Search

ग्रामीण विकास टुकी संघ, दोलखाले भव्यताका साथ ४५ औ टुकी दिवस मनायो

ग्रामीण विकास टुकी संघ, दोलखाले भव्यताका साथ ४५ औ टुकी दिवस मनायो

बाँपीझ्याला, दोलखा । ग्रामीण विकास टुकी संघ चरिकोट दोलखाले ४५ औं टुकी दिवश भव्यताका साथ मनाएको छ । संघको केन्द्रिय कार्यालय चरिकोट दोलखामा सम्पन्न उक्त दिवसमा संघमा आवद्ध टुकी, कर्मचारी र शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

यसै गरी टुकी संघ सिन्धुपाल्चोक थुम्पाखरले पनी आफ्नो संस्थाको स्थापनाको ३० औँ वार्षिक साधारण सभा सम्पन्न गर्नुका साथै ४५ औँ टुकी दिवस मनाएको खबर प्राप्त भएको छ ।

संघको अध्यक्ष मकरध्वज पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख आतिथी संस्थापक उपाध्यक्ष एव पुर्व अध्यक्ष श्री बेणु बहादुर कार्की, सुआहारा दोश्रो कार्यक्रमका वरिष्ठ प्राविधिक संयोजक श्री लब हरि बुढाथोकीको विशिष्ठ आतिथ्यतामा सम्पन्न भयो । सो कार्यक्रममा कार्यसमिति पदाधिकारीहरु, टुकी सदस्यहरु, संघका कार्यकारी निर्देशक श्री पुर्षार्थ श्रेष्ठ, कार्यक्रम संयोजक मुकुन्द दहाल एवं संघमा विभिन्न विषयगत जिम्मेवारीमा कार्यरत अधिकृतहरु र विभिन्न शिक्षालयबाट कार्यगत तालिममा आउनुभएका शिक्षार्थीको सहभागिता रहेको थियो ।

नेपालमा ग्रामीण विकासका विभिन्न नमुनाहरु प्रयोग भइरहेको सन्दर्भमा एउटा सफल नमुना वि.सं. २०३४ सालको कुसे औंसीको दिन भाद्र २८ मा प्रतिपादित ‘टुकी अवधारणा’ पनि एक हो । ‘टुकी’ भन्नाले नेपालका गाउँघरहरुमा प्रयोग हुने मट्टितेलबाट बालिने एउटा परम्परागत बत्ति हो । गाउँबस्तीका झुपडीहरु समेत उज्यालो बनाउन प्रयोग हुने यही ‘टुकी’ को नाममा तालिम प्राप्त किसानहरुको परिचयलाई जोडियो । यसरी ‘टुकी’ लाई गाउँघरमा उज्यालो दिने, विकासको बाटो पहिल्याउने र त्यसको अनुशरण गर्ने साधनकोरुपमा सोचियो । प्रत्येक टुकीलाई नयाँ सोचाई अनुरुपको उन्नतशिल कृषक केन्द्रको अगुवा बनाउने सोचाइ राखियो । यसै बेला देखि गाउँमा रहेका तालिम प्राप्त अगुवा र स्वयम् सेवी किसानहरुलाई गाउँघरमा उज्यालो फैलाउने ‘टुकी’ कोरुपमा चिनिन थालियो । यसरी विभिन्न समयका कालखण्डहरु पार गर्दै टुकी अवधारणा प्रतिपादन भएको दिनको सम्झाना गर्दै ग्रामीण विकास टुकी संघ, दोलखाले हरेक बर्ष भाद्र २८ गते टुकी दिवस मनाउदै आउने क्रममा यस वर्ष पनी २०७९ भाद्र २८ गते ४५ औं टुकी दिवस संघका आफ्नै कार्यालयमा टुकी प्रज्ज्वल सहित केक काटेर मनाएको छ ।

यस कार्यक्रममा दोलखा जिल्लाको विकासमा ग्रामीण विकास टुकी संघले वि.स. २०३४ सालदेखि हालसम्मका ग्रामीण समाजको अवस्था र हालको अवस्थामा संघको भूमिका विषयमा छलफल गरिएको थियो । तत्कालिन समयमा सडक बाटो नभएको अवस्था सिन्धुपाल्चोकको खाडीचौरबाट गाउँगाउँमा कृषि र पशुपालनका सामग्रीहरु ढुवानी गर्नुपर्ने हाल टोलटोलमा सडक बाटो पुगेको छ । जिल्लाको सबै खोलानालामा पुल, फड्के नभएको कारण लामो लठ्ठिको प्रयोग गरि खोला नाला तरेर टुकी सदस्यहरु र कृषि प्रचार प्रसार गरिएको थियो । कृषि तथा जिविकोपार्जन, शिक्षा, स्वास्थ्य र पोषण, खानेपानी र सरसफाई, बाल अधिकार, विपद जोखिम न्युनिकरण, जलबायु परिवर्तन र ब्यवस्थापन, महिला सशक्तिकरण आदिको क्षेत्रमा संघको भूमिकाको सन्र्दभमा समेत चर्चा गरिएको थियो । नेपालको विकासमा टुकी अभियानको विस्तारलाई पनि विकासको मूल धारमा समावेश गरिएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास नियोगहरुले समेत यस अवधारणालाई जोड दिएको पाइन्छ ।

यसै गरी वि.स.२०४२ सालमा तत्कालिन राजा विरेन्द्र शाहको दोलखा भ्रमणको समयमा टुकीहरुसँगको साक्षात्कार पश्चात यस अवधारणालाई नेपालको विकास प्रक्रियामा समावेश गर्न तत्कालिन सरकारलाई आदेश भएको थियो । यस टुकी अवधारणालाई विभिन्न विश्वविद्यालयको पाठ्यक्रममा पनि समावेश गरिएको छ ।

टुकी अवधारणाको लामो अभ्यासपछि अगुवा किसान अथवा टुकीहरुले आफ्नै संस्था चाहिने आवश्यकता महसुुस गरे । यसै क्रममा दोलखाका केही उत्साही टुकीहरुले जिल्लामा रहेका टुकी किसानहरुलाई समेटी वि.स.२०४८ सालमा ग्रामीण विकास टुकी संघको स्थापना गरेका थिए । यही संस्था दोलखामा टुकी किसानहरुको साझा मञ्चकोरुपमा विकास हुँदै आएको छ ।

संघको स्थापना अघि टुकीहरु आफ्ना गाउँ टोलमा कुनैनकुनै काममा सम्वद्व भए पनि आफ्नै संस्था बनेपछि आम टुकीहरु यही संस्थामा संलग्न रहेका छन् । अगुवा किसान अर्थात टुकीहरुको यही संस्था अहिले दोलखा जिल्लाको विकास यात्राको भरपर्दो साथीकोरुपमा स्वीकारिएको छ । यस संस्थाले जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरेर समुदायस्तरमा काम गर्दै आइरहेको छ । समुदायमा आधारित विकास प्रणालीलाई स्थापित गराउन संघले गर्दै आएका कार्यहरु महत्वपूर्ण रहेका छन् ।

यस संघले दोलखा जिल्लाका गाउँ र कुना काप्चामा रहेका आफ्ना ७ सय भन्दा बढी सदस्यहरुको सक्रियतामा काम गरिरहेको छ । यस संघले स्थानीय समूह मार्फत चेतना र विकासका कामलाई गाउँ टोल र बस्तीस्तरसम्म पु¥याएको छ । जनकेन्द्रित विकासको अवधारणालाई अवलम्वन गरेर यसले स्थापनाकाल देखि नै दोलखा जिल्लामा एकीकृत सामुदायिक विकासका क्रियाकलापहरु सञ्चालन गरिरहेको छ भने संस्थागत विकासका पाटोमा पनि अग्रसर रहेको छ । यस संघ समाज कल्याण परिषद् र गैरसरकारी संंस्था महासंघ नेपालमा समेत आवद्ध रहेको छ ।

उक्त कार्यक्रममा टुकी अवधारणाका प्रर्वतक एवं सम्मानार्थ सदस्य डा. कृष्ण कुमार पाँडे, सम्मानार्थ सदस्य श्री हरिहर सापकोटा, संस्थागत विकास सल्लाहाकार श्री दामोदर तिम्लसिना, संस्थापक अध्यक्ष देखि हालसम्मका अध्यक्ष एवं पदाधिकारीहरु, टुकी सदस्यहरु, सरकारी निकायहरु, विभिन्न समय समुदाय र संस्थागत विकासमा सहयोग गर्ने साझेदार राष्ट्रिय तथा अन्र्तराष्ट्रिय साझेदार निकायहरु, संघका विभिन्न तहमा कार्यरत सम्पूर्ण कर्मचारीहरु सबैको साथ र सहयोग अमूल्य रहे र आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा सहित स–धन्यबाद ४५ औ टुकी दिवस अध्यक्षबाट समापन गरिएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment