Search

एउटै वनमा ५०० मयूर, रोल्पामा मयूर संरक्षण जुटे महिला समूह

एउटै वनमा ५०० मयूर, रोल्पामा मयूर संरक्षण जुटे महिला समूह

बाँपीझ्याला, काठमाण्डौं । रोल्पाको एक सामुदायिक वनमा मयूर संरक्षणका लागि महिलाहरू जुटेका छन् । जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नं. २ महेन्द्रीस्थित मयूर महिला सामुदायिक वन उपभोक्ता समूहका महिलाहरुले मयूर संरक्षणमा लागेका नु् ।

सामुदायिक वनलाई मयूर पर्यटनको रुपमा विकास गर्न मयूर संरक्षणको थालनी गरेको वन समूहले जनाएको छ । पाँच वर्षे आवधिक योजना तयार गरी सो सामुदायिक वनका महिलाहरूले संरक्षणको काम अघि बढाएका हुन ।

मयुरको वासस्थानको लागि त्यहाँको भू-बनोट, हावापानी र वनस्पति उत्तम रहेको बताइन्छ । पानीको सहज उपलब्धता, पारिलो क्षेत्र, मानव बस्ती र खेतबारी समेत प्रसस्त रहेकाले सो सामुदायिक वन मयुरको वासस्थानका लागि उपयुक्त मानिन्छ ।

किरा फट्यांग्रा, फल, बालीनाली र घाँससमेत हुनाले यो क्षेत्र मयुरका लागि उपयुक्त भएको डिभिजन वन कार्यालय रोल्पाका डिभिजनल वन अधिकृत डा. मोहन पौडेलले बताए । ‘पहाडका खोंचहरु, पानीका स्रोतहरु र खोल्सीहरूमा छेपारा, सर्पलगायत अन्य किरा फट्याङग्राहरु प्रसस्तै पाइने हुनाले यो ठाउँ मयूरको रोजाइमा परेको हुनसक्छ,’ डा. पौडेलले भने ।

उक्त सामुदायिक वन क्षेत्रमा ४०० देखि ५०० को संख्यामा मयूर रहेको स्थानीयको अनुमान छ । सामुदायिक वन क्षेत्रमा पाइने भाले मयूरको तौल ५ के.जी. सम्म हुने स्थानीयको भनाइ छ ।

सानो क्षेत्रमा यति धेरै मयूर पाइनुमा यो क्षेत्र मयूरका लागि सुरक्षित रहेको मान्न सकिने वन्यजन्तु संरक्षणका जानकारहरूको भनाइ छ । ‘मयुरको सिकार गर्न नहुने धार्मिक विश्वासका कारण पनि यसको संरक्षणमा सहजता भएको हो,’ मयुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तिला विकले भनिन ।

उनका अनुसार वन क्षेत्रमा अन्य वन्य जन्तुको सिकार गर्न आउने गरेको सुनिए पनि मयूर मारेको वा यसका अण्डाहरु चोरेको घटनाहरु सुनिएको छैन ।

मयूरले किसानलाई भने हैरानी हुने गरेको छ । अन्नबाली खाइदिने भएकोले किसानले हरेक वर्ष क्षति व्यहोर्नु पर्छ । आहाराका लागि खेत, बारी र घरगोठमा बिहान बेलुका मयूर आउने गर्दछन् ।

तोरी, झिलङ्गे, गहुँ, सागपात, खुर्सानी, धान, चना, केराउलगायतका बाली मयूरले मन पराउने हुनाले त्यस्ता बालीको धेरै क्षति हुने गरेको अध्यक्ष विकको भनाइ छ । ‘मयूर बढ्दै जाँदा मान्छेले लगाएको अन्नबाली खाइदिंदा मान्छे र मयूरबीच विस्तारै द्वन्द्व पनि बढ्न थालेको भान हुने गर्छ,’ अध्यक्ष विकले भनिन् ।

मयूर र मान्छेको द्वन्द्व व्यवस्थापनका लागि यसै वर्षदेखि केही कामको सुरुवात पनि गरिएको छ । बालीनालीको नोक्सानीवापत राहत लगायत कृषिबाली विविधीकरणमा दीर्घकालीन सहयोगका लागि सामुदायिक वन उपभोक्ता समूहको नाममा अक्षय कोष समेत स्थापना गरिएको छ ।

अक्षय कोषका लागि अघिल्लो वर्ष डिभिजन वन कार्यालय रोल्पाले तीन लाख बजेटसमेत उपलव्ध गराएको थियो । कोषबाट आउने वाषिर्क ब्याजले उन्नत बिऊ वितरण, मयूरले मन नपराउने बालीको विकास, मयूरले मन पराउने सागपात र गेडागुडी वन क्षेत्रमा रहेका खालीठाउँहरुमा लगाउने र क्षतिपूर्तिको अन्य उपायहरु गर्ने लगायतका कार्यहरु गर्न सहयोग पुग्ने सहायक वन अधिकृत शिवनन्दन साहले बताए ।

त्यस्तै डिभिजन वन कार्यालय रोल्पाले स्कूलहरुमा संरक्षण शिक्षा कार्यक्रम र मयूर अवलोकन टावर निर्माणमा सहयोग गरेको छ । ‘मयूर पर्यटनको थप विकास र प्रवर्द्धनका लागि प्रचार-प्रसारका कार्यहरु पनि गर्दै आएको छ,’ सहायक वन अधिकृत साहले भने ।

विगत केही वर्षदेखि चरा अबलोकन गर्न रुचाउने व्यक्तिहरु र अनुसन्धानकर्ताहरु मयूर सामुदायिक वनको भ्रमणमा आउन थालेको स्थानीयहरु बताउँछन् । रोल्पाको लिवाङ, सुलिचौर, खुंग्री र प्यूठानको भिंग्रीलगायतका ठाँउहरुबाट विद्यालयको शैक्षिक भ्रमणमा विद्यार्थी, शिक्षक तथा अन्य क्षेत्रवाट युवा युवतीहरु आउने गरेको मयुर सामुदायिक वन उपभोक्ता समूहको भनाइ छ ।

आकर्षक र रङ्गीचङ्गी मयूरको प्वाख धार्मिक उपचार विधिमा प्रयोग गरिन्छ । घर सजावटका साथै घर तथा मन्दिरलाई शुद्ध र चोखो राख्न पनि यसको प्वाँख प्रयोग गर्ने धार्मिक विश्वास तथा प्रचलन रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!