बाँपीझ्याला, काठमाण्डौं । नेपाल राष्ट्र बैंकको टक्सार विभागमा तिहारका लागि सुन र चाँदीका असर्फी किन्नेहरूको चाप बढ्न थालेको छ । गत चैतदेखि नै केन्द्रीय बैंकले सुन र चाँदीका सिक्का बिक्रीवितरण थालेको भए पनि तिहार नजिकिएसँगै किन्नेको चाप बढेको हो ।
टक्सार विभागका निर्देशक विनोदराज आचार्यका अनुसार गत वर्ष परीक्षणका रूपमा असर्फी उत्पादन मात्र गरेको र पुरानो मौज्दात बिक्री गरेकोमा यसपटक भने व्यावसायिक रूपमा उत्पादन गरिएको असर्फी बिक्री गरिएको छ ।
राष्ट्र बैंकले आइतबारसम्म हरेक खरिदकर्ताले सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ । गत वर्ष ४ हजार सिक्का बिक्री गरेको केन्द्रीय बैंकले यसपालि १० हजारवटा सिक्का बिक्री गर्ने लक्ष्य राखेको छ । केन्द्रीय बैंकले आइतवारसम्म चाप परेमा खरिद गर्नेलाई कम संख्यामा उपलब्ध गराएर भए पनि हात खालि नहुनेगरी बिक्री गरिने बताएको छ । राष्ट्र बैंकको टक्सार विभागले २ दशमलव ५ ग्राम, ५ ग्राम र १० ग्रामका सुन तथा चाँदीको असर्फी बिक्रीमा रहेको छ ।
बबरमहलस्थित टक्सार विभागले १ हजार अंकित चाँदीको सिक्का समेत उपलब्ध गराएको छ । १ हजार अंकित चाँदीको सिक्काको मूल्य १६ सय रुपैयाँ तोकिएको छ ।
सुनको सिक्काको भने दैनिक सुनको बजार भाउअनुसार मूल्य निर्धारण गर्दै आएको छ । तिहारको बेला सुनका सिक्का, असर्फी तथा टक्सारहरू गृह प्रवेश गराउँदा ठूलो धन वृद्धि हुने जनविश्वास रहेको छ ।