Search

प्राचिन शहर दोलखा र यस भित्रका मौलिक धाराहरू

प्राचिन शहर दोलखा र यस भित्रका मौलिक धाराहरू

सन्दर्भ जिर्णोद्वार सम्बन्ध

विषयगत लेखक : अमर कुमार प्रधान संग्रह सहयोगी : बिके श्रेष्ठ ‘पासा’

पानी वा जल वा अंग्रेजीमा ‘वाटर’ भनिन्छ आँखिर जस्तो नाम दिए पनि यो तत्व बिनाको जीवनको परिकल्पना गर्न सकिएको छैन । हामी बसेको पृथ्वीमा दुई तिहाई भाग जल र एक तिहाई भाग जमिन रहेको मानिएको छ । एक तिहाई जमिन अहिले आठ अरब जनसंख्यामा उन्मुख मानव मात्रको लागि खानेपानी (पिउने पानी) को पहुँच बिस्तारै घट्दै गइरहेको छ । पारमाणविक हतियारको होडबाजी गर्न सक्षम शक्ति राष्ट्रहरूले पानीको विश्लेषण हाइड्रोजन दुई तिहाई र अक्सिजन एक तिहाई (एचटुओ) भनेर प्रमाणित गर्न सक्षम भए पनि पानीको मूल आधारको चक्रवृत्तको सामु निरुत्तर छ ।

यो जल ठोस रुपमा हिउँ (बरफ), तरल रुपमा पानी अनि यसबाटै बाफ बनेर बादलको रुपमा परिणत भएर जान्छ । अज्ञात सृष्टिकर्ताले सृष्टि गर्दा हाम्रो पृथ्वीमा प्रारम्भमा जति जल (सागर, बादल र नदी) बनाइ दिएको थियो त्यो यथावत छ र घटीबढी छैन । तर यो आलेखको उद्देश्य त्यतातिर होइन । मानव बसोबास गर्न लाग्दा पहिले पानीको मूल खोजिन्थ्यो, इनार, कुवा वा तलाउ पत्ता लगाई धारा बनाइन्थ्यो । राजा महाराजाहरू धारा बनाएपछि शिलालेख राखी त्यसको चिर पर्यन्तको लागि गुठी व्यवस्था गर्दथे ।

नेपालमा निर्मित यस्तो प्राचीन धारामा कुन चाहिँ धारा पहिलो हो त ? नारायणहिटी दरबार (हाल संग्राहलय) को दक्षिण दिशामा अहिलेसम्म रहेको धारा हो । मिथकले के भन्छ भने लिच्छवी राजा विश्वदेवले धारा बनाउन लगाए । तर पानी निस्केन, कैयन् कोशिश गरी हेरियो, मुहानमा पानी छ, बीचमा पानी बहिरहेकै छ तर दरबार अगाडिको दक्षिण तर्फको नारायण मन्दिरकै सम्मुख उत्तराभिमुख स्वर्णलेपन गरिएको धाराबाट पानी चाहिँ झर्दैन । राजाले ज्योतिषलाई हेर्न लगाए । ज्योतिषले शुरुमा बताउन हिच्किचायो तर राजाले जे देखिएकोे छ बिना संकोच डर नमानी बताउ भनेपछि ज्योतिषले “नाग रिसाएको छ, उसलाई बत्तीस लक्षणले युक्त भएको मानव प्राणीको बलि चाहिन्छ ।” भनेर आफ्ना भनाइ व्यक्त गर्यो ।

“अब बत्तीस लक्षणले युक्त मानव प्राणी याने कि व्यक्ति त स्वयं महाराज विश्वदेव, राजकुमार युवराज मानदेव र मानदेवकी पत्नी (युवराज्ञी) भानुमति मात्र देखिन्छ सरकार” भनेपछि राजा विश्वदेव असमन्जस्यमा परे । उनले मानदेवलाई बोलाएर भने– “युवराज १ धारामा पानी रोक्ने त अलच्छीन भूत पो रहेछ, भरे मध्य राती चुपचाप जानु भूत सुतिरहेको हुनेछ, दायाँबायाँ खोजखाज नगरी तरवारले शिरोत्छेदन गर्नु,” भन्ने आदेश जारी गरे ।

युवराजले पनि आज्ञा शिरोपर भन्दै कसैलाई क्यै नभनी जाँदा गुम्लुङ्ग ओढ्नी ओढेर घोप्टो परिरहेको भूतलाई ताराको मिर्मिरेमा ठम्याए । बिना हिच्किचाहट् उनले तरवार प्रहार गरी भूत भनिएको टाउको काटी दिए । धारामा पानी आयो । टाउको मानदेवको हातमा टाँसियो, मानदेवले जब आफ्नै पिताको टाउको हातमा टाँसिएको देखेपछि उनी विलखवन्दमा परे । यता नागले पितृ हत्याराको अनुहार हेर्नु हुँदैन भनी मुख बङ्ग्यायो । त्यसपछि मानदेवले इष्टदेवी बज्रयोगिनी माई (साँखु) मा गएर पिता विश्वदेवको टाउको चढाई आफ्नै पिताको हत्या गरेकोे दोषबाट मुक्ति पाउन तपस्या गरे ।

राजकुमार युवराज मानदेव र मानदेवकी पत्नी (युवराज्ञी) भानुमति मात्र छ सरकार” भनेपछि राजा विश्वदेव असमन्जस्यमा परे । उनले मानदेवलाई बोलाएर भने– “युवराज ! धारामा पानी रोक्ने त अलच्छीन भूत पो रहेछ भरे मध्य राती चुपचाप जानु भूत सुतिरहेको हुनेछ, दायाँबायाँ खोजखाज नगरी तरवारले शिरोत्छेदन गर्नु,” भन्ने आदेश जारी गरे । युवराजले पनि आज्ञा शिरोपर भन्दै कसैलाई क्यै नभनी जाँदा गुम्लुङ्क ओढ्नी ओढेर घोप्टो परिरहेको भूतलाई ताराको मिर्मिरेमा ठम्याए । बिना हिच्किचाहट् उनले तरवार प्रहार गरी भूतको टाउको काटी दिए । धारामा पानी आयो ।

टाउको मानदेवको हातमा टाँसियो तर नागले पितृ हत्याराको अनुहार हेर्नु हुँदैन भनी मुख बङ्ग्यायो । त्यसपछि मानदेवले इष्टदेवी बज्रयोगिनी माई (साँखु) मा गएर विश्वदेवको टाउको चढाई बाबुको भूतात्मा मारेको दोषबाट मुक्ति पाउन तपस्या गरे । बज्रयोगिनी माईले उनलाई– “यहाँबाट उडाएको परेवा गएर जहाँ पहिलो पाइलो टेक्छ, त्यहाँ बौद्ध चैत्य बनाउनु अनि पाप मोचन हुन्छ,” भन्ने आज्ञा भएपछि त्यो उडाएको परेवा पछ्याउँदै आउँदा हालको बौद्ध भएको ठाउँमा परेछ । बज्रयोगिनी माईको आदेशानुसार बौद्ध चैत्य बनाउन खोज्दा त्यतिबेला महा खडेरी परेर पानीको हाहाकार भयो । पानी बिना चैत्य निर्माण सम्भव थिएन । त्यसैले मानदेवले कठोर परिश्रम गर्नथाले प्रत्येक बिहान कुहिरो लाग्छ र त्यही कुहिरोबाट शीत बनेर झरेको पानी जम्मा पार्दै त्यो चैत्य बनाउन साहस गरे ।

झण्डै बाह्र वर्ष लगाएर सो बौद्ध चैत्य बनाए । नेवारी भाषामा बौद्धलाई अझै पनि खास्ती भन्ने चलन छ । यसको अर्थ हो ‘खसु ती’ ‘खसु’, भनेको कुहिरो र ‘ती’ भनेको तरल पदार्थ हो । यही कुहिरोबाट शीत बनेर झरेको पानीबाट बनेको भएर नै नेपाल भाषा बोल्नेहरूले बौद्धलाई खास्ती भन्दै आएका छन् ।

अब प्राचीन नगरी दोलखामा पानीको व्यवस्थापन कहिलेदेखि भयो किटान गर्न सकिरहेको छैन । दोलखा भीमेश्वरको शिलाको उत्पति यहीं भएको यहीँबाट पछि भीमफेदी, काठमाडौं, ललितपुरमा चाहिँ पछि मूर्ति (धातुको) बनाई स्थापना गरेकोले भीमसेन उद्भव संगसंगै मानव बस्ती बसेकाले पानी पिउन धारा बनाइएको देखिन्छ ।

ऐतिहासिक अभिलेखको व्याख्या अनुसार भन्नुपर्दा इतिहासकारद्वय धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठले दोलखाको ऐतिहासिक रुपरेखा पुस्तकमा लेखिएकोमा दोलखा शहरको तल्लो टोलमा अवस्थित एक ऐतिहासिक एवं साँस्कृतिक प्रारम्भिक टोल पिङ्गलको पशुपति मन्दिरको पश्चिम ढोका सामुबाट दक्षिणतर्फ गएको स्थानमा दुई मिनेट पैदल मार्ग हिँडेपछि पुगिने छोपती ढुङ्गे धारा छ ।

यसलाई छोपती किन भनिएको होला भन्ने सन्दर्भलाई हेर्दा दोलखाको मातृभाषा नेवार भाषामा ‘छो’ को अर्थ गहुँ र ‘वती’ को अर्थ धारा भएकोले गहुँ खेत जाने बाटोमा परेको धारा भएकोले ‘छो वती’ भनिएको र कालान्तरमा अपभ्रंश भएर ‘छोपती’ भनिएको भन्ने मान्यता रहेको छ । र अर्को अनुमानित परिभाषामा दोलखा नेवारी भाषामा झुसिलकिरालाई ‘छोबु’ र ‘वती‘ भनेको धारा हो ।

यहाँ लगभग बाह्रै महिना झाडीले छोपिएको हुन्छ, त्यसैले यहाँ झुसिल किरा कहिल्यै खालि हुँदैन, यसरी प्रायः जसो यो धारामा ती किरा भैरहेको कारणले ‘छोबुवती’ भन्दाभन्दै पछि छोपती भएको पनि मान्न सकिन्छ ।

अब इतिहासकार धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठले सो पुस्तकमा लेखिए अनुसार धाराको ठीक माथि शिलाको सानो विष्णुको मूर्ति छ । त्यसको तल कीर्तिसिंह (विक्रम सम्वत् १४२०) को नाम उल्लेख छ । यस पुस्तकमा उल्लेख भए अनुसार किर्तिसिंह दोलखाका शासक थिए तर उनी तत्कालीन उपत्यकाका राजा यक्ष मल्ल अन्तर्गत रहेका थिए भन्ने उल्लेख छ । यक्ष मल्लको शासनकालपछि उपत्यकामा कान्तिपुर, ललितपुर र भक्तपुर अलग भएर छुट्टाछुट्टै राज्य भए ।

कीर्तिसिंहको छोरा उद्धवदेव पनि अब स्वतन्त्र राज्य दोलखाको अधिपति घोषणा गरे । सायद राजा उद्धवदेवकै पालामा हुनसक्छ, दोलखा एक नगरको रुपमा प्रतिस्थपित भै सकेपछि यसै नगरको पश्चिममा पहिले राजहिटी नामले प्रचलित भएको पछि अपभ्रंशित तीन धारा राइती छ, जुन अद्यपि बहिरहेको छ । यसमा रहेको तीन धारा मध्ये दुईतिरको धारा हिउँदमा सुकेर जान्छ भने बीचको ठूलो कलात्मक मूल धारा भने बहाइमा कम भएपनि सुक्र्दैन । यो धाराको मुनि राजा भागिरथको कोरेर राखिएको देखिन्छ । राजा सगरका ६० हजार छोराहरू अश्वमेध यज्ञको घोडा लिई त्यो बेलाका राज्यहरू जित्दै गए, त्यतिबेलाका चलन के थियो भने अश्वमेध यज्ञ गरेर निर्वन्ध छोडिएको श्यामकर्ण घोडालाई पराक्रमी पुरुषले आफ्नो अधीनमा लिन सकेमा मात्र युद्ध गरी जीतहारको घोषणा हुन्थ्यो ।

नत्र आत्मसमर्पण गरी दिग्विजय गरेको स्वतः सम्राट कहलाइन्थ्यो । सगर राजाको यज्ञमा व्यवधान खडा गर्न स्वर्गका राजा इन्द्रले चुपचाप घोडा चोरी तपस्यारत कपिल मुनिको आश्रममा पुर्याई बाँधिदिए । घोडा खोज्दै हिँड्दै हायलकायल अवस्थामा पुगेका ६० हजार राजपुत्रहरू कपिल मुनिको आश्रममा पुग्दा घोडा देखेपछि चोरले घोडा चोरी साधुको भेषमा रहेर छल्न तपस्या गरिरहेको भन्दै त्यस आश्रममा भएका वस्तु यताउता मात्र गरेनन् कपिल मुनिको ध्यान भंग गर्न उनको शरीरमा चलाएर कष्ट पुर्याइरहे । आफ्नो तपस्यामा विघ्न भएको क्रोधमा मुनिको दुवै आँखाबाट अग्नी ज्योति निस्केर सबै राजकुमारहरू भस्म भए ।

आफ्ना छोराहरू त्यसरी भस्म भएको खबरले राजा सगरले मुनिलाई प्रार्थना गरी इन्द्रको करतुत बताएपछि भस्म भएका पुत्रहरूको मुक्ति कसरी हुन्छ भन्दा स्वर्गको गंगा धरतीमा ल्याएर भस्म पखालेपछि मात्र मुक्ति मिल्छ भनेपछि राजा सगरले युवराज दिलीपलाई सो कामको जिम्मा दिए तर उक्त गंगा ल्याउन उनी सफल भएनन्, उनीपछि छोरा अङ्शुमानले कोशिश गरे उनी पनि निस्फल भए । त्यसपछि अर्का छोरा भगिरथले कठोर तप गरी गङ्गालाई पृथ्वीमा आउन मनाए ।

गङ्गाले उनको कुरालाई स्वीकार त गरिन् परन्तु आफ्नो स्वर्गदेखि झर्ने बेलाको वेग महादेवले बाहेक अरुले थाम्न सक्दैन के गर्छौ भनेर सोधनी गरेकोले भगिरथले गौरीशंकर हिमालको फेदीमा गएर पुनः तपस्यामा लीन भए । भगिरथको तपस्याबाट प्रभावित भएर प्रत्यक्ष प्रकट हुँदै उनको चाहना र आवश्यक्तालाई बुझेर गङ्गा धरतीमा झर्दाखेरीको तीव्र वेगलाई आफ्नो शिरमा रहेको जटामा थाप्न शंकर तैयार हुनुभयो । त्यसपछि स्वर्गबाट गङ्गाको धारा महादेवको जटामा त पर्यो तर महादेवको सोचमा गङ्गाले अभिमान गरेको जस्तो लागेर उनीलाई पाठ सिकाउन धाराको साथमा गङ्गालाई नै आफ्नो जटामा भुल्याइ दिनुभयो ।

भगिरथले गङ्गाको धारा सहित उनी नै महादेवको जटाबाट तल नझरेपछि पुनः तपस्या गरेर जटाबाट जल धारा सहित आउन अनुनय गरेपछि गङ्गा प्रकट भयो तर महादेवलाई नै अल्मल्याएको कारणले आपूm अल्झिनु परेकाले उनी लज्जित भइन् । यसरी लज्जित हुँदा तिनका दुवै गाला राताम्मे भएर ताम्रवर्ण जस्तै देखियो, सोही अवस्थामा गङ्गाको धारा बहेकै कारणले गौरी शंकरको फेदबाट बगेको नदीको नाम नै तामाकोशी रहन गएको बताइएको छ । यसरी प्रतापी राजा भगिरथको प्रयत्नबाट दोलखा जिल्लाको छत्रछायाँमा पानी अवतरण भएको मान्यता दिएर नै परम्परागत तीन धारा राइती (राजहिटी)को धारा मुनि भगिरथको चित्र अङ्कित गरिएको हुनुपर्छ ।

यो धाराको नाम राजहिटी किन राखिएको भन्ने सन्दर्भमा यो राजाहरूको धारा जसलाई नेपाल भाषाबाट ‘हिटी’ र दोलखाको नेवार भाषाबाट पछि ‘वती’ भएको हो । र अर्को अर्थमा सबैभन्दा असल, उत्तम र उच्चस्तरको देखिएकोले पनि यसलाई ‘राजहिटी’ भनिएको मान्न सकिन्छ । बोल्दै जाँदा पछि राइती भन्न थालिएको हो भन्दा फरक नपर्ला ।

राइतीको परिवेशमा चतुर्मुखी शिवलिङ्ग, दश अवतारका मूर्ति लगायत अन्य मूर्तिहरू थिए र अद्यपि छँदैछ, कुनै कुनै टुटफुट भएका छन् । राजा उद्धवदेवले स्थापना गरी सम्भार सञ्चालन गरेको भनाइको अभिलेख मोहन प्रसाद खनालज्यूको अभिलेख संकलनमा परेको तर दोलखाको ऐतिहासिक रुपरेखाका स्रष्टाद्वय धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठले इतिहास खोतल्ने बेलामा सो माथि उल्लेखित मूर्तिहरू नपाएकाले हराइसकेको अनुमान छ । माघ महिनामा मनाइने श्री पञ्चमीको बेलामा ६ दिन पूजा गर्नको लागि शिलाकै सरस्वतीको प्रतिमा घरबाट ल्याएर राइतीमा राखी पूजा सकेपछि फर्काइने चलन छ ।

राइती धारामा हरेक सालको घटस्थापनाको दिनमा सामान्य भएपनि रमाइलो मेला जस्तै हुन्छ । यो दिन कन्येकेटा (व्रतवन्ध नभएको) ले पण्डितको विधिपूर्वक चोखो पानी थापी लगेर नै देवी देवताथानमा घटस्थापना गरिन्छ । राइतीमा भएका तीन वटै धारा पूर्वाभिमुख छ । धारा माथि ससाना खोपिल्टामा पत्थरमै कुँदिएका देउताका शिला मूर्तिहरू छन्, त्यसमा स्नान गरेर जल अर्पण गन्छि । यसको नजिकै उत्तरमा एउटा पाटी छ, जहाँ बर्षायाममा लुगा धुने र महिलाहरूले कपडा बदल्नका लागि प्रयोगमा ल्याएको छ । यो धारामा अधिकांश महिलाहरूले उपयोग गरेका हुन्छन् । दोलखाको धारा नजिकै पाटी भएको यही मात्र हो ।

यही धारामा एकताका वि.सं. २०३९–२०४० सालतिर मूल मुहानबाट नै पानी नआएर निकै कठिनाइ भोग्नुपरेको थियो । स्थानीय पञ्च भलाद्मीहरू नै बसेर छलफल गरेर पछाडिबाट खन्दै निकै माथिसम्म चामसलीको चुच्चे ढुंगा भएको ठाउँसम्म हेरेर थुनिएको चुहिएको ठाउँमा टालटुल गरेर पानीको मात्रा बढाइएको थियो । त्यसपछि दोश्रो पटक धाराको वरिपरि रहेको देउताको शिला मूर्तिहरू नै कुनै हराउने कुनै टुटफुट भएको अवस्थामा पुनः मर्मत सम्भार गरिएको थियो ।

अब यसवर्ष दोलखा भिनपा वडानं. २ खानेपानी तथा ंिसचाइ उपभोक्ता समितिको पहलमा पुनरनिर्माण भएको धाराले ऐतिहासिक परिवर्तन ल्याएको छ । यो धारा पुनरनिर्माणमा लागेका सहयोगी मनहरूलाई हामीले नमन गर्नैपर्छ । यस धाराले ल्याएको नयाँ स्वरुपले अन्य धाराहरू पनि त्यही रुपमा आउन आतुर भएका होलान् । सम्बन्धित निकायको ध्यान जानेछ भन्नेमा हामी विश्वस्त भएका छौँ ।

राइती धाराबाट अलिक तल एउटा सानो धारा छ, यसमा पानी कमै मात्रामा आउँछ, यो धारामा आउने पानी पनि त्यही राइतीको मूलबाट आउने गरेको पछि कतै अवरोध भएकै कारणले पानीको परिणाम घटेको हुनुपर्छ । त्यसकै छेउमा अर्को एउटा ढुङ्गे धारा छ जसलाई बज्रवती भनेर जान्दछौँ । यो धाराको मूल विशेषता भन्नु नै बाह्रैमास एकनासले पानी बहिरहनु हो । जस्तोसुकै भेल बाढी आउनेगरी वर्षा भए पनि न त ठूलो हुन्छ न त सानो नै ।

पूर्व उन्मुख यो धाराको मास्तिर ढुङ्गाको पर्खाल कुनामा गणेशको आकृति शिला छ । यहाँ स्नान गर्नेहरूले पानी तर्पण गरी चढाउने गर्दछन् । बज्रवतीको नजिकै ऐतिहासिक रानी दरबार रहेको छ यसलाई बहार टोल भनेर चिनिन्छ । यो दरबार सायद त्यो बेलामा भव्य आकर्षक हुँदो हो । यही दरबारकै छत्रछायाँमा रहेको यो बज्रवती सायद दरबारकै प्रयोजनको लागि बनाइएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । तथापि यो धारा निर्माणमा डोकलुङा टोलका जोशी परिवारबाट बनेको भन्ने पनि सुन्नमा आएको छ ।

यहाँभन्दा अलि तल करीब २०–२२ पाइला हिनेपछि फेरि सानो तुर्तुरे ढुङ्गे धारा छ । यो धाराको बारेमा केही उल्लेख नभए पनि राइती भन्दा मुनिका तीनवटै धाराको आआफ्नै अस्तित्व लुकेको छ । यस राइती धारा परिवेशबाट बगेको पानी सबै दक्षिण तिर बहेर तल खेततिर झरेका छन् । यस धाराले पिउनाका लागि मात्र नभएर सिंचाइ गर्न समेत धेरै मद्दत मिलेको छ ।

यहाँबाट अभैm तल गएपछि अलिक पर नै खिङल्चा वती भन्ने अर्को ढुङ्गे धारा छ । यसको नाम खिङल्चा भन्नुको तात्पर्य सानो अँध्यारो भन्ने बुझिन्छ । जस्तो कि ‘खिङौ’ अँध्यारो ‘चा’ सानोको पर्याय बुझाउँछ । दोलखाको तल्लो टोलको मान्छेहरूको दिवंगत हुँदा यही धाराकै वरिपरि ढिकुरो बाँधेर किरियाकर्म गर्ने गरिन्छ । यो धारा तल्लो टोलका पुरुष वर्गका लागि अत्यन्तै उपयोगी धारा हो , नुहाउन, लुगा धुन र सुकाउन पनि सहज भएको अत्यन्तै उपयुक्त यो धारा परिसर खेतबाट काम गरेर आउँदा र भारी बोकेर आउँदा बिसाएर विश्राम गर्नका लागि चौतारो समेत भएको ठाउँ हो । पहिले त यहाँ केही लाली गुराँसका रुख पनि थियो, अहिले त सिसौ र उत्तिस मात्र पाइन्छ ।

यी सबै धाराको उद्गम स्थल भनेको पश्चिम उत्तरतर्फ रहेको सिंहबन हो । जहाँ चिलाउने, काफल, लाली गुराँस, पैयुँ, पालक्सी जस्ता मजबुत काठ निकाल्न मिल्ने वृक्षहरू थिए अझै कृही छन्पनि तर पछि सल्ला रोपेर बनको सुन्दरता निखारएिको छ । तर अन्य वृक्षले जस्तै यो सल्लाले जमीन मुनि पानी उत्पादन हुने शक्तिलाई हानी पुर्याउँछ । किनकि यसले झन् जमीन नै सुक्नेगरी पानी आपैmतिर तान्छ ।

खिङल्चाबाट अलि तलतिर गएर पूर्वतिर लागेपछि अर्को धारा आउँछ । जसलाई जाङलवती भनिन्छ । दोलखाको नेवारी भाषामा ‘जाङल’ भनेको चरा हो वती भनेको त थाहा भैसकेको छ । यहाँ पनि यो पानीले थोरै परिधिलाई भएपनि सिंचाइका लागि सहयोग पुगेको छ र शनिबारको दिन यहाँ पनि नुहाउनेहरूको जमघट हुने ठाउँ हो यो । अघिपछि मान्छेहरू नहुँदा चराचुरुंगी पनि पानी पिउन र खेल्न आइरहेकै कारणले पनि यसको नाम जाङल वती (चरी धारा) भनिएको हो कि ।

अझ पूर्वतिर तेर्सो लागेपछि मकैबारी र खेतहरूको बीचको सार्वजनिक जग्गामा वर्षामा मूल फुटेर निस्कने धारा छ । यसलाई ट्वापरचा वती भनिन्छ । ‘ट्वापर’ भनेको सानो अग्लो ठाउँमा रहेको थुम्का हो । यो धारा पनि नुहाउन योग्य छ । त्यसैगरी बहार टोल भन्दा मुनि बहारवली (घरबारी–करेसाबारी) जाने बाटोमा अर्को धारा छ । यो पनि वर्खायाममा मात्र पानी आउने धारा हो ।

दुङ्गल टोलको दक्षिणतिर सिंढी ओर्लेर जाँदा निरन्तर बहिरहने नसु धारा छ । यो धारा अन्य धारा भन्दा साने भएकोले यसलाई स्थानीय भाषामा वतीचा भनेर चिनिन्छ । एकताका दुङ्गल टोलकोे यो धारामा आएको पानीमा आयोडिनको कमी भएकोले गलगाँड निस्कने रोग फैलिएको चर्चा पनि चलेको थियो ।

दुङ्गल टोलकै परिसरको कुरा गर्नुपर्दा एक परम्परागत बनारसी तिर्थस्थलको पनि चर्चा गर्नैपर्ने हुन्छ । यो बनारसी तिर्थस्थल भीमसेन मन्दिरबाट काली मन्दिर भएर ठाडो ओह्रालो सिंढी झरेर त्रिपुरा सुन्दरी मन्दिर जाने बाटो गएपछि बायाँबाट तल जङ्गलतिर जाने बाटो देखिन्छ । यहाँबाट लगभग पाँच मिनेटको ओह्रालो बाटो झरेपछि घना जङ्गल हुँदै तल खोँचमा दुईवटा धारा भएको ठाउँमा पुगिन्छ । यसलाई नै पवित्र तिर्थस्थलको रुपमा कहलाइएको छ बनारसी भनेर । यहाँ पितृका लागि श्राद्ध गर्ने परम्पराका साथै हरेक माघ महिनाको स्वस्थानी व्रतकथाको साङ्गे पूर्णिमाको दिन सहश्रधाराको मेला लाग्ने गर्दछ । यहाँ रहेको धाराको पानी लिएर पितृलाई अर्पण गरिएमा मृतात्माले चिर शान्ति प्राप्त गरेर बैकुण्ठमा बास पाउँछन् भन्ने जनविश्वास रहँदै आएको छ ।

दोलखाको एक प्रसिद्ध मन्दिर मध्येमा त्रिपुरा सुन्दरीको मन्दिर पनि हो । केही दशक पहिलेसम्म यहाँ दैनिक भजन किर्तन हुने गर्दथ्यो । यो मन्दिर परिसरमा भने ढुङ्गे धारा अहिलेसम्म बनाएका छैनन् यहाँको नित्य पूजा र सरसफाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले कालिन्चोक युवा क्लवले पाइपबाट पानी लगेर भएपनि ट्यांकीमा जम्मा गरेर सेवा दिएको छ ।

त्यसैगरी हालको भीमेश्वर प्रवेशद्वार रहेको पाखलती बजार नजिकै एउटा ठुलो ढुङ्गेधारा छ । यो धाराको पानीले पाखलती बस्तीलाई यथेष्ट पुगेको थियो कालान्तरमा यसबाट पानी आउन बन्द भयो । यसको मुहान पत्ता लगाउन नसकेकोे कारणले लामो समयसम्म पानी झर्न पाएन । त्यसैगरी पाखलतीकै ठूलो पोखरीको भित्तामा गोदावरी कुण्ड थियो त्यहाँ धाराको प्रतिरुप नभए पनि जमिन भित्रबाट पानी निस्किरहन्थ्यो । अहिले सो ठाउँमा पानीको मुहान नै ढाकिने गरी पर्खाल उठाइएको छ । संस्कृतिविद्हरूले यता पनि ध्यान दिन जरुरी रहेको छ । यहींको पानी नै भीमेश्वर मन्दिरको ढुंगे धारामा लगिएको छ भन्ने पहिलो पुस्ताका मान्छेहरूले बताउँदै आएका छन् । भीमेश्वर मन्दिरमा पानीको अभाव नहोस् भनेर त्यहाँ पानी लाने व्यवस्था गर्न भिनपा २ तिखतलमा एउटा जग्गा फौद ंिस कर्णेलले एक स्थानीयलाई दिइ राखेको कुरा पनि सुनिनमा आएको छ, तर सो जग्गा कमाउने व्यक्ति को हो भन्ने परिचय खुल्न सकेको छैन ।

२०२० साल तिर खड्ग बहादुर श्रेष्ठ प्रधानपञ्च भएपछि काठमाडौबाट फलामको पाइप बोकी दोलखा पुर्याइयो । म धुलिखेलमा थिएँ । जनश्रमदान गर्नका लागि सहभागी भएर साहिँला बाजे हरिबहाुर प्रधान पनि आउनु भएको थियो । त्यो बेला फलामको पाइप बनेपादेखि बोकिएको थियो । दोलखा शहर मास्तिरको जङ्गलमा पानीको मुहान खोजेर दर्फेमा रिजर्भभ्वायर बनाई २४ घण्टा पानी भरेर भोलिपल्ट बिहान र बेलुकीपख दुई पटक पानी आउने गरी भीम पब्लिक हाइस्कूलदेखि पालचुटी, लिस्टोल, नसु, दुङ्गल, पिङ्गल, डोकलुङा, श्यामसुन्दरमा खानेपानीको सार्वजनिक धारा प्रयोगमा आए ।

हुन त राजा उद्धव देवकै पालामा माटोको पाइपमा भूमिगत तरिकाले ठाउँ ठाउँमा माटोको घ्याम्पो राखेर त्यसभित्र पानी छान्नका लागि बालुवा हालेर खानेपानी सप्लाइ गरिएको थियो भन्ने प्रमाणित राजकुलेश्वर स्कूल पहिलो पटक बनाउने बेलामा जग खन्दाखेरि निस्केको माटोको ठूला ठूला पाइपले पुष्टि गरेको छ जुन पाइप गुर्कोट टोलको बाटो गरेर राजकुलेश्वरको प्राङ्गण हुँदै हालको रानी पोखरी सम्म फेला परेको थियो । अनुमान गर्दा सो पाइप बहिर टोल र बहारको रानीको दरबारसम्म लगेको हुनुपर्छ । सो पाइपको वास्तविक तथ्य बुझ्नको लागि हालको कोर्छेँमिको कुल देउताको आँगन देखि गुर्कोट जाने मूल बाटो र डोकलुङा निस्कने झोर खोल्सातिर उत्खनन गरियो भने पत्ता लगाउन सकिएला कि भन्ने अनुमान मात्रै हो ।

नेपाल रेडक्रस सोसाइटीबाट पनि थप सार्वजनिक धारा निर्माण भएका थिए । म सिँचाइ विभागमा हुँदा मेरो बुबा तत्कालीन वडाध्यक्ष (कमल प्रसाद प्रधान) को निवेदन परी तल्लो टोल नक्छेँ, स्वयम्भू, डोबर अगाडि कोर्छेँ लगायत अन्यत्र गरी ६ ठाउँमा खानेपानीका धारा थपिए ।
त्यसैगरी दोलखामा बजार भन्दा पश्चिमी भागमा रहेको तुतुरवतीको पनि एक जमानामा निकै महत्व थियो र अहिले झन महत्व बढेको छ, अहिले त झन् त्यता पनि बस्ती बढ्दै गउकोले त्यो धाराले पनि आफ्नो भूमिका खेलेकै हुन्छ । त्यस्तै देलखा बजारबाट तल बालकुमारी मन्दिरको बाटो भएर तामाकोशी जाँदाखेरी भेटिने एउटा ढुंगेधारा त्यसको आफ्नै महत्व छ । यो धारा भएको ठाउँलाई ‘पेंठचा वाङ ठाइँ’ भनिन्छ । यसको अर्थ हो पिण्ड चढाउने ठाउँ हो । पहिले पहिले श्राद्ध गर्दा तर्पण गरिने माटोले बनेको ससाना घैलामा पानी, दूध, दही, घिउ र मह मिसाएर पञ्च पिण्ड बनाएर पितृको नाममा त्यहाँ सम्म चढाउन जानु पर्दथ्यो पछि यो चलन दोबाटोमा चढाउने गरेर लोप हुँदै गएको हो ।

२०७२ को महाभूकम्प पछि दोलखाको प्राचीन नगरीको स्वरुप, शोभा र परिवेश भग्नावशेषमा परिणत भयो । पुराना पाइप लाइनका मार्ग नै बदलिएको अवस्थामा पुग्यो कतिपय ठाउँमा पुरानो कल धाराको अस्तित्व नै मेटिएको अवस्थामा पुग्यो । अहिलेको नयाँ स्थितिमा नयाँ ठाउँबाटै पाइपबाट सप्लाइ गरिने पानी नयाँ निर्मित घरघरमै निश्चित रकम असुली आलोपालो गरेर पानी वितरण गर्ने गरिएको छ । घरभित्र नै ट्यांकीमा पानी जम्मा गरेर छतमाथि राखिएको ट्यांकीमा जम्मा गरेर उपयोग गरिने शहरिया चलनको पर्याय देखाउन खोजिए पनि दोलखाको जात्रामात्रा पुर्व एवं धार्मिक पुण्य कार्यमा ‘निलोखु’ (चोखो पानी) राइतीकै पानीलाई पवित्र सम्झेर प्रयोग गर्न हामीले कहिल्यै बिर्सनु हुन्न । स्मरणीय कुरा के छ भने प्राचीन सभ्यता देखि अहिलेसम्म बज्रवती र राइतीको पानी पिउन न छान्न आवश्यक न उमाल्न जरुरी । यसलाई अमृत सम्झेर पिउनेहरूले दीर्घायु जीवन बिताएका तथ्यहरू सर्वविदितै छ ।

अब समयको पविर्तन संगै मानिसको मन पनि दिनानुदिन परिवर्तन हुँदै गैरहेको छ यस अवस्थामा आफ्ना पुर्खाले खाइ नखाइ बनाएर आफ्नो ठाउँको पहिचान दिलाउन कालिन्चोक जस्तो उच्च टाकुरामा होस् या बनारसी जस्तो गहिरो खोँचमा होस् पानी बिनाको जीवन व्यतित गर्न नपरोस् भनेर जुन योगदान दिएर आज दोलखाको संस्कृति सम्पदालाई उच्च स्थानमा राखेका थिए, ती कुरालाई मनन गरेर नयाँ बनाउन नसके पनि भएका र रहेका पुराना सम्पदालाई हामीले आफ्नै विरासत सम्झेर यसको संरक्षण गर्न अलिकति पनि पछि नपरिकन निरन्तरता दिनलाई एक जुट होऔं ।

मच्छिन्द्रनाथको रथ यात्रामा खर्पनमा दुइटा पित्तलको गाग्री राखी राइतीको पानी भक्तजनको प्यास मेटाउन उपयोग गरिएको चलनले हाम्रो धाराको अस्तित्व कायम राखिरहने विश्वास गरौँ । जय दोलखा जलधारा ! जय भीमसेन ! जय दोलखा !!

दोलखा– भीनपा, २,
नक्छेँ टोल,
हाल, मुम्बइ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!