Search

प्राचिन शहर दोलखामा नचाईने लाखे एक, प्रस्तुती चार (भिडियो सहीत)

प्राचिन शहर दोलखामा नचाईने लाखे एक, प्रस्तुती चार (भिडियो सहीत)
प्रा. डा. श्याम जोशी

दोलखामा श्रावन त्रयोदशीमा घण्टाकर्ण पर्ब मनाय पछी वर्ष भरि हुने जात्रामात्रा र चाडपर्ब आरम्भ हुन्छ । ति मध्ये सबभन्दा पहिला आरम्भ हुने एउटा जात्रा हो लाखे नृत्य जुन चतुर्दसी देखि नचाउँन थाल्ने चलन रहेको छ । लाखे नाच उपत्यका लगायत देश भरिनै दिक्तेल, ओखलढुंगा, बन्दीपुर, कुन्छा, भोजपुर जस्ता नेवारी बस्तिहरुमा देखाइने एक महत्वपूर्ण नृत्य हो । लम्जुंगको कुन्छामा २०१७ साल तिर बन्दीपुरे साहु बैकुण्ठ लाल चुकेले देखाउने गथ्यौ । यी केहि स्थानहरुको लाखे नृत्य त बेला बेलामा काठमाडौँमा पनि देखाउने गरेका छन् । दोलखाको लाखे नृत्य त २०३५/०३६ साल तिर नै काठमाडौँमा देखाउन थालिएको हो । काठमाडौँमा बसोबास गरिरहेका दोलखालीलाई मनोरंजन गराउनुका साथै द्वाल्खा गुठिलाइ आर्थिक सहयोग जुटाउने उदेश्यले काठमाडौँमा लाखे नृत्य देखाईएको थियो । केहि वर्ष अघि पनि उपत्यकाका बिभिन्न पार्टी प्यालेशमा देखाइएको थियो । अहिले त प्रत्येक बर्ष जसो लाखे नृत्यको प्रतिस्पर्धा समेत आयोजना हुने गरेको छ जसमा दोलखाको लाखे नृत्य प्रथम भइसकेको छ ।

लाखेको पहिरनले नै लाखे एक दानब हो भन्ने इंगित गर्छ । काठमाडौँमा इन्द्रजात्रको बेला हनुमान ढोका दरबार अगाढी मजिपा लाखे नृत्य देखाउने गरिन्छ । लाखेलाइ बिभिन्न टोलको चोक र दोबाटोमा घुमाएर परम्परागत संगीतको धुनमा नचाउने गरिन्छ । स्थानीयहरुले देवता मानेर खाना चढाएर पुजा गर्छन ।

नेवारीमा “झ्यालिचा” भनिने चकचके दानबको रुपमा एकजना सानु केटाले लाखेलाई निरन्तर जिस्काउने गर्छ र लाखेले उसलाई धपाउने गर्छ । उ भने भागेर दर्शकहरुको भीडमा बेपत्ता हुन्छ जुन क्रम दोहरीरहन्छ ।

स्त्री लाखेलाइ लासिन भनिन्छ तर स्त्री लाखे भनेर बेग्लै नचाउने चलन भने छैन । ललितपुरमा भने “मिप्वा लाखे” (आगो बाल्ने ) देखाउने गर्छन । काठमाडौँमा मजिपा लाखे नृत्य परम्परागत रुपमा रंजितकार नेवारहरुले आयोजना गर्ने गर्छन तर दोलखामा भने जोसुकै नेवार लाखे हुन्सक्छन। लाखे नृत्य सिकाइने गरिंदैन, शोंख हुनेहरुले नृत्य हेर्दा हेर्दै सिकिरहेका हुन्छन ।

नेवारीमा “लाखे” शब्दले माङसहारी दानब जनाउछ । लाखे दानब जस्तै भयाबह र लामो लामो नंग्रा लामो लामो दारा भएको भयाबह अनुहारको मुकुण्डो, चांदीका गरगहना र चौरी गाइको पुच्छरबाट बनेको कालो लामो लामो केशमा सिंगारिएको हुन्छ । रातो पहिरनमा सिंगारिएको लाखेको दुइ पाखुरामा रंगीबिरंगी रुमाल झुण्डाइएको हुन्छ । यसको मुकुण्डो रातो डरलाग्दो नेवारी – तिब्बती शैलिको देखिन्छ । यसरि यो नृत्यमा हिन्दु र बौद्ध धर्म को समिश्रण पनि देख्न सकिन्छ । लाखे हुने व्यक्तिले “डाकस ख्वाल” (मुकुण्डो) लगाउना साथ उक्त व्यक्तिमा दानबिय शक्ति प्रवेश गर्छ र त्यसैको बलमा नाच्ने गर्छ भन्ने जनधारणा रहेको छ ।

लाखे वा मजीपा लाखेको उत्पति बारेमा बिभिन्न किम्बदन्ती पाईन्छ । एउटा प्रख्यात किम्बदन्ती भने शताब्दि पुरुष सत्य मोहन जोशीले आफ्नो नाटक “मजिपा लाखे” मा लेख्नु भएको छ । एकजना दानब अर्थात लाखेले मानबको रुप धारण गरेर मजिपा देसकी सुन्दरी कन्या “बांला मैचा” संग प्रेम गर्थे ।

उ सधै मजिपा देस आएर कृषि कार्यमा बांला मैचा लाई सहयोग गर्थे । एकदिन बांला मैचा लाखे संग उसको घर एक गुफामा गए । त्यहाँ गएपछी मात्र उनले लाखे रहेछ भनेर थाहा पाए ।

त्यहाका स्थानीय हरुले बांला मैचा लाइ फिर्ता ल्याए र पछी लाखे फेरी बस्तीमा आँउदा उसलाई समाते । तर लाखेको शक्ति थाहा पाएर मजिपा देस र केटाकेटीको संरक्षण गर्ने सर्तमा उसलाई राजाले माफी दिएर छोडी दिए । यसरि लाखे दानब बाट दैबी शक्तिको रुपमा रुपान्तरण भएको थियो ।

यहि खुसियालीमा प्रत्यक बर्ष लाखे नृत्य निकालिने गरिन्छ । तर अर्को थरि भनाइ अनुसार लाखेले बांला मैचा संग अबैध सम्बन्ध राखेको हुनाले उसलाई देवता प्रत्येक वर्ष नाच्नु पर्ने सजाय दिएका थिए । प्राचिन शहर दोलखामा लाखे नृत्य निम्नानुसार चार किसिमको हुन्छ । यी नृत्यहरुमा लाखे करिब करिब यौटै किसिमको मुकुण्डो र भेषभुषामा देखिए पनि नृत्य गर्ने तरिका बाजा, समय र अवसर बेग्ला बेग्लै हुन्छ ।

जो (जोंङ्) डाकस:
द्वालखा भाषामा जोंङ् डाकस भनेको हातले समातिने लाखे हो । अतः यो लाखे लाइ अन्य दुइ जनाले हातमा समातेको हुन्छ । हात समाउने व्यक्ति सामान्य व्यक्ति वा मुकुण्डो लगाएको र भिन्नै भेषमा सजिएको दाउरे (ख्याली) हुनसक्छ । यो लाखे सामान्यतयाः दिउँसो २/३ बजे तिर शुरु गरेर ५ बजे तिर समाप्त हुन्छ । यो लाखेले राक्षस नै जस्तो आफ्नो रौद्र रुप देखाएर दर्शकहरुलाइ लगाड्ने र कुटपिट समेत गर्छ ।

जो डाकस, जुन लाखे दिउँसो नचाउने परम्परा छ । तश्विर सन्जीप श्रेष्ठ, द्वाल्खा

दर्शकहरुले पनि पैसा देखाएर “लाखे लाखे” भनेर जीस्काउछन् र लाखेले दाउरेलाई छोडेर लखेट्न थाल्छ । लाखेले भने जिस्काउने लाई पिट्दै पैसा खोस्ने गर्छ । यो केवल रमाइलो लागि गरिने खेल भएकोले कुनै रिसराग हुदैन ।

हात समाउने बाहेक अन्य २/३ जना दाउरे भएर आफ्नै धुनमा नाचेर दर्शकहरु लाई मनोरंजन गराउछन । रहर गर्ने व्यक्तिहरु प्रत्येक दिन पालै पालो जो (जोंङ्) डाकस भएर नृत्य गर्छन । तल्लो टोल र माथिल्लो टोलले बेग्ला बेग्लै लाखे निकाल्छन । दैनिक निकाल्नु पर्ने पनि छैन तर मन लागेको दिन निकाल्छन ।

तिन टोलको लाखे प्रद्धर्शन :
दोलखामा गुल्ना फुलपातीमा (चाड) खास गरेर त्रयोदशीको दिन पुरा चाड अबधिको लागि मासुको ब्यबस्था गर्न टोल टोलमा राँगो काट्ने गरिन्छ । सो दिन अपरान्ह दोलखा सहर नै बाजाको स्वरले गुन्जिरहेको हुन्छ । किनकि सो दिन दोलखाको तीन टोल तल्लो टोल, माथिल्लो टोल र दुंगल टोलबाट एकसाथ लाखे निकाल्ने गरिन्छ । सो दिन लाखे हुने पनि अनुभबी र पाको मानिस हुन्छ ।

यसै गरी वि.सं. २०२०/२१ साल तिर मैले प्रत्येक बर्ष माथिल्लो टोल बाट स्व. टेक बहादुर श्रेष्ठ, तल्लो टोल बाट स्व. चक्र बहादुर श्रेष्ठ र दुंगल टोल बाट स्व .पूर्ण बहादुर शिबभक्ति लाखे हुने गरेको मलाइ सस्मरण छ ।

स्थानीयहरु वर्षामा खेत खनजोत र धान र कोदो रोप्ने काम सकिए पछी आएको पहिलो चाड भएकोले भोज खाएर खुब रमाईलो मानेर जात्रा हेर्ने गर्छन । यो दिनलाई जो (जोंङ्) डाकसको उत्कर्स मान्न सकिन्छ । किनकि यहि दिनको लाखे नृत्य पछी नै दिउँसो देखाइने जोंङ् डाकस नृत्य को समापन पनि हुन्छ ।

सानु बेला बतासे पाटीमा मेरी सानीआमाको पसल थियो । मुमा ले कहिलेकाँही मलाइ लाखे हेर्न त्यो पसलमा लगेर राखी दिनु हुन्थ्यो । लाखेले जिस्काउने लाइ लगार्दै आएर त्यो पसल निर आइपुग्दा मेरो साटो पुत्लो उड्ने गर्थ्यो । एकदिन तल्लो टोलमा माथिल्लो टोलको लाखे नृत्य भइरहेको थियो । म संग तिबब्ती जस्तो एउटा रातो रंग को नोट थियो । लाखे लाइ देखाएर भाग्ने गरेको थिए । त्यो देखेर दाउरे भइरहेको हाम्रै मिसामी नाटकको संगीतकार स्व कृष्ण बहादुर श्रेष्ठले मलाई खेदेको खेदेकै गर्न थाल्यो र नोट लियो तर नोट नचल्ने थाहा पाए पछी “तैले मलाइ ब्यर्थमा दुःख दिइस अब रक्सि खुवा” भने पछी खुवाउनु परेको थियो ।

नेपाल डाकस :
हामी सबैलाई थाहा भएकै कुरा हो पहिला पहिला काठमान्डौलाई नेपाल भनिन्थ्यो । त्यसैले नेपाल डाकसको अर्थ काठमान्डौ बाट भित्र्याइएको लाखे भन्ने बोध हुन्छ । काठमान्डौमा भने इन्द्रजात्रामा मात्र लाखे नचाइन्छ त्यो पनि दिउँसो मात्र । त्यसैले नेपालकै लाखेलाई परिमार्जन गरेर दोलखामा राति नेपाल डाकस देखाउने गरिएको हो भन्ने मान्यता रहेको छ । श्रावन चतुर्दसी देखि दिउसो जो (जोंङ्) डाकस र राति नेपाल डाकस देखाउन शुरु हुन्छ यद्दपी दैनिक देखाउनु पर्ने नियम र बाध्यता छैन । राति देखाइने नेपाल डाकसमा परम्परागत बाजाको बिभिन्न धुनमा लाखेले नृत्य गर्छ । लाखेलाई कसैले समातेको हुदैन ।

नेपाल डाकस, जुन लाखे बेलुका नचाईने परम्परा रहेको छ ।

दिउँसोको लाखेको भन्दा फरक बाजामा नचाइने यो लाखेको नृत्य पनि फरक शैली कै हुन्छ । दाउरे अथवा ख्याली पनि २/३ जना हुन्छ र उनीहरु आफ्नै धुनमा दर्शकहरु लाई मनोरंजन गर्ने हिसाबले बिभिन्न अभिनय गरे नाच्ने गर्छन । दोलखामा उनीहरुले काठमाण्डौको झ्यालिचाले जस्तो लाखे लाई जिस्काउने प्रचलन छैन । यो लाखे शहरको मूल बस्तिहरुमा घुमाएर नचाउने गरिन्छ । हुनेखानेहरुको घर घरमा लगेर नचाएर पैसा बटुल्ने पनि गरिन्छ र हुनेखाने शोंखिनहरुले आफ्नो घरमा नचाउँन निमन्त्रणा गरेर पैसा दिएर पनि पठाउछन । सामान्यतयाः यो लाखे राति १२/१ बजे सम्म नचाउने गरिन्छ । नेपालको सबै जसो स्थानमा देखाइने लाखे नेपाल डाकस कै रुप हो तर सबै ठाउँमा दिउसै देखाउने गर्छन । दोलखामा मात्र राति देखाउने प्रचलन छ ।

पहिला पहिला आम्दानि नहुने तर रहर हुनेहरुले जग्गा बेचेर नै भए पनि लाखे हुन्थे ।

किनकि राति लाखे देखाउदा बाजा बजाउनेहरु लाइ खुवाई पियाई गराउनुको अतिरिक्त केहि रुपैया पनि दिनु पर्छ । यो गुठिमा आधारीत नृत्य नभएर शोंखमा आधारित भएकोले लाखे हुनेले पैसा खर्च गर्नु पर्छ । त्यसपछि उसबेला बिजुलीको ब्यबस्था नभएको ले मेंटोल २÷३ वटा बाल्नु पर्छ र मटितेल किन्नु पर्छ । साथै लाखे टोलिसंग हिड्ने हरुलाइ रक्सि आदि खुवाउब पर्छ । शायद यहि कारण “जसले गर्छ रहर उसको जान्छ बहर” भनिएको हुनुपर्छ । नेपाल डाकस नृत्य हिले जात्राको अवसरमा दैनिक जसो देखाएर चतुर्दसिको दिन देखि समाप्त हुन्छ । तर यो लाखे नृत्य लाइ इन्द्र जात्राको बेलामा फेरी देखाईने गरिन्छ । खर्च पनि लाग्ने र गाह्रो पनि हुने भएकोले रहर भए पनि मैले लाखे हुने आँट गर्न सकिन । तर एक पटक साथि श्याम चन्द्र श्रेष्ठ संगै लालुपातेको पातको मुकुण्डो लगाएर माथिल्लो टोलको शिम्भुथानमा दाउरे भएर गएको थिए अर्को दाउरे ले च्याति दियर रुनु न हाँस्नु भएर फर्केको थिए ।

ड्वाकु डाकस :
गुलना पुनिस (पूर्णिमा) को दिन कालिन्चोकबाट फर्केको डापा खलक (संगीत समुह) ले दोलखा शहर परिक्रमा गरिसकेपछी डवाकु डाकस (ठुलो लाखे) निकाल्ने चलन रहेको छ । ड्वाकु डाकस प्रत्येक बर्ष कोर्छे टोलको एउटै खास घरबाट निकाल्ने परम्परा छ । लाखे भने तल्लो टोल र माथिल्लो टोलको मानिस प्रत्येक वर्ष पालै पालो गरेर हुन्छन् । डाकस नाच्दै नाच्दै राइतीको नारायण मन्दिरमा गरिरहेको यज्ञस्थल तिर जान्छ र यज्ञस्थल लाई कुल्चेर फर्कन्छ ।

जनैपूर्णीमाको दिन ठुलो लाखे (ड्वाकु डाकस) नचाईने परम्परा छ ।

यज्ञस्थलमा डाकस जाने सम्बन्धमा बिभिन्न खाले किम्बदन्ती पाईन्छ । ति मध्ये एउटा किम्बदन्ती स्थानीय संस्कृतिविद् तिर्थ नारायण जोशीका अनुसार स्वस्थानी ब्रत कथामा उल्लेखित दक्षप्रजापतिको यज्ञ संग सम्बन्धित छ । सो अनुसार दक्ष प्रजापतिले यज्ञस्थलमा महादेबको घोर अपमान गरेको सहन नसकी महादेबकी पत्नी सतिदेबीले यज्ञकुण्डमा फाल हाली प्राण त्याग गरिन। सो कुरा थाहा पाएर महादेव अति क्रुद्ध भएर महाकाली, बिरभद्र लगायतलाई यज्ञ बिनाश गर्न पठाएका थिए । डवाकु डाकस तिनै बिरभद्रको प्रतिक हो र नारायण मन्दिरमा चलिरहेको यज्ञ बिनाश गर्न गएको हो भन्ने भनाइ रहेको छ ।

दाउरे, तश्विर सन्जीप श्रेष्ठ, द्वाल्खा

यता तल्लो टोल स्थित रानीपोखरी वरिपरी दर्शकहरुको भिड लागेको हुन्छ । परम्परा अनुसार त्यहा एकजना मानिसले पौडेर तिन पटक पोखरी वारपार गर्नु पर्छ । डाकसले उक्त दृश्य अबलोकन गरे पछी नाच्दै नाच्दै राजकुलेश्वर अगाडीको चैत्यमा जान्छ ।

नारायण थानमा यज्ञ गर्नेहरुले त्याहाँ डाकस र उसको हात समाउने र अन्य दाउरेहरुहरुलाई रक्षा बन्धन लगाई दिन्छन । सो कार्य सकिए पछी लाखेको बाजा फेरिन्छ र लाखे नयाँ किसिमले नाच्न थाल्छ । त्यहाबाट लाखे नाच्दै नाच्दै दुंगल टोलमा अबस्थित नाटेस्वर मन्दिरमा पुगेर नाच्ने गर्छ ।

ठुलो लाखे नचाईने दिन पौडी खेल्ने परम्परा रहेको छ ।

त्यहा बाट पनि अगाडी बढेर भिमेस्वरको डबली पुगेर नाची सके पछी पालो परेको गुठियारको घरमा दक्षिणा लिएर पुरानो घरमा नै प्रवेश गर्छ र सो दिनको लाखे नृत्य विधिवत समाप्त हुन्छ । लाखे हुने लाइ गुठियारले पुरस्कार स्वरूप आफुले संकलन गरिराखेको राँगोको आधा टाउको पनि दिन्छ । ड्वाकु डाकस वर्षमा त्यहि एक दिन बाहेक अरु दिन देखाउने गरिंदैन ।

तल्लो टोलमा डवाकु डाकसले नृत्य प्रस्तुत गर्दै जसमा दुइ जना दाउरेले दुइ हात समाएको देखिन्छ । डवाकु डाकसको मुकुण्डो र नेपाली वेशभूषा सामान्य डाकसको भन्दा केहि भिन्न हुन्छ । दिउसो नाचाइने भए पनि त्यो दिन लाखेलाई जिस्काउने र लाखेले खेद्ने र लुट्ने काम गर्दैन । त्यसैले मानिसहहरु रमाएर डवाकु डाकस नृत्य अबलोकन गर्ने गर्छन । यसै गरी उक्त दिनदेखी बर्षदिनको लागि जो डाकस समापन भएको मान्यता रहेको छ ।

माजिपाः डाकस
दोलखामा हिले जात्राको चौठी र पंचमी अनि इन्द्रजात्रामा माजिपाः लाखे देखाउने गरिन्छ । काठमाण्डौमा इन्द्रजात्राको अन्तिम दिनमा मात्र मजिपाः लाखे निकाल्ने गरिन्छ । मजिपाः को अर्थ र यसको उत्पति बारे किम्बदन्ती माथि नै उल्लेख गरी सकिएको छ । दोलखामा “मजिपा” नभनेर सुन्दा उस्तै लाग्ने शब्द माजिपाः लाखे भनिन्छ । दोलखामा पनि माजिपाः एक देशकै नाम हो तर यो शब्दले माझिहरुको शहर हो भन्ने बोध गराउछ । यो कुरा यसको किम्बदन्तीबाट स्पस्ट हुन्छ ।

मझिपाः डाकस लाखे, तश्विर सन्जीप श्रेष्ठ, द्वाल्खा

दोलखा माजिपाः लाखे सम्बन्धि किम्बदन्ती र नृत्यको तरिका पनि बिल्कुलै फरक छ । स्थानीय संस्कृतिकर्मी तुलसी जोशीका अनुसार उहिले एउटा माझीहरुको देश थियो । माझिहरुको देश भएकोले उक्त देशलाई माजिपाः भनिन्थ्यो । माझिहरुको पेशा नै माछा मार्ने र बेच्ने थियो । एकदिन चार जना माझीले संगै गएर नदीमा माछा मार्न जाल हान्दै थिए । त्यतिकैमा एकजना माझीको जालमा अत्यन्त गरुङ्गो माछा पर्यो जुन उ एक्लैले निकाल्न सकेन । चारै जना मिलेर बल्ल बल्ल जाल निकाले । जालमा माछा नपरेर भयावह राक्षस परेको देखेर उनीहरु छक्क पनि परे र त्रसित पनि भए ।

यो राक्षसलाइ त्यतिकै छोडियो भने मानिसहरु मार्न र शहरमा उत्पात् मचाउन बेर लाग्दैन । त्यसैले बजार परिक्रमा गराएर राजाकोमा बुझाउनु पर्छ भन्ने आपसमा सल्लाह गरे । अनि उसलाई बलियो गरेर डोरीले बाँधे । त्यसपछि चारजनाले चार तिर डोरीले तानेर शहर परिक्रमा गराउन लगे ।

माजिपा लाखे आफ्नो जाल समेत बोकेका कहिले चार जना र कहिले वुइ जना माझीले डोरीले बाँधेर घुमाएको अभिनय गर्दै लाखे भाग्न खोज्ने र माझिहरुले तान्ने अभिनय गर्दै माजिपा लाखे नृत्य प्रद्धर्शन गरिन्छ । माजिपाः लाखेको वेशभूषा अन्य लाखेको भन्दा फरक हुन्छ । अन्य लाखेको पहिरण पुरै रातो हुन्छ भने माजिपाः लाखे को पहिरण मुकुण्डो बाहेक हरियो हुन्छ । शायद नदिबाट निकालिएकोले लेउ लागेको देखाउन हुनु पर्छ ।

यसरी एतिहासिक दोलखा सहरमा बिभिन्न खाले लाखे नृत्य हेर्न पाईन्छ । तर दोलखामा लाखे नृत्य संचालन गर्न बेग्लै गुठीको ब्यबस्था भने छैन । अतः अन्य नृत्य जस्तै अत्यन्त मनोरन्जनात्मक लाखे नृत्यको पनि गुठीको ब्यबस्था गरेर संरक्षण गर्नु जरुरि छ ।

यसरी दोलखाको जात्रामात्रा र परम्परा मध्ये यो लाखे नाचपनी एक महत्वपूर्ण मध्ये एक पर्दछ जसको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको छ । जसको लागि दोलखावासीहरुको सहभागी र सहयोगमा स्थानिय निकायले यसको संरक्षणको लागि पहल कदमी लिनु पर्ने देखिन्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!