Search

सय वर्ष पुरानो ढुङ्गे घर संरक्षणको पर्खाइमा

सय वर्ष पुरानो ढुङ्गे घर संरक्षणको पर्खाइमा

२२ साउन, बाँपीझ्यला, काठमाण्डौं, गलेश्वर । सिर्मु र सालका काठमा कलात्मक रुपले कुँदिएका सुन्दर बुट्टा । चिल्ला र बाक्ला छाउने ढुङ्गाले छाउको धुरी र पालीमुनि ९० डिग्रीको कोणमा हालिएका टुँडाल । हेर्दै लोभ्याउने आकर्षक झ्यालढोका । मल्ल र राणाकालीन शैलीको विरासत देखाउने सय वर्षभन्दा पुराना सुन्दर तीनतले ढुङ्गेघर ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब नौ किलोमिटर दक्षिणमा पर्ने गौश्वारा गाउँ यिनै घरहरुका कारण अहिले पनि आकर्षक र मनमोहक देखिन्छ । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटको शिरानमा रहेको गौश्वार गाउँमा मल्लकालीन वास्तुकलाका एक सय वर्षभन्दा बढी पुराना घरहरू अहिले इतिहासको साक्षी बनेर रहेका छन् ।

२०४५ सालसम्म मल्ल वंशीय ठकुरीहरुको बाहुल्य बसोबास रहेको यस गाउँ विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि यहाँका ठकुरीहरु बसाइँसराइ गर्ने र सहर केन्द्रित हुने प्रवृत्तिका कारण अहिले ती घर जीर्ण अवस्थामा रहेका छन् ।

घरहरू जीर्ण अवस्थामा पुगेका भए पनि मर्मतसम्हार र सुरक्षाको विषयमा कसैले चासो नदेखाएको स्थानीयले बताएका छन् । ती घरहरूको पुरानै शैलीमा मर्मत गरी प्रचारप्रसार गर्ने हो भने बागलुङको पञ्चकोट, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथ भ्रमणमा आउने धेरै पर्यटकहरु यहाँ पुग्न सक्ने सम्भावना देखिएको बेनी–२ का वडासदस्य चन्द्रकान्त रिजालले बताए ।

उनका अनुसार सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका ती घरहरुमा आँखीझ्याल, फलाँटे ढोका रहेका छन् भने गारोमा लगाइएका ढुङ्गा पनि आकर्षक तरिकाले कुँदिएका छन् ।

गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्वबम मल्लको स्वामित्वमा रहेका सय वर्षभन्दा बढी पुराना घरहरु गौश्वारा गाउँका अनमोल सम्पदा भएकाले पनि तिनको सुरक्षा र मर्मतसम्हारमा घरधनी र समुदाय दुवैले चासो दिनुपर्ने स्थानीय बुद्धिजीवी रत्नबम मल्लले जानकारी दिए ।

मल्लका अनुसार यी घर गौश्वाराका पहिचान भएका र यिनलाई व्यवस्थित गर्न सक्ने हो भने पर्यटकलाई आकर्षित गर्न सकिने बलियो सम्भावना रहेको छ । यी घरहरुको इतिहास मल्ल वंशीय राजखलक र राणा खलकसँग जोडिएको छ । तत्कालीन मल्ल ठकुरीहरु जुम्लाको सिञ्जा उपत्यकाबाट बसाइँ सरी यहाँ आएको मानिन्छ । यहाँ आएपछि काठमाडौंमा रहेका मल्ल र राणाहरुसँग यहाँका ठकुरीहरुको वैवाहिक सम्बन्ध गाँसिएको थियो ।

त्यसै क्रममा एक ठाउँको कला र संस्कृति पनि स्थानान्तरण हुँदै यताको उता र उताको यता भएकाले यहाँ तत्कालीन समयमा बन्ने घरहरुभन्दा मल्ल वंशीय ठकुरीहरुका घरहरु फरक शैलीमा निर्माण भएका मल्लले बताए ।

त्यसैगरी चार पुस्तादेखि पुरानो घरमा नै बस्दै आएका परमेश्वरबम मल्लले यी घरहरुसँग आफ्नो पुर्खाको पुरुषार्थ र पहिचानसँग जोडिएकाले अझसम्म पनि सुरक्षित राखिएको प्रतिक्रिया दिए ।

‘कतिपय भाइबन्धुहरु काठमाडौँ, चितवन, पोखरा लगायतका सहरहरुमा गइसके तर म भने पुर्खाको विरासतलाई संरक्षण गरेर बसेको छु’ उनले भने, ‘घरका दारपात, झ्यालढोका, ढुङ्गा आदिमा हाम्रा पुर्खाको पसिनाको गन्ध र तत्कालीन काष्ठ कलाको आनन्द मिसिएको छ ।’

ढुङ्गाले छाएका, कौसीसहितका तीनतले आकर्षक घर अहिले जीर्ण अवस्थामा रहेका छन् । गौश्वारा गाउँमा अहिलेसम्म पनि रहेका मल्लकालीन वास्तुकलाका पाँच घरमध्ये दुई घरमा मात्रै बसोबास रहेको छ भने तीन घर जीर्ण अवस्थामा छन् ।

ऐतिहासिक महत्व र राणाकालीन विरासतले युक्त घरहरुको मर्मत र संरक्षण आवश्यक देखिएको छ । यस्ता पुरानो कला र सामग्रीहरुले निर्माण गरिएका घरहरु जिल्लामा अत्यन्त थोरै रहेका र यी घरहरुले भावी पुस्तालाई आफ्ना पूर्वजहरुको वास्तविकता र तत्कालीन समयको कला, संस्कृति र आवासीय पद्धतिलाई पनि बुझाउन सहयोग पुग्ने कला संस्कृतिका अभियन्ता प्रकाश श्रेष्ठले बताए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment