचन परिचालनमा देखिएको समस्या अबिलम्ब समाधान गर्ने निर्णय पनि गरेको हो ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा काँग्रेसको निर्वाचन परिचालन सचिवालय समिति संयोजक अम्बिका बस्नेतको अध्यक्षतामा बसेको बैठकले गठबन्धनको मिसनलाई सफल पार्न चुनावी अभियानलाई सोही भावना, उत्साह र गति अनुरुप सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याएको छ ।

बैठकपछि नेपाली काँग्रेसका नेता तथा काँग्रेस निर्वाचन परिचालन सचिवालय समितिको सह–संयोजक दिव्यमणि राजभण्डारीले गठबन्धनको मिसन सफल बनाउनु सबै पार्टीको दायित्व भएको बताउनुभयो । उहाँल स्थानीयदेखि केन्द्रीय स्तरसम्मका पार्टी सदस्यहरूलाई चुनावमा परिचालन गर्ने सम्बन्धमा सहमति भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘गठबन्धनमा स्थानीय स्तरमा उत्पन्न असमझदारीलाई सुल्झाउदै सहकार्यको भावना लिएर दलीय सहमतिमा उठेका साझा उम्मेदवारलाई जिताउने कुरा भयो । सबै पार्टीले आफ्ना संगठनका टोल, वडादेखि राष्ट्रिय स्तरसम्मका साथीहरूलाई क्रियाशील गराई फेरी पनि गठबन्धनकै सरकार बनाउने अभियानलाई साकार बनाउने विषयमा सहमति बन्यो ।’

बैठक पछि नेकपा (माओवादी केन्द्र)का नेता महेश्वर दाहालले बागी फिर्ता गराउने विषयमा छलफल भएको पनि बताउनुभयो ।
नेपाली कांग्रेसका नेता राजभण्डारीले भने नेपाली कांग्रेस आफ्नो पार्टीका तर्फबाट बागी बनेका सबैलाई कारबाही गरिसकेकोले सो दायित्व पूरा गर्ने पालो अन्य दलको रहेको बताउनुभयो ।

उहाँले निर्वाचन क्षेत्रमा देखिएका समस्याहरुको समाधान र निर्वाचनमा गठबन्धनको पक्षमा अधिकतम् मत हाल्ने वातावरण बनाउन मतदातालाई सक्रिय बनाउने विषयमा छलफल भएको बताउनुभयो ।बैठकमा नेपाली काँग्रेसको तर्फबाट नेताहरू अम्बिका बस्नेत, दिव्यमणि राजभण्डारी र सुरेश आचार्यको सहभागिता थियो भने नेकपा (माओवादी केन्द्र) बाट महेश्वर दाहाल, गोविन्द आचार्य र विष्णु सापकोटाको सहभागिता थियो । त्यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट लक्ष्मण केसी, लोकतान्त्रिक समाजवादी पार्टीबाट दामोदर आचार्य र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरीको उपस्थिति रहेको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!