Search

शैक्षिक सत्र सुरु भएको ६ महिना वितिसक्दा समेत रोल्पामा अझै पुगेन पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु भएको ६ महिना वितिसक्दा समेत रोल्पामा अझै पुगेन पाठ्यपुस्तक

१३ कात्तिक, बाँपीझ्याला, काठमाडौं । शैक्षिक सत्र सुरु भएको ६ महिना वितिसक्दा समेत रोल्पाका विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् । कतिपय विद्यालयका शिक्षकले अनलाइनबाट डाउनलोड गर्ने र त्यसैलाई प्रिन्ट गरेर पढाइरहेका छन् । तर अधिकांश विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेको छैन ।

नेपाल सरकारले कक्षा १२ सम्मका पाठ्यपुस्तकहरु निःशुल्क वितरण गर्दै आएको छ । तर समयमै विद्यार्थीले पुस्तक नपाउँदा पढाइ प्रभावित भएको शिक्षक र अभिभावकहरुले गुनासो गरेका छन् ।

हाल अंग्रेजी माध्यमबाट पढाइ हुने कक्षा १, २, ३, ४, ७ र ९ का सबै विषय र कक्षा १० को भूगोल विषयको पाठ्यपुस्तक आएका छैनन् । कक्षा ११ को नेपाली, अंग्रेजी, सामाजिक र कक्षा १२ को सामाजिक विषयको पाठ्यपुस्तक पनि आएका छैनन् ।

नेपाली माध्यमबाट पठनपाठन हुने पाठ्यपुस्तकहरु केही र अंग्रेजी माध्यमबाट पठनपाठन हुने अधिकांश पाठ्यपुस्तक उपलब्ध नभएको साझा प्रकाशनको अधिकृत विक्रेताहरुको भनाइ छ । ‘आफूले समयमै पुस्तक उपलब्ध गराउन धेरै कोसिस गरे पनि पहुँचका आधारमा पाठ्यपुस्तक वितरण हुँदा रोल्पा प्राथमिकतामा परेन,’ साझा प्रकाशनको अधिकृत विक्रेता घनश्याम आचार्यले भने ।

अभिभावक दामोदर आचार्यले चालु शैक्षिक सत्रको अब ६ महिना मात्रै बाँकी रहँदा किताब हातमा आइपुग्ने हो कि होइन अझै टुंगो नभएको बताए । ‘विद्यार्थीले किताब नै नपाउँदा के पढ्ने ?’ उनले भने, ‘निर्वाचनका मत पत्र र राजनैतिक दलका घोषणा पत्र रातारात छपाइ हुन्छन् तर किताब छपाई प्राथमिकतामा पर्दैन ।’

फोटोकपी गरेर पढाइ
रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले पाठ्यपुस्तक नआउँदा फोटोकपी वितरण गरेर पढाइरहेको छ । ‘तल्ला तहका कक्षाहरुमा पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा राखिएका पाठ्यपुस्तकलाई फोटोकपी गरेर विद्यार्थीलाई वितरण गरी पठनपाठन अघि बढाएका छौं,’ विद्यालयका सहायक प्रधानाध्यापक लेखमणी खड्काले भने ।

कक्षा ९ को अंग्रेजी माध्यमको ऐच्छिक विषयहरु गणित र भूगोल, कक्षा ८ को सामाजिक, अंग्रेजी माध्यमको कम्प्युटर विज्ञानका पाठ्यपुस्तकहरु आफ्नो विद्यालयमा आई नपुगेको सहायक प्रधानाध्यापक खड्काको भनाइ छ । उनका अनुसार उक्त विद्यालयमा कक्षा ११ र १२ को अनिवार्य अंग्रेजी, नेपाली, सामाजिक र जीवनउपयोगी शिक्षा विषयका पाठ्यपुस्तक समेत आएका छैनन् ।

‘शिक्षकहरुले पाठ्यक्रम अनुसार विद्यार्थीलाई नोट लेखाएर पढाइरहेका छन्, कक्षा निरन्तर चलिरहे पनि विद्यार्थीको हातमा किताब नहुँदा निकै सकस भएको छ,’ खड्काले भने ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!