बाँपीझ्याला, काठमाण्डौं । राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् । आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रुपमा लिएको बताएकी उनले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरिन् । थापाले उम्मेदवारी दिएको मोरङ ३ मा एमालेका भानुभक्त ढकालले टिकट पाएका छन् ।
उम्मेदवारी दर्तापछि रेखा थापाले फेसबुकमा लेखेकी छन् :
मेरो राजनीतिक यात्रा समयको माग हो , आज मोरङका जनताको सेवाका लागि, विगत ३० वर्षदेखि संसदमा पुगेका दलका नेताहरुले मोरङबासीका लागि गरेको काम हेर्दा, समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर युवाले गरेको विद्रोह हो ।
अब पनि हामी नबोले, हामीले आवाज नउठाए कस्ले उठाउँछ ? देश बनाउन कसम खाएका नेताहरुले देश त परै जावस् आफ्नो समाजको लागि सम्म पनि उत्तरदायी बन्न किन सकेनन् ? किन हामी मोरङवासी सँधै देशको, राजनीतिको केन्द्रविन्दु हुँदाहुँदै पनि पछि परिएका छौ त ? यस्तै तमाम समस्याले गर्दा मैले, मोरङ क्षेत्र नै ३ बाट यूवा विद्रोहको रुपमा उम्मेदवारी दिएकी छु । रंगमञ्चको पर्दामा रेखा थापाको जुन खालको योगदान थियो अव नेपाली समाजको, मोरङबासीको , आमाहरू अनि छोरीहरुका लागी विशेष योजना सहित विशेष काम गर्नेछु ।
यसपटक पैसाले भोट किन्ने प्रथाको अन्त्य हुनेछ । यसपटक जनतालाई झुट बोलेर संसद बन्ने प्रथाको अन्य हुनेछ । छिट्टै मैले मेरा केही योजनाहरु सहित तपाईको बीचमा आफुलाई उभ्याउने छु । यसपटक मोरङले राजनीतिक उच्च चेतना प्रदशन गर्नेछ, मोरङबासी राजनीतिक दास होइनन, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन, भनेर गतिलो जवाफ दिनेछन् भन्ने विश्वासका साथ संसदीय इतिहासमा मोरङले परिर्वतनका लागी विद्रोह गदैछ, त्यो चेतनशील विद्रोहमा मा सम्पूर्ण आमा बुबा दाजुभाई दिदीबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधै उच्च सम्मान गर्नेछु । मोरङबासीको जित सुनिश्चित छ ।