Search

प्रकृति, संस्कृति र साँस्कृतिक धरोहरमा दोलखा !

प्रकृति, संस्कृति र साँस्कृतिक धरोहरमा दोलखा !

बालकृष्ण श्रेष्ठ “पासा”
भौगोलिक तथा प्राकृतिक हिसाबले दोलखाको वर्णन गर्नु शायद हाम्रो क्षमता भन्दा माथिको कुरा हो । अर्थात् हाम्रो लागि सम्भाव्यता नहोला । किनकि संसारलाई समयको जानकारी दिलाउने गौरिशंकर नै हाम्रो नजर सामु प्रतिमा बनेर ठिङ्ग उभिएको छ । तमाम नेपालीहरूले जानेका बुझेका र देखेका साक्षात भीमेश्वर नै दोलखाको हृदय बनेर विराजमान छ । त्यसैगरी विगत केहि वर्षदेखि कालिन्चोक भगवती सबैको आँखामा छाउन सफल भएको छ । यस्तैगरी दोलखामा रहेको शैलुङका थुम्काहरू, बिगुका गुम्बाहरू, गुराँस चिमालका थुँगाहरू, पातले छाँगा छहराहरू, हनुमन्ते पहाडका पहराहरू अनि युरोप महादेशको लोकपिय्र स्वीट्जरल्याण्ड जस्तै जिरी उपत्यका र त्यहाँका चीजहरू, अझै कति छन् कति जुन यहाँ लेखिरहँदा बरु कलम थाकिएला तर दोलखाको वर्णन टुंगिन असम्भव छ ।

दोलखा जिल्लाको भीमेश्वर मन्दिर, त्रिपुरासुन्दरी भगवती मन्दिर, कालिन्चोक भगवती मन्दिर, मञ्जुश्री (मन्देश्वरी) सरस्वती मन्दिर, दोलखाको ऐतिहासिक टक्सार घर, सदरमुकाम चरिकोटको चरिघ्याङ गुम्बा, बिगुको टासी गुम्बा, देउलाङ्गेश्वर महादेव, चर्नावती चरंगे त्रिवेणी, सयवटा थुम्काहरू भएको शैलुङ पर्वत, संसारलाई समय चिनाउने गौरिशंकर हिमाल, बेदिङ गाउँ, लामाबगर, च्छोरोल्पा ताल, गुराँस र चिमाल फुल्ने खरिढुंगा लाकुरीडाँडा आदि इत्यादि प्रचलित ठाउँहरू भएको दोलखामा घुम्न जानेहरूको कमि त नहोला, तर कुन ठाउँमा कतिबेला कसरी जाने भनेर हेक्का राख्न जरुरी छ ।

आज यहाँ यस्तो कुरालाई यहाँहरूको नजरमा राख्न खोजिएको छ कि जुन कुरा आँखामा मात्र होइन कि सबैको मनमा बस्न सकोस्, किनकि यदि धर्म गर्नु नै छ भने रीत पु–्याएरै गरियोस् । होइन त्यो ठाउँमा घुम्न मात्र जाने हो र दृश्यावलोकन गर्ने र फर्किने हो भने भगवानको नाम लिएर यात्रा गर्नुको अर्थ नहोला कि ? अब वास्तविक प्रसङ्गतिर लागौं ।

धेरैजसोे यात्रु तथा भक्तहरू साथी साथीहरू मिलेर, टोल छिमेकी मिलेर अनि परिवार मिलेर फुर्सदको क्षण मिलाएर घरदेखि टाढाको यात्रा गर्न रुचाउँछन्, देवीदेवताको मन्दिर जान चाहन्छन्, यो नितान्त आफ्नो खुशीको कुरा हो । कसैले कसैलाई जोड जबर्जस्ती गरिने कुरो होइन । तर कोही कोही अनिर्णित समय र स्थानको यात्रा गर्ने गर्छन्, अनि गाँस र बाँसको ठेगाना हुँदैन, यस्तो बेलामा हरेक कुरामा विशेष ध्यान दिन जरुरी छ ।

सबैभन्दा पहिले भीमसेन (भीमेश्वर) कै कुरा गरौं, करीब एक दशक पहिलेसम्म दोलखाको भीमसेन मन्दिर दर्शन गर्न हुलका हुल बाँधेर गाडी व्यवस्थापन गरेर दर्शनार्थीहरू आउनेजाने गर्थे, त्यतिबेला कालिन्चोकमा जानेहरू अत्यन्तै कम थिए । दोलखा भीमेश्वरको मन्दिर दर्शन गरेर स्थानीय मठ मन्दिर पनि घुम्न चासो राख्थे पनि । दोलखाका केहि बुज्रुकहरूले दोलखाको भीमेश्वर मन्दिरलाई मात्रै केन्द्रित गरेर स्थानीय देवीदेवताका मन्दिर बारेमा त्यत्ति खुलेर नबताएको कारणले पनि आन्तरिक पर्यटनहरूको आवागमनमा कमि भएको हो कि जस्तो पनि लाग्छ ।

अर्को कुरा स्थानीय बजारमा उत्पादनमूलक सामानहरू नहुँदा पनि अतिथि वर्गहरूमा नैराश्यता छाउनु पनि अस्वभाविक होइन । पछिल्लो चरणमा कालिन्चोकमा आधुनिक प्रविधि सहितको गाडी, केबलकार समेतको सुविधा सम्पन्न भएपछी त्यहाँ जानेहरूको संख्या अत्याधिक बढ्न थाल्यो । एकातिर हिउँ पर्ने ठाउँको नामले लोकप्रिय बन्दै गयो । अर्को अग्लो टापुमा रहेको त्यसमाथि बिना आधार कुण्डमा पानी कहिल्यै खालि नहुनेगरि जल देखिरहने चमत्कारिक देवीको पवित्र स्थल ।

कालिन्चोक भगवतीको मन्दिर त्यहाँ कसरी रहन गयो होला भन्नेमा कतिपयलाई जिज्ञासा उत्पन्न भएको हुनसक्छ । ती कुराहरू यहाँ नखोतलौं, किनकि कालिन्चोकको वास्तविक कुरा जान्नको लागि सबैभन्दा पहिले दौलखाको भीमेश्वर मन्दिर जानैपर्छ । दोलखाको भीमसेनलाई सम्झेर जानेहरूले कालिन्चोकको यथार्थ कुरा थाहा पाउन दोलखामा रहेको त्रिपुरासुन्दरी माई र बालकुमारी माताको उत्पतिको कुरा बुझ्नैपर्छ । अनिमात्रै दोलखा भीमसेनलाई दर्शन गर्न गएको उद्देश्य पुरा हुनेछ ।

अब को हुन् त त्रिपुरासुन्दरी, बालकुमारी र कालिन्चोक भगवती ? भन्नेकुरालाई कौतुहलता छ भने कालिन्चोकलाई मनमा राखेर जानु आवश्यक देखिन्छ, त्योभन्दा पहिले दोलखाको भीमेश्वर मन्दिरमा पुगेर दोलखाको छत्रछायामा रहेको देवीदेवताका प्राचीन सत्यतथ्य बुझेर अनि कालिन्चोकमा गएर दर्शन गर्नु अनि आफ्ना मनोकांक्षा पूर्ण हुनेछ भनेर ढुक्क हुँदा फरक पर्नेछैन ।
अब प्राचिन शहर दोलखाको जातियता तफं लागौं ।

दोलखा जिल्लाभरि नै हेनुपर्दा अधिकांश क्षेत्रमा बाहुन क्षेत्री नै बढी देखिए पनि एकत्रित रूपमा ठूलो शहरको व्यवस्थापन गनं सकिरहेका छैनन् जस्तो लाग्छ । अधिक संख्याको हिसाबमा ३०/४० घरहरूको एउटा बजार बाहेकको ठूला समाज देखिन्न । यो पनि एक किसिमको परम्परा नै हो भन्दा फरक नपर्ला । हरेक बाहुन क्षेत्रीको गाउँ बस्ती नजिकै तीन चार थरिका अन्य जाति बसेकै हुन्छन् । जस्तो कि तामाङ्, गुरूङ, कामी, दमाई, नेवार लगायत अन्य । नेपालमा राष्ट्रिय जातित्व मानिएका बाहुन क्षेत्रीहरूको आफ्नै नीजि देवदेवीको मन्दिर चाहिँ विरलै मात्र पाईन्छ । यो कुरा शायद नेपाल अधिराज्यभर नै होला, यी उच्च जाति भनेर शिक्ष र विद्यामा निपुण र बौद्धिक स्तरमा अग्र पंक्तिमा रहेर पनि आफ्ना कूल र मूलका हिसाबले हिन्दू धर्ममा उल्लेखित सबै देवदेवीको पूजाआजा गरिए पनि किटानका साथ यही देवदेवी भनेर गुठी, मठ मन्दिर छुट्ट्याइएको देखिंदैन ।

दोलखामा पनि प्रत्येक बाहुन क्षेत्रीहरूको बस्ती वरिपरि ती अन्य जातिहरूको बसोबास भएको छ । ती प्रत्येक जातिमध्येमा दोलखामा रहेका नेवार, तामाङ, थामी, जिरेल, सुरेल, गुरूङ जातिहरूको आ–आफ्नै मौलिकता देखिन्छ भने अन्य जातिको देखिन्न । यसको मतलब अन्य ले धर्म कमै नै मान्दैनन् कि कसो भनेर भन्न खोजेको चाहिँ होइन ।

दोलखा सिङ्गै दोलखा जिल्लावासीको हो, दोलखा जिल्लाभरि नै रहेका विभिन्न देवदेवीका मन्दिर मठ, स्तुपा, चैत्य, गुम्बा, देवल, ताल तलैया, नदि, छहरा, पहरा आदि ईत्यादि सबै दोलखा जिल्लावासीको पूख्र्यौली सम्पत्ति हो । यसलाई संरक्षण र सम्वद्र्धन गर्नु आम दोलखावासीको कर्तव्य हो भनेर बुझ्न जरुरी छ ।

दोलखाको पहिचान दिलाउन हरेक एकले अर्कालाई आफूले जानेका बुझेका कुरालाई सत्य र सकारात्मक सन्देश दिएर आन्तरिक तथा वाह्य पर्यटनलाई आकर्षित पार्न आफू स्वयंले उच्च ज्ञानका साथ जानकारीमूलक शिक्षा हासिल गर्न अति आवश्यक छ । अनिमात्र सिङ्गै दोलखाको अनुहारमा लोकप्रियताको ऐना टल्किनेछ ।

दोलखामा ससारमै पाउन दुर्लभ जाति थामीहरूको बसोबास छ । उनिहरूको आफ्नै मौलिक संस्कृति र परम्परा छ । किराँतकालीन सभ्यतादेखि नै थामीहरूको जन्म र कर्मथलो दोलखा नै हो भनेर इतिहासले बताएको छ । उनिहरू दोलखाको सुस्पा, क्षमावती, दामाराङ्ग, डोकथली, बाबरे, दिलढुंगा फुलपादेखि लिएर पछि मुग्लान पस्ने क्रममा भारतको पश्चिम बंगाल राज्यको सिक्किमिको रिनक, सानागाउँ, रंगपो र माझिटारमा पनि बसोबास गरिरहेका छन् ।

थामी जातिका साथीहरूले आफ्नो परिचय दिँदा कहिल्यै एउटा टोलको मात्र परिचय दिँदैनन्, सिंगो दोलखालाई नै समेटेर पहिचान दिलाउँछन् । यसरी नै हामी सबैले दोलखालाई चिनाउँदा दोलखाको भीमेश्वर मन्दिरको बारेमा कसैले चासो राखेमा वा जानकारी लिन खोजेमा भीमेश्वर मदिरको साथ साथमा जिल्लाभरिको देवस्थल र तिर्थस्थलको बारेमा पनि बताएर पर्यटकहरूलाई आकर्षित पार्ने काम गरौं, सबैभन्दा पहिले भाषाको लागि प्राथमिकता दिन जानेमात्र जातित्वको पहिचान दिलाएन सहज हुनेछ । यही कुरालाई यहाँहरू समक्ष प्रस्तुत गर्दै यहाँहरूको अमूल्य सुझाव र सल्लाहको स्वर्णिम अपेक्षा सहित यस लेखलाई यत्तिकैमा बिट मार्ने अनुमति मागेँ ल है ! जय बाँपीझ्याला, जय द्वाल्खा, जय दोलखा भीमसेन !!

२०७९ असार १४ गते,
जोरपाटी, काठमाडौं ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!