बाँपीझ्याला, काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल सम्वत्लाई प्रवर्द्धन गर्न तथा व्यावहारिक प्रयोगमा ल्याउन सरकार गम्भीर रहेको बताएका छन्।
चस्मति टोल विकास समितिले काठमाडौँको चस्मतिमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको मौलिकता र पहिचानका लागि नेपाल सम्वत्लाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका हुन्।
नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाए पनि व्यवहारिक प्रयोग नहुँदा जनताले यसको अनुभूत गर्न नपाएको भन्दै उनले सरकारले नेपाल सम्वत्लाई प्रयोगमा ल्याउन गम्भीरताका साथ काम अघि बढाएको दाबी गरे।
नेपालको गौरव तथा मौलिक सम्वत् नेपाल सम्वत्को तिथिमितिलाई कसरी व्यावहारिक प्रयोगमा ल्याउने भन्नेबारे सरोकारवालासँग छलफल गरी अघि बढ्ने उनले बताए।
नेपाली मौलिक संस्कृति, परम्परा र रीतिरिवाजको रुपमा रहेको नेपाल सम्वत्को संरक्षण, सम्वर्द्धन र व्यावहारिक प्रयोगलाई आफूले प्राथमिकता दिएको बताउँदै उनले नेपाल सम्वत्को प्रयोगका लागि तत्काल गर्न सकिने कार्य आफूले अघि बढाउने प्रतिवद्धतासमेत जनाए।
प्रगतिशील सामाजिक अभियान्ता तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सम्मानमा आफ्नै प्रस्तावमा सरकारले राष्ट्रिय पुरस्कार स्थापना गर्ने तयारी अघि बढाएको पनि उनले जानकारी दिए। राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात गरेका थिए।
गरिब जनताको ऋणमोचन गराइ सामाजिक सेवा गरेको र नेपालमा मौलिक सम्वत् प्रचलनमा ल्याउने कार्यको मूल्यांकन गर्दै २०५६ सालमा सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। सरकारले यसअघि नेपाल सम्वत्लाई राष्ट्रिय मान्यतासमेत दिइसकेको छ।
साथै कार्यक्रममा मन्त्री श्रेष्ठले अहिले लोकतन्त्र पक्षधर र लोकतन्त्र विरोधी गठबन्धन चुनावी प्रतिस्पर्धामा रहेकोले लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्नुपर्ने बताए।