Search

कालिञ्चोकमा हराएको त्यो दिनको सस्मरणमा आजको दिन !

कालिञ्चोकमा हराएको त्यो दिनको सस्मरणमा आजको दिन !

बालकृष्ण श्रेष्ठ, दोलखा

कालिञ्चोकमा हराएको त्यो दिनको सस्मरणमा आजको यही गुन्ला जात्राकै त्यो दिन हो । त्यतिबेला म नौ कक्षामा पढ्दै थिएँ । हरेक वर्षमा झैं डापा खलक कालिन्चोक जाने कार्यक्रम अनुसार तल्लो टोल र माथिल्लो टोलबाट छुट्टाछुट्टै समूह (खलक) को तय भएपछि हाम्रै श्यामसुन्दर टोलको दाजु श्यामकृष्ण श्रेष्ठले मलाई पनि जाने हो कि भनेर सोध्नुभयो, मैले यकिनका साथ जाने नजाने निधो दिन सकिरहेको थिएन । एक त त्यतिबेला वर्खाको समय, अर्को कालिन्चोक जाने पैदलमार्ग त्यो पनि घना जङ्गल त्यसमाथि जुकालाग्ने भएकोले पनि यो बेला जाने साहस थिएन । मूल कुरा त त्यतिबेला आपूmसंग त्यो यात्राको लागि हुने जुत्ता नै थिएन ।

कालिन्चोक मन्दिर त्यो भन्दा पहिले सानै उमेरमा हजूरबा र उनै श्यामकृष्ण दाइसंग गैसकेको थिएँ । तर त्यो बेला चैत बैशाख भएकोले खासै कठिनाइ भएन, एक त बाटो भरि हजूरबाले रामायणको सूर्पंखा, शबरी र रामको कहानी सुनाउनु भएर अर्को तर्फ मेरो लागि लागि नयाँ बाटो, त्यसैले बाटो काटेको पत्तै भएन ।

अहिलेको अवस्थामा जस्तो ठाउँठाउँमा चौतारो, चिया झुप्रा त्यतिबेला पाउने कुरै भएन, दोलखाबाट हिँडेर कालिन्चोक पुग्न नरमाइलो त हुने कुरा भएन, किनकि सबै आफन्त चिनजान भएकाहरू नै थिए । श्याम दाइले मलाई निडर भएर हिंड्न र कुनै पीर चिन्ता नलिन उक्साउँदै फकाउन थाल्नु भयो । मलाई पनि त्यो डापा खलकमा जान रहर नभएको त होइन, वर्षेनी यही बेला सो डापा खलक गएर आउँदा पाखलतीमा पुगेर स्वागत गर्न जाँदा जुन उत्साह र उमंग प्राप्त हुन्थ्यो । त्यो एक अविस्मरणीय नै हुन्थ्यो । त्यसैले पनि जाउँ जाउँ लाग्यो र हजुरबासंग अनुमति लिएर जाने निर्णयमा पुगे अनी म पनी गए ।

हजुरबालाई श्याम दाइले पहिले नै भनि सक्नुभएको रहेछ । मैले भन्न पनि भ्याएको थिइन, हजुरबाले एकजोर नयाँ पाण्डा छापको कपडाको जुत्ता लिएर आएर मलाई दिंदै भन्नुभयो, “ल ल यो जुत्ता लगाएर जाउ, कालिञ्चोक भगवती भनेको केरे साक्षात देवी हुन्, उनको केरे दर्शनले विद्या बुद्धि र ज्ञान प्राप्त हुन्छ, केरे बरु भरे ओढारमा बस्ने बेलामा राम्रोसंग राख, केरे फेरि हराउला..” भनेर हातमा थमाइदिनु भएपछि मेरो भूइँमा खुट्टा नै भएन । अनि म तैयार भएँ ।

म जान तैयार भएको देखेर श्याम दाई पनि निकै उत्साहित हुनुभयो । अनि को को जाने त भनेर सोद्धा थाहा भयो कि पिङ्गलबाट कृष्ण कुमार दाइ र प्रल्हाद मामा, गुर्कोटबाट श्याम प्रधान (डल्ले) मामा, कोर्छेँबाट उपेन्द्र मामा, सेङ् टोलबाट दौलत दाइ, नक्छेंबाट पशुपति प्रधान दाइ, अनि श्याम दाइ र म भएछौं । साथमा शहनाइ (म्वारी फुक्ने) सियौ कुस्ले ।

जानेबेलामा हामी सबै नक्छें टोलको स्तुपामा भेला भयौँ । साँढे दश बजेतिर हाम्रो यात्रा डापा बाजा बजाउँदै शुरु भयो । तल्लो टोलबाट राइती, सिंहबन, तिखतल, चरिकोट बजारमा पुगेर हाम्रो पाइला नरोकिने उकालो तर्फ लाग्न थाल्यो । जहाँ जहाँ देउराली, चौतारी, भञ्ज्याङ भेटिन्थ्यो त्यहाँ त्यहाँ कुल देउता, इष्ट देउतालाई स्मरण गर्दै सोगुन बाजा र द्यउलाइ बाजा घन्काएर सुनसान वातावरणलाई संगीतमय बनाउदै देउरालीबाट गैह्रीतिर लागेका थियौँ, हिँडाइमा खासै तकलिफ थिएन, तेर्सो तेर्साे भिरालो बाटो छिचोल्दै भजन डिलो, धर्मढोका पार गरेर गणेश ट्वापर पुगेपछि केही बेर विश्राम गरियो, मलाई आमाले जानु पर्दैन गाह्रो हुन्छ भन्दाभन्दै पनि जाने अड्डी लिएपछि बाटोमा खानको लागि भनेर भटमास र आलु साँधेर चिउरा पठाउनु भएको थियो भने श्याम दाइले भने सुकुटी मोलेर ल्याउनु भएको रहेछ त्यो खायौँ । कतै बाजा बजाउँदै कतै सुई सुई र साइसाइ सिट्ठी बजाएर जङ्गल नै रोमाञ्चित बनाउथे यात्रामा सहभागी दाइ मामाहरू ।

हाम्रो त्यो डापा खलक यात्रामा तीनजना दाइ र मामाहरूभने अति नै रमाइलो गर्ने परेको थियो । एकजना गुर्कोटको श्याम मामा होचो कदको उहाँलाई चाहिँ धेरैजसोले जिस्काइरहन्थे । उहाँ मामा जसले जे भने पनि ठिङ्ग उभिएर मूर्ति जस्तै खडा हुने बानी थियो । त्यसैले पनि प्रायः सबैले ठट्टा गरिरहन्थे । उहाँको त्यो विशेषता अझै पनि हराएको छैन । तर हिले उहाँ उमेरको कारणले पहिले जस्तो देखिनु हुन्न ।

पिङ्गल टोलको प्रल्हाद मामा र हाम्रै टोल छिमेकी दौलत मामाले चाहिँ उहाँ श्याम मामालाई खेदो खन्नुहुन्थ्यो तैपनि उहाँ कहिले पनि रिसाउनु हुन्नथ्यो । कालिन्चोक जाँदाको रमाइलो पक्ष भनेको त्यहाँको सुरिलो धुपी सल्लाको रुखहरू, गोब्रे सल्लाका बोटहरू, विभिन्न चराचुरुंगीका अनगिन्ति आवाजले मन नै आनन्दित हुने, अनि ठाउँ ठाउँमा देखिने याक र अनि चौंरीका बथानहरूले हिमाली परिवेशको पहिचान दिइरहेको हुन्थ्यो । लेकाली काग, धनचरी, ढुकुर, कोइली, कण्ठे सुगा, तित्रा, डिकुरे भ्याकुर, काठ फोरुवा कत्ले चरा, फिस्टे आदि चराको आआफ्नै विशेषता बोकेका आवाजले मन रोमाञ्चित हुने गथ्र्यो । त्यतिबेला आजकै जस्तो मोबाइल क्यामेरा हातहातमा भएको भए कति तस्बिर संकलन हुन्थ्यो होला ।


संगै यात्रामा लागेका साथीहरूको संसार बाजा बजाउन र हाँसो ठट्टामा बाटो नापिरहेपनि मेरो मन भने तिनै प्रकृति भित्रका विषम विविध उपहारहरूमा तरंगित भैरहेको थियो । गणेश ट्वापर (थुम्का) पुग्ने बेलामा त मलाई सो यात्रामा सहभागी गर्नुहुने श्याम दाईले मज्जैले तीर हान्नु भयो,.. “यो बालकृष्णेलाई बाजे चाहिँले नइ..याँ जुत्ता किनेर दिएको… ओहो बोल्दा पनि जुत्तैमा हिलो लाग्ला जस्ता.. फिटिक्कै बोल्दैन त बा…” त्यसो भन्दा मलाई कता कता लाज लागेर आए जस्तो भयो, तैपनि बोलिहालें.. “दाइले जे सोच्नुभयो ठिकै सोच्नुभयो.. यो उकालो बाटोमा मुख चलाउँदा खुट्टा लर्बरिउला कि भनेर नबोलेको नि,.. फेरि यता कुरा गरेर हिँड्दा उता यो बन जङ्गलमा के के पाइँदो रहेछ भनेर नदेखिएला कि भनेर नबोलेको नि दाइ..” मेरो कुरालाई दौलत मामाले पनि समर्थन जनाउनु भयो… “यस्ता कुरा त अघिपछि जहिले पनि जहाँ गर्दा नि हुन्छ नि, कहाँ के पाइन्छ भनेर हत्तपत्त कहाँ पाइन्छ र.., हैन त भान्जा..?” यसरी कुराकानी गर्दागर्दै हामी कुरीको भिरालो मैदान पार गरेर तीनतले पोक (ओढार) मा पुग्यौँ ।

तीनतले ओढार प्राकृतिक घर जस्तै भएको एउटा विशेष खालको स्थान हो । जहाँ तीन तहमा मानिस बस्न हुने गरि विशाल पत्थरबाट सृजित तहतह छुट्टेर तला तला बनेको थियो, त्यसैमा मानिसहरूले सबैभन्दा तल जमीनको भागमा दुइवटा ढोका बनाएर दुइवटा कोटा बनाएको थियो जुन अहिले छ कि छैन थाहा भएन । त्यहीँ बस्ने प्रबन्ध मिलाउँदै गर्दा माथिल्लो टोलबाट आएका डापा खलक पनि आइपुगे ।

भोलिपल्ट बिहानै सबैजना माथि कालिन्चोक माताको दर्शन गर्नको लागि तम्तैयार भए । म पनि आफ्नो पोको पन्तुरो बोकेर पछि पछि लाग्न सुर कसें । त्यहाँबाट झण्डै ८५ डिग्रीको उकालो लाग्नु थियो । दुवै डापा खलकका साथीहरू बाजा बजाउँदै उकालो चढ्दै थिए । श्याम दाई र म पनि उकालो चढ्ने कार्यमा लाग्दै थियौँ । त्यतिबेला मौसम लगभग सफा नै थियो हुस्सु कुहिरो त्यत्ति थिएन । अलिक माथि लागेपछि मलाई एक्कासी पेट काटेर आयो, नियन्त्रण नै गर्न कठिन भएपछि म शौचालय गर्न अलि पर पूर्वतिरको खोल्सातिर लागेको थिएँ ।

एकातिर जुकाको डर थियो अर्कोतिर हिउँ भालुको किनकि हजुरबाले उहिले उहिले त्यै क्षेत्रमा गोठाला जाने क्रममा भालुसंग लडेको घटना सुनाउनु भएको थियो । त्यही डरमा हतार हतार शौच गरेर निस्कन लागेको थिएँ । अचम्मले हुस्सु ढ्याम्म लागेर ७ फिट परको बोट बिरुवा पनि देख्न मुश्किल भयो । फेरि हतार हतार गरेर पहिलेकै बाटो भनेर कुद्न थालेको म त तेर्सो ओह्रालो झरेछु पछि त उकालो जाने बाटो नै गायब । एकछिन त अक्क न बक्क भएर कता जाउँ कता जाउँ भयो । त्यतिबेला चराचुरुंगी, मान्छे केहीको पनि आवाज सुन्न पाइएन, अलि पर पुगेपछि अलिकति तेर्सो उकालो बाटो देखियो त्यतै लागें तर जति अगाडि गयो उति तेर्सो बाटो आएपछि मन झनै अत्तालिन थाल्यो । पछि कानमा बाजाको आवाज आयो जुन आवाज तीनतिरबाट सुनिन थाल्यो त्यो पनि कोसौं टाढा ।

अब बाजाको प्रतिध्वनिलाई पछ्याउँदै बुट्यानहरू समाउँदै उकालो चढ्दै गएँ, त्यतिबेला मलाई जुकाको पनि डर भएन, जन्तुको पनि खालि बाटो कसरी पत्ता लगाउने भन्नेतिर लाग्दा त्यतिबेलाको ऋणात्मक तापक्रम मेरोलागि धनात्मक बनिदियो पसिना निस्कन थाल्यो । बोलाउनलाई घाँटीबाट स्वर निस्के पो त, मनमनै उही कालिन्चोक माईलाई सम्झेर.. “लौ माता ! तिम्रै शरणमा आएको हो, भीरमा पठाउ कि जङ्गलमा पठाउ तिम्रै हातमा छ..” भनेर मनमनै गुनें.. ।

अत्तालिएर उकालिंदै गएको पाखा चट्टानमा समाउँदै जाँदा त पूर्वपट्टिको पापी डाँडाको घुम्ती नजिकै पुगेछु,.. त्यतिबेला पो माथिल्लो घुम्तीबाट श्याम दाईले..“पाइखाना जान पनि कतिबेर लाएको नि…” भन्दा त म अवाक् भएँ के जवाफ दिउँ भनेर.. एकातिर त रिस पनि उठेको थियो । त्यस्तो ठाउँमा नपर्खिकन आए भनेर,.. फेरि बोली हाल्ने हुर्मत पनि थिएन । श्याम दाई अझै एक्लै फत्फताउँदै थियो,..“आयो कि भनेर हेर्छु छैन आयो कि भनेर हेर्छु छैन..” भनेर । त्यतिबेला नचाहँदा नचाहँदै पनि मेरो गला अवरुद्ध भएर भक्कानिएछु,.. “ आपूm… बाटो.. भुलेर..कस्तो..” भनेर । मेरो त्यो अवस्था देखेर दया पलाएछ क्यारे श्याम दाइ तलै आएर मलाई सम्झाएर संगसंगै लानु भो ।
जसोतसो कालिन्चोकी माताको दर्शन गरियो । त्यतिबेला ती आपूm हराएका पलहरू कालिन्चोक टाकुराबाट देखिने बादलका पर्दाहरूमै बिलाएर गएको महशुस गरें ।

त्यहाँबाट फर्केपछि जब दोलखाको आँगनमा द्यउदारा बोकेर पुगियो मेरालागि आजको दिन अविस्मरणीय बनेको छ । सायद श्यामकृष्ण दाजुलाई यी अतीतहरू याद छ कि छैन मेरो लागि आज कालिन्चोकमा डापा खलक जाने भनेपछि त्यही ठाडो उकालोमा पौँठेजोडी खेलेको दिनले झस्काइरहन्छ । जय द्वाल्खा, जय कालिन्चोक माई ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment