Search

नेपालमा बी-बोइङ नृत्य लोकप्रिय

नेपालमा बी-बोइङ नृत्य लोकप्रिय

१९ साउन, बाँपीझ्याला, काठमाडौं । नेपालमा बी-बोइङ नृत्य लोकप्रिय छ । काला जातिमाथि भएको दमनको विरोध गर्न सुरु गरेको बी-बोइङ नृत्य पछिल्लो समय नेपालमा मेला-महोत्सव र अवार्ड कार्यक्रममा अनिवार्य आइटम जस्तै बनेको छ ।

अब भने यो खेलकुदको सबभन्दा ठूलो प्रतियोगिता ओलम्पिकमा सहभागी हुने बाटो पनि बनेको छ ।

सन् २०१८ मा अर्जेन्टिनामा भएको युथ ओलम्पिकमा पहिलोपल्ट समावेश गरिएको बी-बोइङ (ब्रेकिङ डान्स)लाई सन् २०२४ को पेरिस ग्रिस्मकालीन ओलम्पिकदेखि आधिकारिक प्रतिस्पर्धा गराउने तय भइसकेको छ ।

र, नेपालबाट एकजना खेलाडीले ओलम्पिक छनोटका लागि छात्रवृत्ति पनि पाएका छन् ।

खेलकुदमा अन्तर्राष्ट्रिय सहभागिता नियामक निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटीको स्वीकृति र मान्यताबिना असम्भव छ । तर डान्स स्पोर्टसको हकमा उल्टो बाटो तय भयो ।

सन् २०१४ मा अशोक पुनले दक्षिण कोरियाको आर १६ को सदस्यता लिएर अन्तर्राष्ट्रिय ब्याटलमा नेपालको सहभागिता सुरु गराएका थिए । ‘नेपालमा आर १६ खोलेपछि ताइवानलगायतका देशमा पुगेर प्रतिस्पर्धा पनि गर्‍यौं’ अशोक भन्छन्, ‘त्यही क्रममा चीनमा पनि पुग्यौं ।’

नेपालबाट सन्जय गुरुङ, श्याम महर्जन र कृतज्ञ रानाले सहभागिता जनाएका थिए । २०१७ मा चीनमा भएको यो प्रतियोगिता युथ ओलम्पिकको रोडम्याप हो भनेर उनीहरू थाहा थिएन । विश्व डान्स स्पोर्टस फेडेरेसनले सन् २०१८ को युथ ओलम्पिकको छनोट प्रतियोगिताका रुपमा त्यसलाई मान्यता दियो ।

श्याम शीर्ष तीनभित्र छानिए र जापानमा हुने छनोट प्रतियोगिताको अन्तिम चरणमा प्रवेश पाउने भए । विश्व डान्स स्पोर्टस फेडेरेसन र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई श्यामको सहभागिता आधिकारिक बनाउन पहल गर्नुपर्ने बाध्यता आयो । त्यसैले उनीहरुले नेपाल ओलम्पिक कमिटीलाई चिठ्ठी पठाए ।

‘विश्व डान्स स्पोर्टस फेडेरेसनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमार्फत चिठ्ठी पठाएर नेपालबाट एकजना खेलाडी जापानमा हुने अन्तिम छनोटका लागि छानिएको जानकारी दिएपछि मात्र हामीलाई नेपालमा पनि यो खेलका खेलाडी रहेछन् भन्ने थाहा भयो’ नेपाल ओलम्पिक कमिटीका कार्यालय सचिव सुजनलाल श्रेष्ठ भन्छन्, ‘त्यसपछि हामीले एक खेलाडी र एक प्रशिक्षकलाई ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत सहयोग गरेर जापान पठाएका थियौं ।’

अन्तिम चरणको छनोट खेल्न श्याम र प्रशिक्षकका रुपमा अरविन्द थापामगर जापान गएका थिए । नेपालमा आधिकारिक संगठित संरचना र विश्व फेडेरेसनबाट मान्यता नपाई डान्स स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका श्याम पराजित भए । तर बी-बोइङ खेलका रुपमा फस्टायो ।

२०७५ जेठमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नेपाल ब्रेकिङ एण्ड डान्स स्पोर्टस संघ दर्ता भयो । ‘ओलम्पिक कमिटीबाटै मान्यता पाएपछि संघ दर्ता गर्नुपर्ने दबाब भयो । अमेरिकी संस्थाको सम्बन्धन ल्याएर हामीले २०७५ जेठमा राखेसंघ दर्ता गर्‍यौं,’ संघका कार्यबाहक अध्यक्ष केशव श्रेष्ठले अनलाइनखबरसँग भने ।

अशोकका अनुसार संघ दर्ता गर्ने क्रममा अमेरिकी संस्था चाइल्ड अफ दिस कल्चरबाट सम्बन्धन ल्याइएको हो । ‘यो संस्थाले अमेरिकामा आयोजना हुने बी-बोइङ अन्तर्राष्ट्रिय प्रतियोगिताको नियमनका साथै विकास र प्रचारका लागि काम गर्छ । सोही संस्थाको सम्बन्धन ल्याएर राखेपमा संघ दर्ता गरिएको हो,’ अशोक भन्छन् ।

व्यावसायिक खेल बनाउने प्रयास

संघले अहिले खेलाडी वर्गीकरणदेखि प्रशिक्षक र निर्णायक उत्पादनलाई प्राथमिकता दिने बताएको छ । गत वर्ष सिनियर खेलाडीहरू मध्येबाटै १० जनालाई राष्ट्रिय प्रशिक्षक प्रशिक्षण आयोजना भएको थियो । संघले तीन महिला र १७ जना पुरुष गरी २० खेलाडीलाई राष्ट्रिय खेलाडीको मान्यता दिएको छ ।

असारमा आयोजना भएको दोस्रो राष्ट्रिय च्याम्पियनसिपमा सहभागी १०० खेलाडीको प्रदर्शनका आधारमा राष्ट्रिय टिम छनोट गरिएको हो । तीमध्येका दीपक लामाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट ओलम्पिक छात्रवृत्ति पाएका हुन् ।

‘अहिले युवा र सिनियर गरी ५७५ जना खेलाडी छन् । यो संख्या भनेको खेलकुदलाई करिअर बनाउन चाहने बी-ब्वाइ र बी-गर्ल्सहरू हुन्’ संंघका कार्यवाहक अध्यक्ष श्रेष्ठ भन्छन्, ‘अहिलेसम्म चन्दा र सहयोगका भरमा सञ्चालन भइरहेको ब्रेकिङ डान्सलाई व्यावसायिक बनाउन खेलाडीहरुको योगदान अपरिहार्य हुनेछ ।’

खेलाडी र प्रशिक्षक उत्पादनसँगै संघको संरचना बनाउने प्रयास पनि भइरहेको छ । ईश्वर लामाको नेतृत्वमा तदर्थ समितिका रुपमा गठन भएको संघ अहिले निर्वाचन गर्ने तयारीमा लागेको छ । ‘नयाँ खेलकुद ऐन र प्रदेश खेलकुद ऐनसमेत अनुकुल हुने गरी जिल्ला र प्रदेश संरचना बनाउनतिर लागेका छौं’ कार्यवाहक अध्यक्ष श्रेष्ठले भने । यद्यपि खेलाडीहरू सहरमा मात्र केन्द्रित भएकाले देशभर संरचना बनाउन कठिन भइरहेको श्रेष्ठ बताउँछन् ।

संघले केन्द्रीय निर्वाचन गरेपछि विश्व डान्सस्पोर्टस फेडेरेसनमा आवद्धताका लागि आवेदन दिनेछ । ‘राखेपमा दर्ता, नियमित राष्ट्रिय कार्यक्रम, वार्षिक अडिट, ओलम्पिकको मान्यतालगायतका मापदण्ड पूरा गरिसकेका छौं’ श्रेष्ठ भन्छन्, ‘संघको निर्वाचन भएलगत्तै अन्तर्राष्ट्रिय आवद्धताको प्रक्रिया सुरु हुन्छ ।’

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment