ऐतिहासिक शहर दोलखामा फुलपातीदेखी खड्गजात्रासम्म ५ दिन विशेष महत्वका साथ मनाउने गरेको पाईन्छ । यसै गरी आज खड्गजात्रा हो र दशैको एउटा अलग्गै विशेषता यसमा रहको छ । खड्ग जात्रा नेवारी पहिचानको दोश्रो रूप हो । यो जात्रा ठाउँ अनुसार फरक फरक रीतमा चलाइने अभिन्न जात्रा हो । यो जात्रा उपत्यकाका तीन शहर काठमाडौं, भक्तपुर, ललितपुरमा आ–आफ्नै तरिकाले नचाएर, डुलाएर मनाउने परम्परा छ ।
भक्तपुरमा मध्यरातमा तलेजु भवानीको मन्दिरबाट निकालेर बाजागाजाका साथ नचाउँदै भक्तपुर दरबार स्क्वायर परिसर घुमाउने प्रचलन छ भने काठमाडौंमा हनुमान ढोका स्थित एक्लो खड्गधारीलाई घुमाएर नवदुर्गा मन्दिर सम्म लाने प्रचलन छ, त्यसै गरि ललितपुर पाटनमा पनि तलेजु मन्दिरबाटै निकालिन्छ । तर ललितपुरमा विविध कारणले १४ वर्षदेखि स्थगित गरिएको यो जात्रा यसवर्षदेखि पूनः सञ्चालन गरिएको छ । त्यसै गरि सिन्धुपाल्चोक जिल्लाको तौथलमा पनि आफ्नै तरिकाले खड्ग जात्रा निकाल्ने गरिन्छ । अन्यत्र भन्दा फरक किसिमले तौथलमा खड्ग जात्रा देखाउने गरेको छ । यसको बारेमा विस्तृत विवरणआगामी श्रृङ्खलामा सम्प्रेषण गर्नेछौं । खड्ग जात्राको महिमा हेर्दा धेरैजसो ठाउँमा तलेजु मन्दिरबाटै निकालिने हुँदा यो देवी भगवती संग सम्बद्ध छ भनेर बुझ्न सकिन्छ ।
अब लागौं खड्गजात्रा हेर्न प्राचीनताको प्रतिकारात्मक इतिहास बोकेको दोलखा तत्कालिन अभयपुर नगरतिर ।
अन्यत्र भन्दा फरक रूपमा प्रदर्शन गरिने दोलखाको खड्गजात्रा हेर्न करीब ४÷५ दशक पहिलेसम्म टाढा टाढाबाट मान्छेहरुको घुइँचो लाग्ने गर्दथ्यो । त्यतिबेला जब कि सवारी साधन त्यत्ति चलेको थिएन, सो जात्रा हेर्नको लागि रुख, पर्खाल, स्वयम्भुथान माथिल्लो भागसम्म ढाकिएको हुन्थ्यो । जात्रा हेर्नको लागि दोलखा जिल्लाकै मात्र नभएर सिन्धुली, सिन्धुपाल्चोक, रामेछापदेखिका मान्छेहरु आउने गर्दथे ।
दोलखाको यो खड्गजात्रामा भगवती, याकर गण (एक्लो अधिपति), मुल खाँडा (मुल खड्गधारी) मन्त्री गण, राजगण, बालकुमारी देवी गण, बटिङ्खाँडा (त्रिपुरा सुन्दरी पुत्र वटुक भैरव) लगायतका गणहरुको समुह गरेर करीब २५–२६ जना जति खड्गधारी पात्रहरू हुन्छन् ।
यस खड्गधारी विभिन्न पात्रहरूको आआफ्नै विशेष भूमिका हुन्छ ।
यस जात्राको प्रदर्शनमा महिषासुर वध, चण्डमुण्ड वध, किचक वध जस्तो दृश्यहरुले भरिपूर्ण हुन्छ, कहाँ कुन ठाउँमा कुन राक्षस लुकेको हुन्छ र ती अत्याचारी राक्षसलाई कुन देव देवीले संहार गर्ने हो त्यसको भूमिका छुट्टाछुट्टै तरिकाले वध गर्ने भन्ने दृश्य दोलखा शहरको विभिन्न ठाउँमा तोकिएको हुन्छ । त्यो जात्राको रूपरेखा हेर्दा साँच्चै नै युद्धभूमिमा गएको योद्धा र सहयोद्धाको समुह अनि अघि ध्वजा पताकाहरू बोक्नेहरुको लहरले दोलखा त्यो दिन अत्यन्तै रोचकपूर्ण देखिन्छ ।
सबैभन्दा पहिले पूर्व उज्यालो हुनुभन्दा पहिले नै राजकुलेश्वर तलेजु भवानीको भगवतीको आदेश लिएर राक्षसहरू अति नै वलवान र हिंस्रक भएको हुँदा भगवती एक्लैले तिनको संहार गर्न सम्भव नदेखिएकोले स्थानीय राजगुरुको सल्लाह अनुसार घर टोलबाट राजगण र मन्त्रीगणहरुलाई साथै लाने उद्देश्य अनुरुप बाजागाजाका साथ लिन पठाउने हिसाबले कोर्छें राज खलक, थात बिहार्छें मन्त्री खलक अनि डाँडाथोक भारदार खलक गरेर सबैबाट संकलन गरेर राजकुलेश्वर तलेजु मन्दिरमा जम्मा भएपछि त्यहाँको याकरगण सेनापतिले भगवतीको आदेश बमोजिम मुलखाँडालाई बोलाएर युद्धको तैयारी भएको शंखनाद गर्दै तलेजु मन्दिरको प्राङ्गणमा नाच्दै बिस्तारै बहिर टोलको चक्रडबलीमा पुग्छन् ।
त्यहाँबाट क्रमशः नाच्दै नक्छें, श्यामसुन्दर, गुर्कोट भएर टसिचा हुँदै रासनीको ठाडो उकालोको दोबाटोमा किचक वध गरेर माथिल्लो टोलमा पुग्छन्, त्यहाँबाट भीमसेन डबली हुँदै भीमसेनकै मन्दिर सामु मरेतुल्य भएझैं लडिरहेका चण्डमुण्डहरुलाई सखाप पारेर त्रिपुरासुन्दरी भगवतीको शरणमा पुगेर राक्षसहरूले छल गरेर भाग्दै गरेको कुरा सुनाएर त्रिपुरासुन्दरी भगवती संग वीर योद्धाको जरुरत परेको कुरा राखेर अनुरोध गरेपछि उनले आफ्नै छोरा वटुभैरवलाई बोलाएर पठाएको प्रारूपमा चारहात भएको छोरा बटिङ्खाँडा बडो फूर्तिका साथ मैदानम उत्रिन पुग्छ । अनि फेरि नाच्दै दुङ्गल टोलतिर पुग्छन् ।
त्यहाँबाट पहिलो समुह नात्यश्वर मन्दिरमा पुगेर आफूहरुले बलियो योद्धा पाएको खुशिमा मृदंग ( खिं बाजा ) को तालमा नाच्दै पूनः अगाडि बढ्छ पिङ्गलतर्फ । त्यहाँबाट दुइ समुहमा विभाजन भएर एउटा ढोलक, छ्यालि र शहनाईको तालमा र अर्को खिंबाजा र भजनको तालमा नाच्दै फेरि उही राजकुलेश्वरमा पुग्छन् ।ती राक्षसहरुले अनेक छल गरेर कहिले कुभिन्डोमा लुक्ने कहिले घ्याम्पोमा लुक्ने गरेर हैरान पारेको परिदृश्यमा खड्गधारी रुपी पात्रहरुले खोजी खोजी राक्षसलाई मार्न खोज्दा पूनः चक्र डबलीमा राँगो भित्र लुकेको खबर पाएर त्यहाँ पुगेर पनि वध गर्न खोज्दा त्याँबाट पनि भागेर खिङल्चा जाने दोबाटोमा लुकेरबसेको खबर पाएर त्यहीं पुगेर शीर छेदन गरेर विजय हासिल गर्दछन् । त्यो ठाउँलाई स्थानीय भाषामा ’ छेरप्वाले’ भनिन्छ । यसको अर्थ शीर छेदन हो ।
दिनभरि राक्षसहरुलाई लखेटा लखेट गरि संहार गर्दा पनि राक्षसका आत्मा अंश राँगोको टाउकोमा लुकेर बसेको थाहा पाएर राज खलक र भगवतीका सेनाले त्यही ठाउँमा पुगेर वध गरेको प्रसङ्ग यस ठाउँले दर्शाउँछ । यसरी पूर्णतया विजय प्राप्त गरेपछि खुशीयालीको धुन बजाएर फर्कन्छन् र दुङ्गल टोलको सिम्भुथानको पूर्वपट्टि जम्मा भएर विदाई कार्यक्रम स्वरूप ’ लसखस’ गर्ने प्रचलन छ । यसपछि सबैलाई आआफ्नो स्थानमा पुर्याईन्छ ।
दोलखामा संस्कृतिको विविधतामा शहनाईको धुनले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हरेक एक जात्रामा शहनाईको धुन र ढोलकको तालको फरक प्रस्तुतिले पनि दोलखाको मौलिकता झल्केको पाईन्छ । अब दोलखाको ती जात्रहरुलाई अवलोकन गर्न गराउन सबैले यथाशक्य साथ सहयोग दिएर दर्शनार्थीहरू, दर्शकहरूलाई आकर्षण गर्न समयानुकूल बजार व्यवस्थापन गर्न आजको आवश्यक्ता रहेको छ ।